एमाले
सचिवालय बैठकबाट जबर्जस्ती नामावली पारित गराउने रणनीति
विघटित प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिँदै आएको नेकपा (एमाले)ले आसन्न निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम संकलन गर्न सुरु गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि महासचिव शंकर पोखरेलले प्रदेश तथा जिल्ला कमिटीहरूलाई समानुपातिकका सम्भावित उम्मेदवारको नामावली पठाउन निर्देशन दिएका छन्।
एमाले संस्थापन इतर समूहले भने पार्टी सचिवालय बैठकबेगर नै समानुपातिकको नाम संकलन गरिनु अनुचित मात्र नभई नेतृत्वको एकलौटी गर्ने नियत देखिएको बताएको छ।
एमाले कोसी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा केन्द्रकै निर्देशनमा समानुपातिक सूचीमा रहने व्यक्तिहरूको नामावली संकलन भइरहेको बताउँछन्। “हामी नामावली संकलन गरिरहेका छौँ। केन्द्रसँग छलफल गरेर नाम पठाउनेछौँ,” उनी भन्छन्।
एमाले सिन्धुपाल्चोक अध्यक्ष होमनारायण श्रेष्ठ समानुपातिक नामहरूको विषयमा परामर्श गरिराख्न प्रदेश कमिटीमार्फत जानकारी आएको बताउँछन्। “चुनाव हुने त सम्भावना छैन, तर प्रक्रियामा गइराखौँ भनेर परामर्श थाल्न भनिएको हुन सक्छ,” श्रेष्ठ भन्छन्।
डोटी जिल्ला कमिटीकी अध्यक्ष मन्जु मलासी भने प्रदेश कमिटीले समानुपातिक उम्मेदवारको नाम नै मागेको बताउँछिन्। भन्छिन्, “एक महिला र एक पुरुष क्लस्टरसम्म खुलाएर पठाउन प्रदेश कमिटीले भनेको छ।”
तर, एमाले संस्थापन इतर समूहले पार्टी सचिवालय बैठकबेगर नै समानुपातिकको नाम संकलन गरिनु अनुचित मात्र नभई नेतृत्वको एकलौटी गर्ने नियत देखिएको बताएको छ। “समानुपातिकको नामावली केन्द्रीय कार्यालयबाट नभई गुन्डु (हालको ओली निवास) र कोटेश्वर (महासचिव पोखरेलको निवास)बाटै संकलन भइरहेको छ,” एमालेका एक नेता भन्छन्, “पार्टी संयन्त्रलाई पूरै बाइपास गरिएको छ।”
पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारी पनि समानुपातिक नामावली संकलनको विषयमा आफूलाई जानकारी नभएको बताउँछन्। “मैले पनि समाचारबाट थाहा पाएको हुँ। कुनै जानकारी छैन,” उनी भन्छन्।
३ पुसमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी चयन गरिए पनि हालसम्म सचिवालय बैठक बसेको छैन।
पार्टी निर्णयबेगर नै समानुपातिक उम्मेदवार नामावली संकलन थालिएको भन्दै एमाले उपमहासचिव योगेश भट्टराईले मंगलबार नै महासचिव पोखरेललाई सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए। ‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेस गर्नुपर्ने समय नजिक आइसकेको छ। पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नुपर्नेछ। महासचिव कमरेड शंकर पोखरेललाई फोनमार्फत यो विषय ध्यानाकर्षण गरेको छु,’ भट्टराईले मंगलबार फेसबुकमा लेखेका थिए।
उता, संस्थापन पक्षले भने नामावली संकलनपछि मात्रै सचिवालय बैठक बोलाउने रणनीति बनाएको अर्का एमाले नेता बताउँछन्। नामावली संकलनपछि बैठक बोलाइने र बैठकबाटै जबर्जस्ती नामावली पारित गरिने सम्भावना देखिएको उनको भनाइ छ।
३ पुसमा सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी चयन गरिए पनि हालसम्म सचिवालय बैठक बसेको छैन। १९ सदस्यीय सचिवालयमा उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव भट्टराईबाहेक सबै अध्यक्ष ओली पक्षधर छन्। एमालेमा पदाधिकारी नै सचिवालय सदस्य हुने व्यवस्था छ।
निर्वाचन आयोगले २१ फागुनमा हुने निर्वाचनका लागि १३ र १४ पुसमा समानुपातिकतर्फको सूची बुझाउने मिति तोकेको छ। प्रतिनिधिसभामा समानुपातिक निर्वाचनमार्फत ११० सांसद निर्वाचित हुन्छन्।
विघटित प्रतिनिधिसभामा समानुपातिकतर्फ एमाले पहिलो दल हो। २३ र २४ भदौको जेन-जी आन्दोलनबाट सत्ताच्युत एमालेले औपचारिक रूपमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै यसको पुनःस्थापनामा जोड दिँदै आएको छ।