काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

दृष्टिकोण

युवाले विश्वविद्यालयबाट डिग्री मात्र होइन, प्रश्न गर्ने स्वतन्त्रता, अवसर सिर्जना गर्ने क्षमता र भविष्यप्रति भरोसा खोजिरहेका छन्।

२८ असार २०८३
अ+
अ-

नेपाली समाज यतिबेला विश्वासको संकटबाट गुज्रिरहेको छ। युवाको ठूलो हिस्सा भविष्यप्रति अनिश्चित छ। शिक्षा, रोजगारी, राजनीति, सार्वजनिक संस्था र सामाजिक नेतृत्वप्रति उनीहरूको भरोसा कमजोर हुँदै गएको छ। यस्तो समयमा विश्वविद्यालयको भूमिका घट्दैन, बरु अझ महत्त्वपूर्ण हुन्छ। विश्वविद्यालय डिग्री दिने संस्था मात्र होइन; समाजले आफ्नो भविष्यबारे सोच्ने, प्रश्न गर्ने, गल्तीबाट सिक्ने र नयाँ सम्भावना निर्माण गर्ने सार्वजनिक थलो हो।

विश्वविद्यालयबारे यस्तो धारणा नयाँ होइन। सन् १८७३ मा प्रकाशित कृति द आइडिया अफ अ युनिभर्सिटीमा जोन हेनरी न्युम्यानले विश्वविद्यालय शिक्षाको उद्देश्य केवल व्यावसायिक तालिम दिनु नभई समाजको बौद्धिक स्तर उकास्नु हो भन्ने तर्क गरेका छन्। उनका अनुसार विश्वविद्यालयले सार्वजनिक मनोवृत्ति निर्माण गर्ने, विचारलाई परिष्कृत गर्ने र समाजको बौद्धिक धरातल बलियो बनाउने काम गर्छ। नेपाली सन्दर्भमा यसको अर्थ विश्वविद्यालयले रोजगारीयोग्य जनशक्ति उत्पादन गर्नु मात्र पर्याप्त हुँदैन; समाजको विवेक, संयम र सार्वजनिक चेतना निर्माणमा पनि योगदान दिनुपर्छ।

प्रगतिशील र आधुनिक शिक्षाका अग्रणी चिन्तक जोन डेवीले पनि शिक्षालाई जीवनबाट अलग गरेर बुझ्न नसकिने बताएका छन्। उनका अनुसार शिक्षा जीवनको तयारी मात्र होइन, शिक्षा नै जीवन हो। विद्यार्थीले कक्षाकोठा र पाठ्यपुस्तकबाट मात्र होइन, सामाजिक अनुभव, समुदाय, समस्या र सहकार्यबाट पनि सिक्छन्।

विश्वविद्यालयले युवालाई पाठ्यपुस्तक, परीक्षा र प्रमाणपत्रमा मात्र सीमित गर्‍यो भने त्यसले सूचना र ज्ञान त दिन सक्छ तर विवेक निर्माण गर्न सक्दैन। युवाले समाजका वास्तविक समस्या बुझ्न, समाधान खोज्न, सहकार्य गर्न र आफ्नो क्षमतामा विश्वास गर्न सिके मात्र शिक्षाको उद्देश्य पूरा हुन्छ।

विश्वविद्यालय आफैँ डर, चाकडी, गुटबन्दी, पदलोलुपता र मौन स्वार्थबाट निर्देशित भयो भने त्यहाँ युवाले स्वतन्त्रता र विवेक कसरी सिक्ने?

आजको नेपाली सन्दर्भमा यो प्रश्न अझ गम्भीर छ। विश्वविद्यालयबाट डिग्री लिएर निस्कँदैमा कसैले रातो कार्पेट ओछ्याएर रोजगारी दिँदैन। बजार सीमित छ, अवसर असमान छन् र धेरै युवालाई आफ्नो योग्यताको सामाजिक उपयोगिता नै अस्पष्ट लाग्छ। यस्तो अवस्थामा विश्वविद्यालयले उनीहरूलाई जागिर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने क्षमता पनि दिनुपर्छ। जहाँ तयार जागिर छैन, त्यहाँ नयाँ काम, सेवा, उद्यम, ज्ञान अभ्यास र सार्वजनिक संवाद सिर्जना गर्न सक्ने युवा तयार गर्नु विश्वविद्यालयको दायित्व हो।

पाउलो फ्रेरेको आलोचनात्मक शिक्षण पद्धतिले शिक्षा सूचना हस्तान्तरण मात्र नभई चेतना निर्माणको प्रक्रिया हो भन्ने सम्झाउँछ। फ्रेरेले शिक्षकले ज्ञान जम्मा गरिदिने र विद्यार्थीले त्यसलाई निष्क्रिय रूपमा ग्रहण गर्ने ‘बैंकिङ मोडल’ को आलोचना गरेका थिए। उनका लागि शिक्षा संवाद, प्रश्न, अनुभव र मुक्त चेतनासँग जोडिएको प्रक्रिया हो।

यो विचार नेपाली विश्वविद्यालयका लागि उत्तिकै सान्दर्भिक छ। विद्यार्थीलाई केवल उत्तर रटाउने हो भने ऊ परीक्षामा सफल हुन सक्ला तर समाजका जटिल प्रश्नसँग जुध्न सक्षम हुँदैन। विश्वविद्यालयले प्रश्न गर्न, असहमति राख्न, रचनात्मक गल्ती गर्न र नयाँ बाटो सोच्न वातावरण दिनुपर्छ। यस अर्थमा विश्वविद्यालय युवाले सपना देख्ने आँट गर्ने सुरक्षित थलो पनि हो। बाहिरको समाज कठोर, विभाजित र कतिपय अवस्थामा निष्ठुरी हुन सक्छ। नयाँ विचार राख्दा आलोचना हुन्छ, प्रयोग गर्दा असफलताको डर हुन्छ र भिन्न सोचलाई सजिलै अस्वीकार गरिन्छ। तर, विश्वविद्यालयभित्र विद्यार्थीले प्रयोग गर्न, असफल हुन, पुनः सोच्न र फेरि उठ्न पाउनुपर्छ। विश्वविद्यालय आफैँ डर, चाकडी, गुटबन्दी, पदलोलुपता र मौन स्वार्थबाट निर्देशित भयो भने त्यहाँ युवाले स्वतन्त्रता र विवेक कसरी सिक्ने?

यही सन्दर्भमा नेपाली प्राज्ञिक क्षेत्रबारे एउटा असहज तर आवश्यक प्रश्न उठ्छ– हाम्रो प्राज्ञिक समुदाय परिपक्व हुँदै छ कि प्राज्ञिकताको संस्थागत विकास अझै अधुरै छ? यो प्रश्नलाई तीन शब्दबाट बुझ्न सकिन्छ– प्राज्ञिक, स्थितप्रज्ञ र स्थितिप्राज्ञिकता।

विश्वविद्यालयले युवालाई रोजगारयोग्य मात्र बनाउने हो भने त्यो अपुरो शिक्षा हुन्छ। उनीहरूलाई विवेकशील, उत्तरदायी र प्रश्न गर्न सक्ने नागरिक बनाउनु पनि विश्वविद्यालयको दायित्व हो।

प्राज्ञिक हुनु भनेको पद, प्रमाणपत्र, उपाधि वा विश्वविद्यालयसँग जोडिएको परिचय हुनु मात्र होइन। प्राज्ञिकता विचारको स्पष्टता, कर्मको निष्ठा, ज्ञानप्रतिको इमानदारी र सार्वजनिक उत्तरदायित्वको समष्टि हो। ज्ञानलाई व्यक्तिगत प्रतिष्ठाको साधन होइन, समाजको विवेक निर्माण गर्ने माध्यमका रूपमा बुझ्ने व्यक्ति मात्र वास्तविक अर्थमा प्राज्ञिक हुन सक्छ।

स्थितप्रज्ञता अझ गहिरो गुण हो। प्राज्ञिक जीवनमा अवसर र वञ्चना, प्रशंसा र उपेक्षा, सम्मान र अस्वीकार, प्राप्ति र अप्राप्ति निरन्तर आइरहन्छन्। यी अवस्थाबीच पनि विवेक नगुमाउनु, प्रतिक्रियामा असन्तुलित नहुनु र संस्थागत प्रश्नलाई व्यक्तिगत लाभ-हानिमा सीमित नगर्नु स्थितप्रज्ञताको संकेत हो।

ज्ञानको यात्रा दीर्घकालीन हुन्छ तर पद र अवसरको राजनीति प्रायः क्षणिक।

आजको सन्दर्भमा अझ महत्त्वपूर्ण शब्द हो– स्थितिप्राज्ञिकता। यो केवल व्यक्तिगत धैर्य होइन; संस्थागत विवेक हो। स्थितिप्राज्ञिकता भनेको त्यस्तो अवस्था हो, जहाँ प्राज्ञिक व्यक्ति वा समुदाय व्यक्तिगत आकांक्षा, गुटगत समीकरण, तात्कालिक लाभ वा भावनात्मक प्रतिक्रियाभन्दा माथि उठेर ज्ञान, संस्था र समाजको दीर्घकालीन हितलाई प्राथमिकता दिन सक्षम हुन्छ।

विश्वविद्यालयभित्रै संवादको ठाउँ गुटले, तर्कको ठाउँ पहुँचले र संस्थागत मूल्यांकनको ठाउँ व्यक्तिगत प्रतिक्रियाले लियो भने समाजका लागि आलोचनात्मक सार्वजनिक क्षेत्र कसरी निर्माण हुन सक्छ?

विश्वविद्यालय नेतृत्व चयन, उपकुलपति नियुक्ति र त्यसवरिपरि देखिने प्रतिक्रियाले यही प्रश्नलाई तीव्र बनाएका छन्। खुला प्रतिस्पर्धाबाट नेतृत्व छनोट गर्ने प्रयास आफैँमा सकारात्मक हुन सक्छ। तर, कुनै प्रक्रिया औपचारिक रूपमा खुला हुनु मात्र पर्याप्त हुँदैन। त्यसमा स्पष्ट मापदण्ड, पारदर्शिता, हितद्वन्द्वको परीक्षण, सार्वजनिक जवाफदेही र नियुक्तिपछिको कार्यसम्पादन मूल्यांकन पनि आवश्यक हुन्छ।

प्राज्ञिक समुदायको भूमिका यहीँबाट सुरु हुन्छ।

तर हाम्रा प्रतिक्रिया कहिलेकाहीँ संस्थागतभन्दा व्यक्तिकेन्द्रित देखिन्छन्। कसैले नियुक्त व्यक्तिले काम सुरु गर्नुअघि नै असाधारण नेतृत्व क्षमताको प्रमाणपत्र दिएझैँ बधाई दिन्छ; कसैले आफू वा आफ्नो निकट व्यक्ति नियुक्त नभएका कारण मौन असन्तुष्टि व्यक्त गर्छ। कतै राजनीतिक, पारिवारिक वा अन्य सम्भावित हितद्वन्द्वबारे प्रश्न उठ्छन्, तर ती प्रश्न पनि तथ्यपूर्ण संस्थागत विश्लेषणभन्दा व्यक्तिगत टिप्पणीमा सीमित हुन्छन्। यसले एउटा आधारभूत प्रश्न उठाउँछ– हामी प्रक्रियाको मूल्यांकन गरिरहेका छौँ कि व्यक्ति, सम्बन्ध र समीकरणको?

जर्मन चिन्तक युर्गेन हाबरमासको ‘पब्लिक स्फेयर’ सम्बन्धी अवधारणाबाट सार्वजनिक संस्थाको कर्म र मर्म र चरित्रबारे थप बुझ्न सकिन्छ। उनका अनुसार सार्वजनिक क्षेत्र त्यस्तो स्थान हो, जहाँ नागरिकले साझा सरोकारका विषयमा विवेकपूर्ण संवाद गर्छन्। विश्वविद्यालय त्यस्तो सार्वजनिक विवेक निर्माण गर्ने महत्त्वपूर्ण संस्था हो। तर, विश्वविद्यालयभित्रै संवादको ठाउँ गुटले, तर्कको ठाउँ पहुँचले र संस्थागत मूल्यांकनको ठाउँ व्यक्तिगत प्रतिक्रियाले लियो भने समाजका लागि आलोचनात्मक सार्वजनिक क्षेत्र कसरी निर्माण हुन सक्छ?

आलोचनात्मक शिक्षण विधिका विद्वान् हेनरी जिरुले पनि उच्च शिक्षालाई लोकतान्त्रिक सार्वजनिक क्षेत्रका रूपमा बुझ्न आग्रह गरेका छन्। उनका अनुसार उच्च शिक्षाको जिम्मेवारी सत्यको खोजीमा मात्र सीमित हुँदैन। यसले विद्यार्थीलाई सत्ता, अधिकार र संस्थालाई नैतिक तथा राजनीतिक रूपमा जवाफदेह बनाउन सक्ने आलोचनात्मक नागरिक बनाउन सक्नुपर्छ।

विश्वविद्यालयको गरिमा भवन, ऐन, दीक्षान्त समारोह वा पदाधिकारीबाट मात्र सुरक्षित हुँदैन। त्यो दैनिक अध्यापनको गम्भीरता, अनुसन्धानको निष्ठा, विद्यार्थीप्रतिको उत्तरदायित्व, सार्वजनिक बहसको स्तर, संस्थागत निर्णय प्रक्रियाको पारदर्शिता र प्राज्ञिक संयमबाट निर्माण हुन्छ।

नेपाली विश्वविद्यालयका लागि यो विचार अत्यन्त सान्दर्भिक छ। विश्वविद्यालयले युवालाई रोजगारयोग्य मात्र बनाउने हो भने त्यो अपुरो शिक्षा हुन्छ। उनीहरूलाई विवेकशील, उत्तरदायी र प्रश्न गर्न सक्ने नागरिक बनाउनु पनि विश्वविद्यालयको दायित्व हो।

उच्च शिक्षाका बेलायती विद्वान् रोनाल्ड बार्नेटले आधुनिक समाजलाई ‘अति जटिलता’ को युगका रूपमा व्याख्या गरेका छन्, जहाँ ज्ञान, मूल्य, संस्था र भविष्य सबै अनिश्चित तथा विवादित हुन्छन्। यस्तो युगमा विश्वविद्यालयले जानकारी मात्र दिने होइन; अनिश्चितताबीच बाँच्न, सोच्न र निर्णय गर्न सक्ने आलोचनात्मक चेतयुक्त प्राणी निर्माण गर्नुपर्छ। नेपाल जस्तो संक्रमणशील समाजमा यो विचार अझ महत्त्वपूर्ण छ। युवालाई निश्चित उत्तर मात्र होइन, अनिश्चित संसारमा विवेकपूर्ण निर्णय गर्ने क्षमता दिनु आधुनिक विश्वविद्यालयको उद्देश्य हुनुपर्छ।

त्यसैले विश्वविद्यालयको संकट समाधान गर्नु भनेको व्यावसायिक र विद्वत् नेतृत्व चयन गर्नु मात्र होइन; प्राज्ञिक चरित्रको सही मूल्यांकन गर्नु पनि हो। कमजोर नेतृत्वले संस्था बिगार्न सक्छ। तर, कमजोर प्राज्ञिक संस्कृति भएको संस्थामा सक्षम नेतृत्व पनि दीर्घकालीन रूपमा सफल हुन सक्दैन।

विश्वविद्यालय उपकुलपति, रजिस्ट्रार, डिन वा विभागीय प्रमुखले मात्र निर्माण गर्ने संस्था होइन। शिक्षक, अनुसन्धाता, विद्यार्थी, कर्मचारी, प्रशासन र सार्वजनिक ज्ञान संस्कृतिको सामूहिक निर्माण हो। सामूहिक संस्कार नै परिपक्व छैन भने नेतृत्व परिवर्तनले मात्र रूपान्तरण ल्याउँदैन।

संकटग्रस्त समाजमा विश्वविद्यालयले भरोसाको नयाँ भाषा, विवेकको नयाँ आधार र युवाका लागि सम्भावनाको नयाँ क्षितिज निर्माण गर्न सक्नुपर्छ।

प्राज्ञिक समुदायले अब आफ्नो भूमिका पुनःपरिभाषित गर्नुपर्छ। विश्वविद्यालयको गरिमा भवन, ऐन, दीक्षान्त समारोह वा पदाधिकारीबाट मात्र सुरक्षित हुँदैन। त्यो दैनिक अध्यापनको गम्भीरता, अनुसन्धानको निष्ठा, विद्यार्थीप्रतिको उत्तरदायित्व, सार्वजनिक बहसको स्तर, संस्थागत निर्णय प्रक्रियाको पारदर्शिता र प्राज्ञिक संयमबाट निर्माण हुन्छ। यी विषयमा मौन बस्ने तर पदगत फेरबदलमा मात्र तीव्र प्रतिक्रिया दिने हो भने हाम्रो प्राज्ञिक प्राथमिकता असन्तुलित हुन्छ।

युनेस्कोले उच्च शिक्षालाई सार्वजनिक तथा साझा हितका रूपमा बुझ्न आग्रह गर्दै आएको छ। यस दृष्टिले विश्वविद्यालय कुनै व्यक्तिको करिअर निर्माण गर्ने संस्था मात्र होइन; समाजको साझा भविष्य निर्माण गर्ने सार्वजनिक सम्पदा हो। त्यसैले विश्वविद्यालयबारेको बहस पद, नियुक्ति र शक्ति समीकरणमा सीमित हुनु हुँदैन; युवाको भरोसा, सार्वजनिक विवेक, ज्ञान उत्पादन, सामाजिक उत्तरदायित्व र प्राज्ञिक चरित्रको बहस बन्नुपर्छ।

अन्ततः प्रश्न हामी कस्ता प्राज्ञिक हौँ भन्ने हो– पदले परिभाषित, अवसरले निर्देशित वा संस्थागत विवेकले सञ्चालित?

आफ्नो कर्मबाट आदर आर्जन गर्ने, विचारमा स्पष्ट हुने र संस्थाको हितलाई व्यक्तिगत आकांक्षाभन्दा माथि राख्न सक्ने व्यक्ति नै वास्तविक अर्थमा प्राज्ञ हो। तर, यस्तो प्राज्ञिकता स्वतः जन्मिँदैन। त्यसका लागि संस्थागत संस्कार, आत्मअनुशासन र सार्वजनिक उत्तरदायित्व आवश्यक हुन्छ।

नेपाली विश्वविद्यालयको भविष्य केवल नयाँ नेतृत्वमा निर्भर हुने छैन, त्यो प्राज्ञिक समुदायले कस्तो संस्कार निर्माण गर्छ भन्नेमा पनि निर्भर रहनेछ। विश्वविद्यालयलाई समाजको चेतना निर्माण गर्ने थलो बनाउने हो भने पहिलो चेतना विश्वविद्यालयभित्रै जाग्नुपर्छ। संकटग्रस्त समाजमा विश्वविद्यालयले भरोसाको नयाँ भाषा, विवेकको नयाँ आधार र युवाका लागि सम्भावनाको नयाँ क्षितिज निर्माण गर्न सक्नुपर्छ।

(काठमाडौँ विश्वविद्यालयको स्कुल अफ आर्टस्‌अन्तर्गत भाषा तथा आमसञ्चार विभागका सहप्राध्यापक दाहालले विकासका लागि सूचना तथा सञ्चार प्रविधि विषयमा विद्यावारिधि गरेका छन्।)