सात सवाल
डिजिटल इन्फ्लुएन्सर हुँदै अभिनयमा प्रवेश गरेकी आकृति राजभण्डारी इन्स्टाग्राम, फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमा सक्रिय छिन्। टिकटकमा उनका दुई लाखभन्दा बढी फलोअर्स र युट्युबमा ३० हजारमाथि सब्सक्राइबर छन्। विभिन्न ब्रान्डका सौन्दर्य उत्पादन र ब्युटी क्याम्पेनहरूको प्रचारमा समेत सक्रिय आकृति मेकअप आर्टिस्टसमेत हुन्। सुशान्त केसीको चर्चित गीत ‘बार्दली’ मा मोडलिङ गरेकी उनले अभिनय गरेको पहिलो सिनेमा कुमारी माघ २३ मा सार्वजनिक हुँदै छ। नेपालन्युजको सात सवाल स्तम्भका लागि अभिनेत्री राजभण्डारीसँग सौन्दर्य र सामाजिक सञ्जालबारे गरिएको कुराकानी :
सानामा आमाको शृंगार सामग्री खुब चलाउनुभयो है? गाली पनि खानुभयो कि?
ममीको कस्मेटिक पसल थियो। उहाँको लिपस्टिक नै मेरो खेलौना हुन्थ्यो, पसलबाट अरू शृंगार सामग्री चोरेर पनि खुब लगाइयो। कस्मेटिक सामानहरू बिगार्दा कहिलेकाहीँ गाली पनि खाइयो।
तपाईं आफैँलाई शृंगार गरेकी आकृति मन पर्छ कि शृंगारविहीन?
म एकदमै सामान्य मेकअप गर्न रुचाउँछु। म मेकअपसहित वा मेकअपविना पनि आफूलाई राम्री महसुस गर्छु।
जाडोमा कस्तो मेकअप ठीक हुन्छ?
प्रायः छालाको प्रकारअनुसार जाडोमा मेकअप सामग्री लगाइन्छ। मेरो स्किन सुक्खा भएकाले ‘हाइड्रेटिङ’ हुने खालका सामान्य मेकअप सामग्रीहरू प्रयोग गर्छु।

सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएटरका रूपमा पनि तपाईं सक्रिय हुनुहुन्छ। नयाँ पुस्ताले डिजिटल माध्यमबाट कसरी फाइदा लिन सक्छ?
अहिले डिजिटल माध्यम एकदमै बलियो भएको समय हो। आफ्नो रुचिअनुसारका व्यावसायिक कन्टेन्ट बनाएर सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न सके यसले हरेकको करिअरमा ठूलो फाइदा पुर्याउन सक्छ।
सेलिब्रेटीको पनि मेकअप गर्नुभएको छ कि?
मैले केही सेलिब्रेटीको पनि मेकअप गर्ने मौका पाएकी छु। पछिल्लो समय चाहिँ आफ्नै फिल्म कुमारीका को-एक्टर अभिषेक खड्काको बेलाबेला मेकअप गरेकी थिएँ।
कुमारीमा आफ्नो मेकअप आफैँ गर्नुभयो?
कुमारीमा मेकअप आर्टिस्ट समरा जोशीले नै गरिदिनुभयो। मेकअप गर्ने बेला उहाँले मेरो सल्लाह पनि लिनुभयो। तर, कहिलेकाहीँ फिल्मसम्बन्धी कतिपय कार्यक्रममा आफ्नो मेकअप आफैँ गरेँ।
तपाईंको नजरमा राम्रो मेकअप र फेसन सेन्स भएका नेपाली अभिनेत्री को हुन्?
मलाई धेरै नेपाली अभिनेत्रीको फेसन र मेकअप सेन्स मन पर्छ। नीति शाह र स्वस्तिमा खड्काको फेसन र मेकअप बढी मन पर्छ।