जनकपुर। मधेस प्रदेशको प्रदेश सभा बैठक चौरमा बसेको छ। प्रदेश सभा बाहिरको प्रांगण (चौर) मा बसेको बैठकको अध्यक्षता उपसभामुख बबिताकुमारी राउत ईशरले सञ्चालन गरिन्।
चौरमै बसेको प्रदेशसभा बैठकमा अध्यक्षता गरिरहेकी ईशरलाई प्लास्टिकको कुर्सी व्यवस्थापन गरिएको थियो। अरु प्रदेश सभा सदस्य (सांसद) हरु भुइँमै थ्याच्च बसेर बैठक सञ्चालन गरिएको थियो। केही सांसदहरुले आफूले लगाएको चप्पललाई चकटी बनाएर बसेका थिए भने केही सांसद् दुबोमै थ्याच्च बसेका थिए।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश सभा बैठक बोलाउन प्रस्ताव राखेका थिए। पूर्वमुख्यमन्त्रीसमेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै भए पनि प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका थिए। त्यसपछि उपसभामुख ईशरले खुला चौरमै बैठक राखिन्। उनले कर्मचारी नभएको तथा विभिन्न समस्या भएको भन्दै चौरमै बैठक सञ्चालन गर्नुपरेको बताइन्।
चौरमा बैठक बस्नुअघि सात दलका प्रदेश सांसदहरू एक घण्टाजति प्रदेश सभा भवनको अगाडि चौरमै बसेका थिए।
मधेस प्रदेशमा सातदलीय गठबन्धनले शनिबार पनि प्रदर्शन गर्यो। मुख्यमन्त्रीको नियुक्ति र पाँच प्रदेश सांसदलाई कारबाही गरेको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन्।
सातदलीय गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका नेता तथा कार्यकर्ताहरूले प्रदेश सभा भवन घेराउ गरेका थिए।
मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक र सभामुख रामचन्द्र मण्डलले कानुनविपरीत पाँचजना सांसदलाई कारबाही गरेको सातदलीय गठबन्धनको दाबी छ। विश्वासको मत पाउन नसक्ने भएपछि तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)को राजीनामापछि नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि मधेस प्रदेशमा राजनीतिक अस्थिरता उत्पन्न भएको हो।
मधेस प्रदेश : मुख्यमन्त्रीको नियुक्ति र पाँचजना प्रदेश सांसदलाई कारबाही गरेको विरोधमा सात दलको प्रदर्शन
त्यस्तै सभामुख मण्डलले ‘पद अनुकूलको आचरण नदेखाएको’ भन्दै पदमुक्त गर्ने प्रस्ताव लिएर प्रदेश सभा सचिवालय पुगेपछि थप टकराव बढेको छ। सभामुख मण्डलले प्रस्ताव दर्ता नभएको बताएका छन् भने सातदलीय गठबन्धनले प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको दाबी गरेका छन्।
आफूलाई पदमुक्त गर्ने प्रस्ताव लिएर सातदलीय गठबन्धन प्रदेशसभा सचिवालय पुगेकै दिन सभामुख मण्डलले लगातार १० दिन प्रदेशसभा बैठकमा अनुपस्थित भएका पाँचजना प्रदेश सभा सांसदलाई कारबाही गरेका थिए। जसपा नेपालका चार र नाउपाकी एकजना पदमुक्त भएको सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद बढेको हो। १६८ (२) को विकल्प छँदाछँदै भण्डारीले असंवैधानिक तरिकाबाट यादवलाई मुख्यमन्त्री नियुक्त गरेको सातदलीय गठबन्धनको आरोप छ।
मुख्यमन्त्री यादवलाई बर्दिबासको एक होटेलमा शपथग्रहण गराएकी तत्कालीन प्रदेश प्रमुख भण्डारी संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पदमुक्त भइसकेकी छन्। मधेस प्रदेश प्रमुखका रुपमा अहिले सुरेन्द्र लाभ कर्णलाई राष्ट्रपतिले नियुक्त गरी पदभारसमेत ग्रहण गरिसकेका छन्।
यो पनि…