काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

वीरगञ्जमा हैजा फैलावट बढ्दै, अस्पतालहरू बिरामीले भरिन थाले

९ भाद्र २०८२
अ+
अ-

पर्सा। वीरगञ्जमा २५४ जनामा हैजाका लक्षण देखिएपनि अहिलेसम्म ७१ जनामा मात्र संक्रमण पुष्टि भएको छ। बाँकी नमुना परीक्षणको रिपोर्ट आउन बाँकी छ।

वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहका अनुसार, अहिलेसम्म १२४ जना बिरामी डिस्चार्ज भइसकेका छन्। बढ्दो बिरामीको संख्याका कारण नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज र वीरगञ्ज हेल्थ केयरमा सामान्यभन्दा बढी बिरामी भर्ना भइरहेका छन्।

अस्पतालले चिकित्सक र कर्मचारीहरुलाई बिदा नगर्न निर्देशन दिएको छ भने बिदामा रहेका चिकित्सकलाई पनि तुरुन्त उपस्थित हुन भनेको छ। हैजाको फैलावट रोक्न स्थानीय तहदेखि केन्द्र सरकारसम्म सक्रिय समन्वय भइरहेको छ।

महानगरपालिकाले जनचेतना फैलाउन स्वास्थ्यकर्मी सहितको १३० जनाको टोली गाउँ–टोलमा परिचालन गरेको छ। टोलीले सरसफाइ अभियान, खाद्य निरीक्षण र पानी तथा खाद्य पदार्थको स्वच्छता परीक्षणमा काम गरिरहेको छ।

महानगरपालिकाले सोमबार र मंगलबारका लागि विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले पठाएको स्वास्थ्यकर्मी टोलीले प्रभावित क्षेत्रको अनुगमन सुरु गरेको छ। प्रभावित क्षेत्रबाट संकलन गरिएको पानीका नमुना काठमाडौं पठाइएका छन्, तर अहिलेसम्म रिपोर्ट प्राप्त भएको छैन।