इम्बोस्ड नम्बर प्लेट दर्ता
यस्तो छ इम्बोस्ड नम्बर प्लेट लिने लम्बेतान प्रक्रिया
काठमाडौं। सरकारले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान थालेको छ। तर, इम्बोस्ड नम्बर प्लेट लिन सजिलो भने छैन। तोकिएका लम्बेतान प्रक्रिया पूरा गर्दा खेप्नुपर्ने हैरानी बेहिसाब छन्।
बागमती प्रदेशको इम्बोस्ड नम्बर प्लेट लिन गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय जानुपर्छ। जहाँ सेवाग्राहीले बेहोर्ने हैरानी भनिसाध्य छैन।
इम्बोस्ड नम्बर प्लेट लिन सुरुमा अनलाइन फर्म भर्नुपर्छ। त्यसपछि बैंकमा गएर राजस्व बुझाउनुपर्छ। सेवाग्राहीले ‘अनलाइनबाट राजस्व बुझाउँछु’ भन्दा पाउँदैनन्। बैंकको लामो लाइनको हैरानी खेप्नैपर्छ। जसका लागि एकदेखि डेढ घण्टा लाग्छ।
बैंकमा पैसा तिरेको भौचर लिएपछि अर्को झ्यालमा गएर बिल लिनु र छाप लगाउनुपर्छ। त्यसपछि, यातायात व्यवस्था कार्यालयमा गएर कर्मचारीलाई आफ्नो सवारी साधनको ढड्डा खोज्न लगाउनुपर्छ। अनि बल्ल ५ नम्बर र ७ नम्बर कोठामा आफ्नो फाइल लगेर तोकिएको अधिकृतबाट हस्ताक्षर गराउनुपर्छ।

सवारी साधनको ढड्डा खोज्ने कोठा । तस्बिर- बिक्रम राई/नेपालन्युज।
दुवै कोठामा पालो नपर्खी हुन्न। फाइलमा सम्बन्धित अधिकारीले हस्ताक्षर गरेपछि अब पालो आउँछ ‘इम्बोस्ड नम्बर प्लेट दर्ता’ भनेर बोर्ड राखिएको टहरोमा लाइन बस्ने। मुख्य कार्यालय र यो टहरोबीचको दूरी करिब पाँच सय मिटर छ।
त्यहाँ तोकिएको अधिकारीसमक्ष कागजपत्र प्रमाणित गराउनुपर्छ। र, त्यसपछि समय हुन्छ बायोमेट्रिक्सको पालो पर्खने। त्यसका लागि बैंक भएकै भवनमा जानुपर्छ।

कागजपत्र प्रमाणित गराउन पालो कुर्दै सेवाग्राही । तस्बिर- बिक्रम राई/नेपालन्युज ।
त्यहाँ बायोमेट्रिक्सको लागि डिजिटल हस्ताक्षर, औंठा छाप लिने र फोटो खिच्ने काम हुन्छ। यसका लागि कम्तीमा ३० मिनेट लाग्छ।
यति प्रक्रिया पूरा गरेपछि बल्ल इम्बोस्ड नम्बर प्लेट हात पर्छ।
नम्बर प्लेट पाएर मात्रै काम सकिँदैन। अब यसको अभिलेख र प्रमाणीकरण गराउनुपर्छ। त्यसका लागि फेरि पहिलेकै टहरोमा सवारी साधनसहित पुग्नुपर्छ। त्यहाँ पनि पालो कुर्नुपर्छ। सेवाग्राहीले प्रमाणीकरण गराउने कर्मचारीलाई तानातान गरिरहेका हुन्छन्।
सवारी साधनसहित इम्बोस्ड नम्बर र सवारीधनी देखिने गरी डिजिटल प्रणालीमा राख्न ती कर्मचारीले फोटो खिच्छन्। यति गरेपछि मात्र एक जना सेवाग्राहीले इम्बोस्ड नम्बर प्लेट लिने प्रक्रिया पूरा हुन्छ।
यो प्रक्रिया पूरा गर्दासम्म सेवाग्राहीले कम्तीमा पनि पाँच घण्टा बिताएको हुन्छ र लखतरान भएर फर्कन्छ।