काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले आफ्नो राजनीतिक जिम्मेवारीका पदहरूबाट राजीनामा दिएका छन्। पार्टीका महामन्त्रीलाई सम्बोधन गर्दै परियारले शुक्रबार राजीनामा दिएका हुन्।
उनले युवावर्ग–विशेष गरी जेन–जी पुस्ताको राजनीति प्रेरित गर्ने, सामाजिक मुद्दाहरू उठाउने र नयाँ राजनीतिक शैली विकास गर्ने उद्देश्य बोकेर आफू अघि बढेको उल्लेख गरेका छन्। उनले पार्टीमा निरन्तर विचारको बहस गरिरहे पनि स्थापित गर्न नसकेको बताएका छन्।
रास्वपाले आगामी निर्वाचनका लागि तयारी थालेको बेला परियारको यो राजीनामालाई पार्टीभित्र असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।
‘जेन-जी विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ,’ उनले भनेका छन्, ‘यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीतिक अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ।’
उनले बदलिँदो परिस्थितिलाई आत्मसात गर्दै नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्चमा राष्ट्र हित र जनताको जीवनसँग जोड्न फरक खालको राजनीतिक अभियानमा सक्रिय हुने बताएका छन्।