सात सवाल
लेखक तथा दलित अनुसन्धाता शिवहरि ज्ञवाली जात, धर्म र ऐतिहासिक समाजशास्त्रसम्बन्धी अध्ययनमा रुचि राख्छन्। उनको सहलेखनमा हिन्दू समाजमा दलित शिक्षा (वि.सं. १९६३–२०२०), नेपालमा सामाजिक सुरक्षा र धार्मिक अल्पसंख्यक: मानवअधिकारमा आधारित दृष्टिकोण, नेपालमा वैकल्पिक ज्ञान उत्पादन र जातीय मुद्दालगायत अनुसन्धानमूलक जर्नल लेख प्रकाशित छन्। त्यसैगरी, उनको सम्पादनमा दलित क्वियर र प्रतिरोध सन् २०२५ प्रकाशित छ। अध्येता ज्ञवालीसँग नेपालन्युजका लागि गरिएको सात सवाल :
हालै पढ्नुभएको पुस्तक कुन हो? अहिले के पढ्दै हुनुहुन्छ?
मैले भर्खर पढेको पुस्तक भीमराव अम्बेडकरद्वारा लिखित रिडल्स इन हिन्दुइज्म हो। पुस्तकमा वेद, गीता र रामायणसम्मका हिन्दु ग्रन्थहरूको विषयवस्तु, उत्पत्ति, हिन्दु मान्यताका विसंगति, विरोधाभास र जातव्यवस्थाबारे आलोचनात्मक विश्लेषण पाइन्छ। पुस्तकले पाठकलाई सुन्दै पढ्दै आएको हिन्दु धर्मशास्त्रसम्बन्धी कतिपय कुराहरू भ्रमपूर्ण र विरोधाभासयुक्त छ भन्ने सोच्न प्रोत्साहित गर्छ।
अहिले मैले पढिरहेको पुस्तक सुरज मिलिन्द येंगडेको कास्ट : अ ग्लोबल स्टोरी हो। पुस्तकले जातव्यवस्थालाई केवल भारतीय मुद्दा नभई विश्वव्यापी समस्याका रूपमा प्रस्तुत गरेको छ। पुस्तकमा इतिहास, मानवविज्ञानलगायत माध्यमबाट बेलायत, दक्षिण अफ्रिका, क्यारेबियन र मध्यपूर्व जस्ता क्षेत्रमा फैलिइरहेको जातव्यवस्थाको अनुसन्धान गरिएको छ।
तपाईंलाई मन पर्ने विधा?
म विशेष गरेर जात, धर्म र इतिहाससँग सम्बन्धित पुस्तक अध्ययन गर्न मन पराउँछु। हाम्रो जस्तो समाज र यहाँको राजनीतिलाई बुझ्न जात र धर्मको गठजोडलाई गहिरोसँग नबुझी सामाजिकीकरण र समस्याहरूलाई सम्बोधन गर्न सकिँदैन भन्ने लाग्छ।
अध्ययन गर्ने समय, स्थान र वातावरणबारे बताइदिनुहोस् न। औसतमा अध्ययनका लागि दैनिक कति समय छुट्याउनुहुन्छ?
म प्रायः हरेक दिन बेलुका खाना खाएपछि दुई घन्टा अध्ययन गर्छु। प्रायः गाउँघरतिर हिँडिरहने भएकाले यात्रामा मोबाइलमा इबुकहरू पढ्छु। पढ्नलाई कुनै खास वातावरण चाहिने भन्ने छैन।
तपाईंका प्रिय तीन पुस्तक?
अम्बेडकरका ४० भोल्युम : अम्बेडकरका ४० (खण्ड लेख र भाषणहरू)ले जातव्यवस्थाका ऐतिहासिक जडहरूको विश्लेषण गर्छन्। दक्षिण एसियाली समाज र जातव्यवस्थाबारे बुझ्न तपाईं विभिन्न पुस्तकहरू पढिरहनुभएको छ, तर अम्बेडकरको सम्पूर्ण वाङ्मयका ४० भोल्युममध्ये कुनै पनि पढ्नुभएको छैन भने तपाईंले दक्षिण एसियाली समाजबारे खाँटी कुरा पढ्न पाउनुभएको छैन।
एन इमेज अफ अफ्रिका
सीमान्तीकृत समुदायको संवेदनशीलता बुझ्न एउटा बलियो स्रोत हो, एन इमेज अफ अफ्रिका। नाइजेरियाली लेखक चिनुवा अचिबेको यो गैरआख्यानमा ब्रिटिस साहित्यकार जोसेफ कोन्नाडको हार्ट अफ डार्कनेस उपन्यासको आलोचना गरिएको छ। सीमान्तीकृत समुदायलाई साहित्यका नाममा कसरी अमानवीयकरण गरिन्छ भन्ने बुझ्न यो पुस्तक उपयोगी छ।
ह्वाई आई एम नट अ हिन्दु
यस पुस्तकले दलित समुदायको आँखामार्फत हिन्दु दर्शन, व्यवहार, संस्कृति र अर्थ-राजनीतिविरुद्ध दरिलो प्रश्न उठाएको छ। दलित समुदायको बैग्लै गौरवपूर्ण इतिहास छ। हिन्दु समुदाय र दलितबीचको सांस्कृतिक भिन्नता, बालबालिकाको सामाजिकीकरण, यौन तथा पारिवारिक सम्बन्ध र सिकाइ प्रक्रियासमेत बेग्लै छ। दलितहरूले आफूलाई हिन्दु भनिरहनु किन आवश्यक छैन भन्ने तथ्य र तर्कसहितको यो पुस्तक दक्षिण एसियामा बढ्दै गएको धार्मिक राष्ट्रवाद र यसको सीमान्तीकृत समुदायमाथिको प्रभावलाई मूल्यांकन गर्न सान्दर्भिक छ।
पुस्तकले तपाईंको व्यक्तित्व र जीवनमा ल्याएको सबैभन्दा ठूलो परिवर्तन के हो?
मेरो व्यक्तित्वभन्दा पनि सोचमा धेरै परिवर्तन ल्याएको छ। म जुन परिवार र जातीय समुदायमा जन्मेँ, त्यो समुदाय दलित र महिलाहरूप्रति असहिष्णु थियो। बाल्यकालदेखि समाजमा छूवाछुत देखिएन मात्रै, आफैँ पनि संलग्न भइयो। तर अहिले मलाई मेरो सामाजिकीकरणप्रति पीडा महसुस हुन्छ। अहिले म दलित आन्दोलनमा सक्रिय भएर त्यसको प्रायश्चित्त गर्दै छु।
पुस्तक किन पढ्ने?
पुस्तक पढ्नैपर्छ भन्ने पक्षमा म छैन। समाजमा किताब नै नदेखेका मान्छेका विचार र सिर्जनाहरू सबैभन्दा महान् छन्। किताबमा नलेखिएका र इतिहासमा मेटिएका मान्छेहरू र समाजको अध्ययन नै सबैभन्दा ठूलो पढाइ हो।
डिजिटल युगमा पठन संस्कृति जोगाइराख्न के गर्नुपर्ला?
सहरको सन्दर्भमा पठन संस्कृतिलाई प्रविधिसँग जोड्न सकिन्छ। तर, देहातका अधिकांश बस्तीमा अहिले पनि पुस्तक पुग्न सकेको छैन। पठन संस्कृति विस्तारकै लागि अहिले हामीले सर्लाहीमा दलित अध्ययन केन्द्र तथा दलित पुस्तकालय स्थापना गरेका छौँ। चितवनको बाँदरझुलामा पनि पुस्तकालय स्थापना गरेका छौँ। जहाँ किताब मात्र होइन, समाज र मान्छेहरूबारे समेत अध्ययन गर्न सकिन्छ।