काठमाडौं। लेग स्पिनर सन्दीप लामिछानेको ५ विकेटसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)विरुद्धको अभ्यास खेलमा जित हात पारेको छ। मंगलबार सम्पन्न पहिलो टी–२० अभ्यास खेलमा नेपालले ४१ रनको जितसहित सुखद् सुरुआत गरेको हो। नेपालले मंगलबार नै एसीटीसँग दोस्रो खेल खेल्नेछ।
नेपालले प्रस्तुत गरेको १७८ रनको योगफल पछ्याएको एसीटी १७.२ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो। एसीटीका तीन ब्याटरबाहेक अन्यले दोहोरो राम्रो प्रदर्शन गर्न सकेनन्।
एसीटीका ज्याक स्मिथले सर्वाधिक ५० रन बनाए। उनले ३३ बल खेली पाँच चौका र दुई छक्का प्रहार गरे। काइ ब्रुन्करले ११ बलमा एक चौका र तीन छक्कासहित २७ रनको अविजित इनिङ्सको योगदान दिए। ज्याक केघ २५ रनमा पेभिलियन फर्किएका थिए।
एसीटीलाई अलआउट गर्न सन्दीपले सर्वाधिक ५ विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए। तीव्र गतिका बलर करण केसीले दुई विकेट लिँदा रुपेश सिंह, गुल्सनकुमार झा र कुशल भुर्तेलको नाममा एक/एक विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतीमा १७७ रनको योगफल तयार गरेको थियो।
नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ३८ बल खेली चार चौका र पाँच छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेलले २८ बल खेली दुई चौका र एक छक्कासहित ३६ रनको योगदान दिए।
आरिफ शेख २४ र उपकप्तान दीपेन्द्रसिंह ऐरी २१ रनमा आउट भए। एसीटीका ब्रुन्करले दुई विकेट लिए।