काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ भाद्र २०८२
अ+
अ-

काठमाडौं। थाइल्यान्डको संवैधानिक अदालतले निलम्बित प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई अपदस्थ गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोन वार्ता ‘लिक’ भएपछि नैतिक मापदण्डको उल्लंघन भएको भन्दै अदालतले उनलाई अपदस्थ गरेको हो।

‘शिनावात्राका कदमहरूले राष्ट्रको गौरव जोगाउन नसकेको र देशको भन्दा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेकाले नैतिक मापदण्डहरूको गम्भीर उल्लंघन भएको’ अदालतले आफ्नो फैसलामा भनेको छ।

लिक भएको फोन वार्तामा शिनावात्राले कम्बोडियाली नेता सेनलाई ‘काका’ सम्बोधन गरेकी छन् भने थाई सेनाको आलोचना गरेकी छन्। यद्यपि, यो घटना सार्वजनिक भएपछि शिनावात्राले उक्त कदम बढ्दो सीमा विवाद साम्य पार्ने रणनीति भएको बताएकी थिइन्।

बीबीसीका अनुसार शिनावात्रा सन् २००८ यता अदालतबाट अपदस्थ हुने पाँचौं थाई प्रधानमन्त्री हुन्। दशकौंदेखि थाई राजनीतिमा शिनावात्रा परिवारको दबदबा रहँदै आएको थियो। पेटोङटार्नका बुबा थाक्सिनलाई सन् २००६ मा सैन्य कू गरी अपदस्थ गरिएको थियो भने काकी यिङलकलाई पनि संवैधानिक अदालतले नै सन् २०१४ मा अपदस्थ गरेको थियो।