काठमाडौँ। सर्वोच्च अदालतको वेबसाइट रिकभर भएको छ। योसँगै सर्वोच्चको कामकाज पनि सहज भएको छ।
जेनजी आन्दोलनको भोलिपल्ट (२४ भदौमा) भएको आगजनी र तोडफोडले क्षतविक्षत भएको सर्वोच्चको सूचना-प्रविधि महाशाखाले सोमबारबाट वेबसाइट पूर्णरुपमा सञ्चालन गरेको हो ।
सर्वोच्चले आफ्नो र मातहतका अदालतको न्यायिक कामकारबाहीका लागि मुद्दा व्यवस्थापन प्रणाली सञ्चालन गर्छ । भदौ २४ को आगजनीपछि सर्वोच्च अदालतकै भवनको माथिल्लो तलामा रहेको सूचना-प्रविधि कक्षमा क्षति पुगेको थियो।
अदालत खुलेको केही सातापछि वेबसाइट सञ्चालन भए पनि त्यसमा सबै डाटाहरु हराएका थिए। हेटौँडामा रहेको ‘ब्याकअप सेन्टर’बाट डाटा रिकभर गरेर वेबसाइट पूर्ववत सञ्चालनमा आएको सर्वोच्चले जनाएको छ।