काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

सात सवाल

९ जेष्ठ २०८३
अन्जान बाबु।
अ+
अ-

हरेक वर्ष बर्खा याममा देशका कैयौँ ठाउँ डुबानमा पर्छन्। यस्तो विपत्‌को बेला सञ्चारमाध्यममा दोहोरिइरहने गीत हो, चरी लैजा समाचार, हामी भयौँ बेघरबार

अन्जान बाबु लोकभाकामा यस्तै समसामयिक गीत गाउने गायक हुन्। हालै उनले राज्यद्वारा विस्थापित बनाइएका सुकुम्बासीको समस्यामा आधारित उठीबास गीत बनाएका छन्। संगीतलाई समाज परिवर्तनको माध्यमका रूपमा उपयोग गर्नुपर्ने विचार बोकेका गायक अन्जान सुसेला समूहका संयोजकसमेत हुन्। उनै अन्जान बाबुसँग नेपालन्युजका लागि गरिएको सात सवाल :

बाल्यकाल भन्नेबित्तिकै तपाईंलाई बारम्बार याद आउने कुरा?

बाल्यकाल भन्नेबित्तिकै दसैँतिहार जस्ता चाडबाडकै सम्झना बढी आउने रहेछ। बुबाहरू  दसैँका बेला च्यांग्रा किन्न हिमाली भेग वा सहरतिर जानुहुन्थ्यो। हाम्रो घरबाट दुईचार किलोमिटर तलसम्मको बाटो हुँदै च्यांग्रा लिएर आएको देखिन्थ्यो। हामी पनि बाटोसम्म निस्केर डोरी समातेर च्यांग्रा घर ल्याउँथ्यौँ। त्यसपछि घरमा मासुका परिकार बन्थे। त्यसबखत पेटभरि मासु खान दसैँ नै कुर्नुपर्थ्यो।

बाल्यकाल सम्झँदा फ्याट्टै दिमागमा आउने कुनै गीत?

त्यतिबेला रेडियो नेपालको क्षेत्रीय प्रसारणमा लोकबहादुर क्षेत्रीको ‘आमा रुँदै गाउँबेसी मेलैमा, छोरो रुँदै गोरखपुर रेलैमा’ गीत खुब बज्थ्यो। धेरै बज्ने र गीतको विषयवस्तुले छोएर पनि होला निकै मन पर्थ्यो।

बाल्यकालको सबैभन्दा ठूलो बदमासी?

घरमा नाताले हजुरबुबा पर्ने एक पाहुना बास बस्ने गरी आउनुभएको थियो। भोलिपल्ट म खेल्न निस्कने बेला ती पाहुनाले आजै फर्किन्छु भनेको सुनेको थिएँ। घर फर्कंदा त पाहुनाको जुत्ता बाहिरै देखेँ। त्यसपछि आमालाई चर्को स्वरमा भनेँ– त्यो हिजो आएको बुढाले त जुत्ता यहीँ छोडेर गएछ। तर, ती पाहुना घरभित्रै हुनुहुँदो रहेछ। पाहुनाको अनादर गरेको भन्दै आमाले उहाँकै अगाडि दुई झापड हान्नुभयो।

बालापनसम्बन्धी मनपर्ने कुनै गीत?  सानोमा पहिलो पटक सार्वजनिक रूपमा गाएको गीत? 

रेडियोमा धेरै बजेको र म जस्ता थुप्रैको रोजाइमा पर्छ होला, ‘लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ’। पछि त हामी साथीहरू मिलेर आफैँ पनि केही गीत बनायौँ, जुन रेकर्ड भएका छैनन्।

ऋषि अधिकारीले गाएको ‘कुलामाथि खेत, धान फुल्छ/फुल्दैन, भोकै रह्यो पेट’। ८/९ कक्षा पढ्दा शुक्रबार स्कुलको अतिरिक्त कार्यक्रममा गाएको थिएँ।

आफ्नो गाउँभन्दा टाढा पहिलो पटक घुम्न गएको ठाउँ?

पर्वतको सदरमुकाम कुस्मा। कुस्मा बजारमा अंकलको होटल थियो। अंकलहरूसँगै हिँड्दै हिँड्दै पुगेको थिएँ। गाडी चल्दैनथ्यो, भर्खर बाटो बन्दै थियो।

बाल्यकालको साथी सम्झँदा याद आउने कुनै मित्र र प्रसंग?

दण्डपाणि शर्मा जसले साहित्यिक नाम आफन्तसमेत राख्नुभयो। एउटै सालमा जन्मेको सँगै पढ्ने साथी। हामी घाँसदाउरा गर्न सँगै जान्थ्यौँ। परिवारलाई खुसी बनाउन छिटो छिटो डोको भरेर आउँथ्यौँ। सानै भएकाले सबै घाँस र वनस्पति चिन्दैनथ्यौँ। गाईवस्तुले नखाने बुट्यानसमेत खाँदेर ल्याउँथ्यौँ। हाम्रो बठ्याइँ देखेर अभिभावक अलिअलि रिसाउनुहुन्थ्यो, अलिअलि रमाइलो पनि मान्नुहुन्थ्यो।

बाल्यकालमा देखेको सपना जुन अझै पूरा हुन बाँकी छ।

सांगीतिक ब्यान्ड भन्ने कुरा थाहा थिएन। तर, उहीबेलादेखि चारपाँच जनाको समूह बनाई बाजागाजा बजाउँदै विभिन्न गाउँठाउँमा गएर गीत गाउने सपना देख्थेँ। हाम्रो आफ्नै सुशेला ब्यान्ड त छ, तर काठमाडौँबाहिर कार्यक्रम गर्न सकिएको छैन।