काठमाडौँ
००:००:००
१२ श्रावण २०८३, मंगलवार

क्रिकेट

सिधै विश्वकप छनोटको बाटो साँघुरिदा प्लेअफमार्फत ओडीआई मान्यता जोगाउने दबाब

१२ श्रावण २०८३
नेपाली क्रिकेट टोली।तस्बिर : क्यान
अ+
अ-

नेपालले अहिलेसम्मकै सबैभन्दा कठिन शृंखला खेलिरहेको छ। हाम्रो लक्ष्य उच्च छ र हामी यो यात्रा उत्कृष्ट नतिजासहित टुंग्याउन चाहन्छौँ। म हार रुचाउने व्यक्ति होइन।

२०८१ साल चैतको मध्यतिर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा नियुक्त भएपछि स्टुअर्ट लले दिएको यो अभिव्यक्ति धेरैका लागि आशा जगाउने खालको थियो। त्यतिबेला उनको मुख्य जिम्मेवारी अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने एकदिवसीय विश्वकप छनोटको आधार मानिएको आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालको अवस्था सुधार्नु थियो।

लले टोली सम्हाल्दा नेपालले लिग-२ अन्तर्गतका ३६ मध्ये १२ खेल खेलिसकेको थियो। दुई जित, दुई खेल नतिजाविहीन र जम्मा ६ अंकसहित नेपाल आठ टोलीमध्ये सातौँ स्थानमा थियो। कठिन अवस्थाबाट टोलीलाई माथि उकास्ने चुनौती उनकै काँधमा थियो।

तर, हार्न मन नपराउने प्रशिक्षकको नेतृत्वमा पनि नेपालको प्रदर्शन अपेक्षाअनुसार सुधार हुन सकेन। नेपालले उनको प्रशिक्षणमा खेलेको १९ मध्ये जम्मा नौ खेलमा जित हासिल गर्न सकेको छ। फलस्वरूप सिधै विश्वकप छनोटमा स्थान बनाउने लक्ष्य झन् कठिन बन्दै गएको छ भने सन् २०१८ मा पाएको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता नै संकटमा परेको छ।

सन्दीप लामिछाने। तस्बिर : क्यान

३१ खेल खेलिसक्दा नेपाल ११ जित, १८ हार र दुई नतिजाविहीन हुँदै २४ अंकसहित छैटौँ स्थानमा झरेको छ। अब लिग-२ को यस चक्रमा जम्मा पाँच खेल मात्र बाँकी रहँदा नेपाल ‘बटम टु’ मा पर्ने स्थितिमा छ।

यस्तो स्थितिमा नेपालले बुधबार नेदरल्यान्ड्ससँग खेल्दै आठौँ शृंखला सकाउनेछ। उक्त खेलमा जित हात पार्दै शृंखला अन्त्य गर्ने लक्ष्य रहेको कप्तान रोहितकुमार पौडेल बताउँछन्। “यस भ्रमणभर नै हाम्रो ब्याटिङ अपेक्षाअनुसार हुन सकेको छैन। अब अन्तिम खेल बाँकी छ, त्यसमा राम्रो प्रदर्शन गर्ने आशा छ,” उनी भन्छन्।

नेपालले गुमाएको अवसर

सन् २०२७ को आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुने प्रक्रिया धेरै चरणमा विभाजित छ। सबैभन्दा पहिले आईसीसीको एकदिवसीय वरीयतामा शीर्ष आठ स्थानमा रहेका टोलीले सिधै विश्वकपमा स्थान बनाउनेछन्। आयोजक राष्ट्र दक्षिण अफ्रिका र जिम्बाबे त्यसमध्येका दुई टोली हुन्। यसबाहेक साबिक विजेता अस्ट्रेलिया, उपविजेता भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका पनि सिधै छनोट भएका छन्।

विश्वकपका बाँकी चार स्थानका लागि ग्लोबल क्वालिफायर आयोजना हुनेछ। यस प्रतियोगितामा एकदिवसीय वरीयताको नौदेखि १२ स्थानमा रहेका (अफगानिस्तान, बाङ्लादेश, वेस्ट इन्डिज र आयरल्यान्ड) चार टोली,  लिग-२ का शीर्ष चार टोली, क्वालिफायर प्लेअफबाट छनोट भएका चार टोली सहभागी हुनेछन्।

लिग-२ मा ३२ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा रहेको अमेरिकाले त्यो अवसर हासिल गरिसकेको छ।  त्यसबाहेक ३२ खेलबाट ३८ अंक रहेको स्कटल्यान्डसँगै नेदरल्यान्ड्स, ओमान, नामिबिया र क्यानडा शीर्ष चारको प्रतिस्पर्धामा छन्। नेदरल्यान्ड्सले ३० खेलबाट ३६, ओमानले २८ खेलबाट ३१ र क्यानडाले २८ खेलबाट २४ अंक पुर्‍याएका छन्।

लिग-२ मा पाँचौँदेखि आठौँ स्थानमा रहने टोली भने क्वालिफायर प्लेअफमा जानुपर्नेछ। अहिले यस स्थानमा नामिबिया, नेपाल, क्यानडा र संयुक्त अरब इमिरेट्स (यूएई) छन्। नामिबियाको ३१ खेलबाट २६ र नेपालको समान खेलबाट २४ अंक छ। २४ खेल खेलेको यूएएई भने १४ अंकसहित अंकतालिकाको पुछारमा छ।

स्कटल्यान्डविरुद्ध विकेट लिएपछि नेपाली खेलाडी। तस्बिर : क्यान

हाल १२ टोली सहभागी रहेको च्यालेन्ज लिगको समूह ‘ए’ मा जर्सी १७ र कुवेत १४ अंकसहित शीर्षस्थानमा छन्। अर्को समूहमा भने युगान्डा १८ र इटाली १६ अंकसहित शीर्ष चारमा छन्। त्यहाँबाट उत्कृष्ट चार टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन्।

ग्लोबल क्वालिफायरबाट उत्कृष्ट चार टोलीले अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले आयोजना गर्ने विश्वकपमा स्थान बनाउनेछन्। नेपालका लागि अहिले सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता लिग-२ थियो। नेपालले लिग-२ मा शीर्ष चारभित्र स्थान बनाउन सकेको भए सन् २०२३ मा जस्तै सिधै ग्लोबल क्वालिफायर खेल्ने थियो। तर, त्यसका लागि नेपाललाई नेदरल्यान्ड्समा जारी शृंखला र आगामी अक्टोबरमा हुने शृंखलाका आठ खेल जितेर मात्र पुग्ने थिएन।

अंकतालिकामा नेपालभन्दा अगाडि रहेका नेदरल्यान्ड्स र ओमानसहित नामिबियाले पनि हार्नुपर्ने समीकरण थियो। तर, झिनो आससहित नेदरल्यान्ड्स पुगेको नेपालले तीन खेलको समाप्तिमा जित निकाल्न सकेन। पहिलो खेलमै नामिबियालाई आठ विकेटको नतिजा सुम्पिएको नेपालले अर्को खेलमा घरेलु टोलीसँग ६ विकेटको हार बेहोर्‍यो। सोमबार भएको तेस्रो खेलमा नेपालले नामिबियासँग पुन: तीन रनको हार बेहोरेको छ। योसँगै नेपाल क्वालिफायर प्लेअफमा जाने लगभग निश्चित भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर तथा पूर्वक्रिकेटर विनोद दासका अनुसार ओडीआई मान्यता जोगाउन नेपाल लिग-२ को ‘बटम टु’ मा पर्नु हुँदैन। ‘बटम टु’ मा परेमा क्वालिफायर प्लेअफको शीर्ष दुईमा रहँदै छनोट चरण पार गर्नुपर्छ।

नेपालविरुद्धको लगातार दुई जितसँगै एक स्थान सुधार गरेको नामिबियाले अब जारी शृंखलामा नेदरल्यान्ड्ससँग एक खेल र अक्टोबरमा अमेरिकामा घरेलु टोलीसँग यूएईसँग लिग-२ को अन्तिम शृंखला खेल्नेछ।

अमेरिका यसअघि नै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ। २४ खेलबाट १४ अंक जोडेको यूएईले भने अझै १२ खेल खेल्न बाँकी छ। यस्तै, नेपालको जति नै २४ अंक रहेको क्यानडाले पनि आठ खेल खेल्न बाँकी रहँदा नेपाल अंकतालिकाको ‘बटम टु’ मा पर्ने सम्भावना उच्च छ।

ओडीआई मान्यता के हुन्छ?

लगातारको खराब प्रदर्शनका कारण ओडीआई मान्यता पनि अहिले चासोको विषय बनेको छ। नेपाल क्रिकेट संघ (क्यान)का म्यानेजर तथा पूर्वक्रिकेटर विनोद दासका अनुसार ओडीआई मान्यता जोगाउन नेपाल लिग-२ को ‘बटम टु’ मा पर्नु हुँदैन। ‘बटम टु’ मा परेमा क्वालिफायर प्लेअफको शीर्ष दुईमा रहँदै छनोट चरण पार गर्नुपर्छ। यस प्रतियोगितामा माथि भने जस्तै लिग-२ को पुछारमा रहने र च्यालेन्ज लिगबाट आएका टोलीलाई प्रतिस्पर्धा गराइन्छ।

“हाल नेपाल पुछारबाट तेस्रो स्थानमा रहेकाले ओडीआई मान्यता खतरामा छैन भनेर ठोकुवा गर्न मिल्दैन। पुछारको दुईमा रहेमा नेपाल प्लेअफमा धकेलिनेछ। च्यालेन्ज लिगबाट आएका टोली पनि कमजोर हुँदैनन्। त्यसैले जितेर आउनुपर्ने चुनौती थपिनेछ,” उनी भन्छन्।

अमेरिकाविरुद्ध शतक प्रहार गरेका कुशल भुर्तेल। तस्बिर : क्यान

गत संस्करणमा क्वालिफायर प्लेअफमा लिग-२ को पुछारका रहेका नामिबिया, अमेरिका, यूएई र पपुवा न्युगिनी (पीएनजी) तथा च्यालेन्ज लिगबाट आएका क्यानडा र जर्सी भिडेका थिए। यी ६ टोली सिंगल राउन्ड रोबिनमा भिडेका थिए।

सन् २०२३ को २६ मार्चदेखि ५ अप्रिलसम्म प्रत्येक टोलीले पाँच पाँच ओडीआई खेल खेलेका थिए। तीमध्ये अंकतालिकामा शीर्ष दुई स्थान हासिल गरेका अमेरिका र यूएईले जिम्बाबेमा भएको ग्लोबल क्वालिफायरमा स्थान बनाए।

योसँगै यस प्रतियोगिताभित्र अर्को रोचक प्रतिस्पर्धा पनि थियो। अमेरिका र नामिबियाले २०१९-२०२३ सम्म चलेको लिग-२ को चक्र चौथो र पाँचौँ स्थानमा रहेर समाप्त गरेको हुँदा ओडीआई मान्यता ‘रिटेन’ गरिसकेका थिए।

तर, सोही चक्रका पुछारका दुई टोली यूएई र पीएनजी तथा च्यालेन्ज लिगका विजेता क्यानडा र जर्सीबीच २०२४-२०२६ लिग-२ चक्रका बाँकी दुई स्थानका लागि प्रतिस्पर्धा भएको थियो। यी चार टोलीमध्ये शीर्ष दुई यूएई र क्यानडाले लिग-२ मा स्थान सुरक्षित गरे। योसँगै ओडीआई मान्यता पुन: प्राप्त गरे। बाँकी दुई टोली पीएनजी र जर्सी भने पुनः च्यालेन्ज लिगमा झरे। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हालसम्म यो नियम परिवर्तन नगरेको म्यानेजर दास बताउँछन्।

“अहिलेसम्म कुनै नियम परिवर्तन भएको जानकारी आएको छैन। यही नियमका आधारमा नेपाल पुछारको दुईमा रहने हो भने ओडीआई मान्यता जोगाउन प्लेअफको सहारा लिनुपर्छ,” उनी भन्छन्।