मातृत्व
सातमहिने छोरालाई साथै लिएर फिल्म खेल्न पुगेकी अभिनेत्री बर्देवाको तितामीठा अनुभव
पटकथामा पात्रहरू निस्प्राण हुन्छन्। त्यसमा प्राण भरेर जीवन्त बनाउने थोरै कलाकारमध्ये पर्छिन्, लक्ष्मी बर्देवा।
सात वर्षअघिको बुलबुलमा उनी ट्याम्पो चालक भीमाको भूमिकामा देखिएकी थिइन्। त्यसपछि उनले विभिन्न फिचर फिल्म, सर्ट फिल्म, म्युजिक भिडियोहरूमा अभिनय गरिन्। दर्जनौँ म्युजिक भिडियो निर्देशनसमेत गरिन्। तर बुलबुलको चर्चापछि करिअरलाई अझै माथि उठाउने कामको प्रतीक्षामा उनले लामै प्रतीक्षा गर्नुपर्यो।
रंगमञ्च पृष्ठभूमिबाट आएकी लक्ष्मीले फिल्ममा देखिरहनका लागि छोटो होइन, चित्तबुझ्दो भूमिका खोजिन्। फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने उनको चाहना अपूरै थियो। गत १८ मंसिरदेखि प्रदर्शनमा आएको अभिमन्युले उनको इच्छा साकार बनाइदिएको छ। दर्शकले लीलाको भूमिकामा उनको कामको तारिफसमेत गरिरहेका छन्।

चलचित्र ‘बुलबुल’को एक दृश्यमा अभिनेत्री स्वस्तिमा खड्काका साथमा बर्देवा
अभिमन्यु छायांकनका क्रममा लक्ष्मीले अर्को महत्त्वपूर्ण अनुभव पनि सँगालेकी थिइन् । जुन बेला फिल्मको प्रस्ताव आयो त्यसबेला छोरा भर्खरै सात महिना पुगेका थिए। लक्ष्मीले निर्माता विनोद पौडेलसँग सर्त नै राखेकी थिइन्, ‘मेरो बच्चा ब्रेस्टफिडिङमा छ। काठमाडौँमै छायांकन भए ब्रेस्टफिडिङका लागि बच्चालाई ल्याउनुपर्छ। काठमाडौँबाहिर छायांकन भए बच्चा पनि लिएर जानुपर्छ। नत्र म यो फिल्म गर्न सक्दिनँ।’ पौडेलले उनको सर्त स्विकारे।
अभिमन्युको धेरै हिस्सा काठमाडौँ र केही दृश्य चितवनमा खिचिएका छन्। लक्ष्मीका अनुसार, एक साताजतिका लागि उनले कलाकार श्रीमान् जीवन भट्टराईलाई छोराको हेरचाह गर्ने गरी सँगै लगेकी थिइन्।
अभिमन्युको सुरुको छायांकन काठमाडौँमै भएको थियो। लक्ष्मीले पहिलो दिन बच्चालाई घरमै छाडेर गएकी थिइन। तर छायांकन चल्दै गर्दा यति न्यास्रो लाग्यो कि उनी बिरामी नै परिन्। भन्छिन्, “टेक दिनै गाह्रो भयो। ज्वरो नै आउलाजस्तो भयो। आमा बनेपछि शरीरले आफैँ अलार्म बजाउँदो रहेछ, सन्तान खोज्नेरहेछ।”
त्यसपछिका हरेक दिन एकचोटि डेढ–दुई घण्टाका लागि ब्रेस्टफिड गराउन बच्चा छायांकन स्थलमा ल्याउन थालियो। भन्छिन्, “काम र मातृत्वको सन्तुलन मिलाउने अनभुव पनि बन्यो अभिमन्यु।”
कलाकारितामा संघर्षरत् लक्ष्मीको जीवनमा बच्चा कहिले पाउने भन्ने क्षण पनि थियो। त्यो प्रश्न सोझै करिअरसँग गाँसिएको थियो। करिअरकै लागि केही समय बच्चा जन्माउने रहरलाई उनले विलम्बसमेत गरिन्। तर बुलबुलपछि गरेका कतिपय राम्रा फिल्महरू विभिन्न कारणले पर सर्दा कामले सोचेजस्तो गति लिन सकिरहेको थिएन। त्यसमाथि कोभिडकालको अन्योलले कतिपय योजना ठप्प भएका थिए।

‘बेअर ट्रिज इन द मिस्ट’ लघु चलचित्रको एक दृश्यमा बर्देवा
“त्यसपछि लाग्यो, एकदुई वर्ष यसै पनि खाली बस्नुपर्दो रहेछ। आमा बनेँ भने पनि त्यही एकदुई वर्ष काम नगर्ने त हो,” उनले भनिन्, “फर्केर हेर्दा मैले एकदम सही समयमा सही निर्णय लिएछु।”
तैपनि, सानो बच्चालाई छायांकन स्थलमा नजिकै राखेर काम गर्दा केही अप्ठ्यारा भने झेल्नै पर्यो। छायांकनका बेला बच्चा साथै हुँदा काममा ऊर्जा थपिए पनि जब बच्चाले झगडा गर्थ्यो ध्यान उतै मोडिन्थ्यो। छायांकन स्थलमा अरू कसैको बच्चा देख्दा त्यसै त्यसै रुन आउँथ्यो। “कतिसम्म भने बाँदरको बच्चा देख्दा, बिरालोको बच्चा देख्दा, कुकुरले दूध खाइरहेको देख्दा पनि रुन आउथ्यो,” उनी सम्झन्छिन्, “अझ, त्यस्तो बेला काममा असर पर्छ कि भन्ने चिन्ताले थप सताउँथ्यो।”
छोरालाई चितवनको हावापानी अनुकूल होला नहोला भन्ने अर्को चिन्ता पनि छँदै थियो। “बच्चालाई एकदुई दिन त गाह्रो पनि भयो। धन्न, जीवनले बच्चा सम्हाल्ने पूरै जिम्मेवारी सम्हाल्दिनुभयो। नत्र अझै धेरै समस्या झेल्नुपर्थ्यो होला,” उनी सुनाउँछिन्। बच्चालाई चाहिएको बेला आफ्नो नजिक हुन दिएर काम गर्न सहज बनाइदिने अभिमन्यु टोलीप्रति उनी कृतज्ञ छिन्।

श्रीमान् जीवन भट्टराई र छोरासँग बर्देवा
आफूभन्दा अघिल्ला पुस्ताका धेरै महिला कलाकारको आमा बनेकैले करिअर सकिएको, भूमिका कम भएको लक्ष्मीले देखेकी थिइन्। भन्छिन्, “मेरो अनुभवले फिल्म उद्योगमा महिलाहरूले काम गर्ने वातावरणमा आएको परिवर्तनलाई पनि संकेत गर्छ।”
सकारात्मक परिवर्तनका बावजुद उनले अभिमन्यु छायांकनका क्रममा केही पक्षमा सुधार गनुपर्ने महसुस पनि गरेकी छन्। उनका अनुसार, फिल्ममा इन्डोरभन्दा आउटडोर छायांकनमा समस्या भोग्नुपर्छ, जसमध्ये मुख्य सुरक्षित शौचालयको समस्या हो। यहाँनेर गत कात्तिकमा सञ्चारमन्त्रीसँग अभिनेत्री नीति शाहले छायांकनस्थलमा भ्यानिटी भ्यानको माग राखेको कुरा सान्दर्भिक छ। शौचालयजडित ती भ्यान ल्याउन सके महिलालाई सहज हुने शाहको भनाइलाई सामाजिक सञ्जालमा कतिपयले सतही पनि भने। लक्ष्मी नीतिको भनाइमा सहमत छिन्। भन्छिन्, “महिलाका लागि शौचालय लक्जरी नभई हाइजिनको विषय हो।”
लक्ष्मीका अनुसार सुरक्षित रूपमा कपडा फेर्ने ठाउँको अभाव अर्को समस्या हो। “धेरैजसो गाडीभित्र बसेर लुगा फेर्नुपर्छ। छायांकन हेर्न आएका मान्छेको भीडले झनै लुगा फेर्नै अप्ठ्यारो हुन्छ,” उनी भन्छिन् । यी समस्या सुन्दा लाग्छ–छायांकनस्थलमा ‘ब्रेस्ट फिडिङ’का लागि अलग्गै ठाउँको माग अझै परको कुरा हो।

चलचित्र अभिमन्यु च्याप्टर २ को प्रिमियरमा अभिनेता कामेश्वर चौरसियासँग बर्देवा
अभिमन्यु लक्ष्मी र जीवनले बच्चालाई छायांकन स्थलमै लगेको पहिलो फिल्म भने होइन। यसअघि विमान फिल्मको छायांकनमा उनीहरू तीनजना विराटनगर र राजविराजसमेत पुगेका थिए। फिल्ममा तीनैजनाको अभिनय देख्न पाइने उनले बताइन्। “हाम्रो समाजमा बच्चा आमासँगै हुनुपर्छ भन्ने मान्यता छ। त्यो मान्यताविपरीत हिँड्दा ममा ‘मम गिल्ट’ पनि आउन सक्थ्यो। तर बच्चा पनि बुवासँग रमाएकोले त्यो समस्या आफूले भोग्नु परेन,” उनी बताउँछिन्।
बच्चा लिएर जाँदाका केही रमाइला कुरा सम्झेर उनी अझै एक्लै हाँसिरहन्छिन्। अभिमन्युमा एउटा भोजपुरी गीत छ, लड्की गोरी। गीतको छायांकनका बेला छोरा पनि थिए। “बाबु नाच्न एकदम रमाउँछ। गीतको छायांकनमा यति खुसी भयो, रमायो कि, फर्किनै मानेन,” उनी भन्छिन्।

चलचित्र अभिमन्यु च्याप्टर २ को प्रिमियरमा कोस्टारहरूसित बर्देवा
छायांकनमा आफ्नो छोरा भावनात्मक रूपमा अन्य कलाकारसँग नजिक भएको कुराले पनि उनलाई सन्तोष लागेको छ। “मेकअप आर्टिस्ट विशाखाविक्रम थापा, फिल्मका मुख्य पात्र अभिमन्यु (कामेश चौरसिया), प्रकाश दाहाल बच्चासँग सारै नजिकिए। अहिले पनि अभिमन्युको टिसर्टमा प्रकाश दाइको फोटो देख्दा ‘ऊ प्रकाश काका’ भनिरहन्छ,” उनी भन्छिन्।
हुन त अभिमन्यु नै लक्ष्मीले मुख्य भूमिका निर्वाह गरेको फिल्म होइन। राजन कठेत निर्देशित बेअर ट्रिज इन द मिस्ट र काम गरेका लछमनीया जस्ता सर्ट फिल्ममा मुख्य भूमिकामा उनले अभिनय क्षमता देखाएकी छिन्। “तर ठूलो समूहका दर्शकमा पुग्न फिचर फिल्म नै चाहिने रहेछ। त्यसैले अभिमन्यु मेरा लागि विशेष फिल्म हो,” लक्ष्मी भन्छिन्, “त्यसमाथि मातृत्व र काम सँगसँगै बढाउन सकिन्छ भन्ने मेरो अनुभव, अरू महिला कलाकारका लागि पनि उदाहरण बन्न सक्छ।”