काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

९ भाद्र २०८२
अ+
अ-

काठमाडौं । सौर्य उर्जाको व्यापारिक उत्पादन थालेको दोस्रो वर्षमै नाफामा गएको पियोर इनर्जी लिमिटेडले सोल पावर प्रालिमा २६ प्रतिशत शेयर लगानी गरेको छ । पियोर इनर्जीले आफ्नाे वेवसाइटमा सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणअनुसार प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका दुई लाख ६० हजार कित्ता खरिद गरिएको छ ।

पियोर इनर्जीले आर्थिक वर्ष २०८१/८२ मा तीन करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी १९ दशमलव २३ प्रतिशतले बढेर २५ करोढ ९२ लाख रुपैयाँ पुगेको छ । एक करोड ५१ लाख रुपैयाँ अन्य आम्दानी पनि गरेको वित्तीय विवरणमा उल्लेख छ । त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कम्पनी एक करोड ७५ लाख ८० हजार रुपैयाँ खुद घाटामा थियो ।

पियोरले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सोलार आयोजना सञ्चालन गरिरहेको छ । दुबै आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन् । गोल्यान समूह अन्तर्गतको पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने सोलार कम्पनी हो ।

कम्पनीको वार्षिक वित्तीय विवरणले विद्युत बिक्रीको आम्दानी बढेको कारण कम्पनी नाफामा गएको देखिन्छ । गत वैशाखमा आईपिओ निस्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ दशमलव ७० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०० दशमलव ४८ रुपैयाँ रहेको छ ।

सोल पावर प्रालिले पाँचवटा सोलार परियोजना निर्माण गरिरहेको छ । प्रालि अन्तर्गत कन्चनपुरमा १५ मेगावाटको कृष्णपुर सोलार परियोजना, बर्दियामा २५ मेगावाटको भुरिगाउँ–१ सोलार परियोजना, बाँकेमा ३० मेगावाटको न्यू नेपालगन्ज सोलार परियोजना र नवलपरासीमा १५–१५ मेगावाटको परासी सोलार परियोजना तथा सुनवल सोलार परियोजना सञ्चालनमा रहेका छन् ।