काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

व्यक्तिवृत्त

बझाङबाट भारत हुँदै राष्ट्रिय टोलीमा जम्न तयार मनीषा

१४ भाद्र २०८२
तस्बिरहरु- मनिषाको फेसबुकबाट।
अ+
अ-

काठमाडौं। त्यस रात उनलाई निद्रा परेन। ओछ्यानमा पल्टिनेबित्तिकै मस्तिष्कले मैदानको फन्को मार्‍यो। दर्शकले खचाखच मैदानमा स्टार खेलाडीको विकेट लिएको क्षण उनको आँखैअगाडि नाच्न थाल्यो। त्यतिबेला उनी विदेशिने तरखरमा थिइन्।

क्रिकेटमा आफ्नो कुनै भविष्य नदेखेपछि उनीमाथि दबाब बढ्दै गइरहेको थियो। तर, बिहान ललितपुर क्रिकेट संघका मुख्य प्रशिक्षक सुधीर शाक्यले अचानक फोन गरेर उनलाई खेल्ने निम्तो दिए। यसपछि सुरु भयो, उनको अन्तर्राष्ट्रिय खेल यात्राको कथा।

मनीषा उपाध्याय, नेपाली महिला क्रिकेट टिमकी उदीयमान लेफ्ट–आर्म स्पिनर। गत जेठ युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा सम्पन्न टी–२० ग्लोबल छनोटमा उनको उत्कृष्ट प्रदर्शनका कारण नेपाली महिला क्रिकेट टोली इतिहास रच्न सफल भयो। यसपालि ग्लोबल छनोटमा प्रवेश गर्ने नेपालको सपना मात्र थिएन, लक्ष्य पनि थियो। त्यो सपना र लक्ष्य पूरा भएपछि उनले भनिन्, “विगत सोच्दा सबै फिल्मको रिल घुमेजस्तै भइरहेको छ।”

बझाङदेखि काठमाडौंसम्मको यात्रा
मनीषाको जन्म बझाङको जयपृथ्वी नगरपालिकामा भएको हो। आमा धनाले १४ वर्षको उमेरमा बिहे गरिन्। धनाबाट ३ छोरा र ३ छोरीको जन्म भयो। मनीषा त्यसमध्ये पाँचौं सन्तान हुन्।

ठूलो परिवार र न्यून आय भएका कारण आमालाई घर व्यवहार धान्न हम्मे–हम्मे पर्‍यो। बुवा पहिलेदेखि नै भारतमा बसेर मजदुरी गरिरहेका थिए। त्यसैले धना छोराछोरीको शिक्षादीक्षाका लागि २०६६ सालमा घर छोडेर दिल्ली पुगिन्। ठूलो परिवार भएका कारण आमालाई त्यहाँ पनि भरथेग गर्न गाह्रो पर्‍यो। उनले २०७२ सालमा अध्ययनका लागि मनीषालाई धनगढीमा रहेको दिदी–भिनाजुको घर पठाइन्। भिनाजु आफ्ना केटाकेटीले किताबी ज्ञान मात्र होइन, बाहिरी ज्ञान पनि राखून् भन्ने मान्यता राख्थे। उनले ६ कक्षामा पढ्दै गरेकी मनीषालाई पहिलो पल्ट ब्याडमिन्टनको ‘र्‍याकेट’ किनेर ल्याइदिए।

तस्बिर- मनीषाको फेसबुकबाट।

मनीषा ब्याडमिन्टनमा मात्र होइन, दौडमा पनि अब्बल थिइन्। एकदिन बहिनीले आफ्नो स्कुलमा भइरहेको क्रिकेटको प्रगतिबारे कुरा सुनाइन्। बहिनीको स्कुले क्रिकेट टोली भारतको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता खेलेर भर्खरै फर्किएको थियो। त्यो टोलीमा बहिनीकी मिल्ने साथी कविता कुँवर पनि संलग्न थिइन्। टोली तेस्रो भएको रहेछ। बहिनीले भनिन्, “क्रिकेट खेल्नू दिदी। क्रिकेट खेल्यो भने गाडी र ठूलाठूला प्लेन चढेर विदेश जान पाइन्छ।”

मनीषा त्यतिबेला १४ वर्षकी मात्रै थिइन्। बहिनीको यो कुरा सुनेपछि उनको मनमा लोभ पलायो। एक दिन ब्याडमिन्टन खेल्दै गर्दा कवितालाई भेटिन्। उनले यति नै बेला कवितासमक्ष क्रिकेट खेल्ने इच्छा व्यक्त गरिन्। कविता नै हो, जसले मनीषालाई पहिलो पल्ट धनगढीस्थित कभर्ड हलमा रहेको क्रिकेट एकेडेमीसम्म पुर्‍याएको। त्यहाँ रुबी पोद्दार, लक्ष्मी साउद, सुमन विष्ट, यशोदा विष्टलगायत अन्य खेलाडी पनि खेल्दै आइरहेका थिए। मनीषालाई न राम्रोसँग नेपाली बोल्न आउँथ्यो, न त ब्याटिङ–बलिङ नै। उनी पहिलो दिनको घटना सम्झँदै हाँस्छिन्, “प्रशिक्षकले सोध्नुभयो– के गर्छ्यौ नानी?”

त्यतिबेला अत्तालिएर जवाफ दिएको बताउँदै उनी भन्छिन्, “मैले फास्ट बलिङ गर्छु भनिदिएँ।” बलिङ गर्ने शैलीको त कुरै छोडौं। क्रिकेट बल कस्तो हुन्छ, त्यो पनि राम्रोसँग थाहा थिएन। उनले ढुंगा फ्याँके जसरी ‘थ्रो बल’ फ्याँकिन्। यसपछि प्रशिक्षक ज्ञानुले पहिलो पल्ट उनलाई हात घुमाएर बलिङ गर्न सिकाए। झन्डै १५ दिनको कडा अभ्यासपछि उनी सामान्य बलिङ गर्ने भइन्।

“सट टाइम मेमोरी लस भएजस्तो भयो। एक्कासि सन् २०२२ मा पुगेँ, कृतिका (मरासिनी) को कप्तानी सम्झिएँ। मलाई लाग्यो म त्यही वर्षको खेल खेल्दैछु,”

त्यसको ७ महिनापछि सुदूरपश्चिमले प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता खेल्ने निधो गर्‍यो। मनीषाले छोटो अवधिमै टोलीमा स्थान बनाइन्। सुदूरपश्चिम प्रधानमन्त्री कपको उपविजेता बन्यो।

भारतीय सीमा जोडिएको सुदूरपश्चिममा क्रिकेट टिममा स्थान बनाउन धेरै गाह्रो पर्छ। मनीषाका लागि पनि त्यस्तै भयो। त्यसैले दुई वर्षपछि उनी र स्नेहा महरा ‘ट्रायल’ का लागि गण्डकी आएको तत्कालीन प्रशिक्षक रिजन प्रजु सम्झिन्छन्, “सानो हाइट, कम उमेर। मिडियम पेस बल फ्याँक्ने। बलमा त्यति धार थिएन। उमेर समूहमा लेफ्टआर्म स्पिनरको कमी खड्किएको थियो। त्यसैले मैले उनलाई स्पिनरमा ढालेँ। यसमा अब्बल भएर निस्किइन्।”

अनुभवविहीन खेलाडी बटुलेको गण्डकी २०७८ सालमा प्रधानमन्त्री कपको समूह चरणमा जितविहीन रहँदै बाहिरियो। मनीषाले ३ वटा इनिङ्समा ८.१ ओभर बलिङ गर्दै २० को औसत र ४.८९ को इकोनोमी रेटले ३ विकेट लिइन्। गण्डकी प्रदेशबाट उनी सर्वाधिक विकेट लिने खेलाडीमा दरिइन्। पछि उनले गण्डकीकै यू–१९ टोली हुँदै आईसीसी यू–१९ महिला विश्वकप छनोट खेल्ने राष्ट्रिय टोलीको ढोका ढकढकाइन्। प्रजुको प्रशिक्षणमा २०७९ सालमा मलेसिया पुगेकी मनीषाले कतार र यूएईसँग भने खेल्न पाइनन्।

भुटानसँगको खेलमार्फत डेब्यु गरेकी उनले ३ इनिङ्समा १२ ओभर बलिङ गर्दै ५.२० को औसत र २.१६ को इकोनोमी रेटमा ५ विकेट लिइन्। यतिबेला उनले आफ्नो खेलमा धेरै सुधार गरिसकेकी थिइन्। त्यही प्रदर्शनका आधारमा उनलाई सिनियर टोलीको बन्द प्रशिक्षणमा मौका प्राप्त भयो। तर, ‘एपेन्डिसाइटिस’ ले गर्दा २०८० सालमा आयोजना भएको एसीसी महिला टी–२० च्याम्पियनसिप खेल्ने मौका गुमाउनु पर्‍यो।

यसपछि उनलाई गण्डकीमा अडिरहन मन लागेन। एक त कमजोर टोली, अर्कोतर्फ असुरक्षित भविष्य। गण्डकी प्रदेशले आफ्ना खेलाडीलाई तलब–सुविधा पनि दिन नसकिरहेको बेला। गण्डकी प्रदेशमै आयोजना भएको नवौं बृहत् राष्ट्रिय खेलकुदमा उनले विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध भएर पुलिसमा जागिर खाने प्रयास गरेकी थिइन्। तर, यहाँ पनि जुरेन। “सबै ठिक भइरहेको थियो। जागिर पाइन्छ, घर चलाउन सजिलो हुन्छ भनेर पुलिसमा जान्छु भनेकी थिइन्। त्यसैले रोक्न सकिएन। उता पनि भएन। अनि बागमती प्रदेशबाट खेल्न थालिन्,” प्रजु भन्छन्।

काम पनि, खेल पनि
सानो उमेरदेखि संघर्ष र दुःख बुझेकी मनीषालाई विभागमा जागिर भए पढाइसँगै घर–परिवारलाई आर्थिक भरथेग गर्न सकिन्छ भन्ने लागेको थियो। तर, २०७९ सालमा पुलिस क्लबमा एक वर्ष मात्र महिला टिम बन्यो। त्यसयता कुनै टिम बनेन। गण्डकीबाट ‘रिलिज लेटर’ लिइसकेकी मनीषालाई पुनः फर्किन गाह्रो पर्‍यो। यतिबेला उनलाई लागेको रहेछ, सुरु नै नभएको क्रिकेट करिअर धरापमा पर्ने त होइन?

गण्डकीको बाटो थुनिएपछि उनी आफ्नो पुरानै ठाउँ सुदूरपश्चिम फर्किने विचारमा थिइन्। तर, त्यति नै बेला आशाको किरण बनेर आइपुगिन्, अलराउन्डर यशु पाण्डे। २०८१ सालमा प्रधानमन्त्री कपका लागि बागमतीले राम्रो टिम बनाउने अभियान थालेको थियो। यही बेला मनीषा पहिलो पल्ट ललितपुरका मुख्य प्रशिक्षक सुधीर श्रेष्ठको सम्पर्कमा पुगिन्। घरेलु क्रिकेटमा सुधीर परिपक्व प्रशिक्षक मानिन्छन्। उनी सीता रानामगरको बलिङ प्रशिक्षक पनि हुन्। सीताले पहिलेदेखि सुधीरसँग भेटेर बलिङमा धार लगाउन मनीषालाई सल्लाह दिइरहेकी थिइन्। पहिलो पल्ट सुधीरलाई भेट्दा मनीषालाई अभिभावक भेटेझैं लाग्यो। उनले भेटमा गण्डकीले आफूलाई फर्किन नदिएकोदेखि पुलिसमा जागिर खान नपाएको– सबै कथा सुनाउन भ्याइन्। यतिबेला सुधीरले ढाड्स दिँदै भने, “राम्रो प्रदर्शन गर र सबैलाई जवाफ देऊ।”

सुधीरको मनकारी भावनाबाट हौसिएकी मनीषालाई फेरि झल्याँस्स याद आयो, धनगढीबाट काठमाडौं आएर खेल्न त्यति सहज छैन। उनले आफ्नो कमजोर आर्थिक अवस्था पनि सुनाइन्। उनको समस्या निराकरण गर्न सुधीरले तुरुन्तै बागमती प्रदेश क्रिकेट संघका सचिव प्रशन्न शाक्यलाई फोन गरे। शाक्यको हात्तीवनमा जर्सी प्रिन्ट गर्ने पसल छ। सुधीरले त्यहीँ जागिर लगाइदिन आग्रह गरे। शाक्यले पनि नाइनास्ति गरेनन्। यसपछि मनीषालाई काठमाडौंमा अडिने वातावरण तयार भयो। त्यो घटना सम्झिँदा सुधीर भन्छन्, “क्षमतावान् खेलाडी हो। सानो कुराले करिअर बन्छ भने किन नगर्दिनुजस्तो लाग्यो।”

नेपालले समूह चरणमा २ खेल खेल्यो। दुवै खेलमा विजयी भयो। एक खेल वर्षाले प्रभावित पार्दा नेपाल समूह उपविजेता बनेर सुपर ३ मा पुग्यो। मनीषाले यी खेलमा स्थान बनाउन सकिनन्। तर, यूएईविरुद्ध जित्नैपर्ने खेलमा भने मुख्य प्रशिक्षक मनोज कटुवालले उनलाई खेलाउने निर्णय गरे। त्यो सही साबित भयो।

मनीषाले डेब्यु गरेको वर्ष बागमती चौथो भयो। उत्कृष्ट प्रदर्शन गर्न नसके पनि उनले ७ इनिङ्समा २२ ओभर बलिङ गर्दै १२९ रन खर्चिएर ५ विकेट लिइन्। लगत्तै उनले मायादेवी गर्ल्स यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई च्याम्पियन बनाउन ६ विकेट लिइन्। यो प्रदर्शनसँगै उनको यू–१९ राष्ट्रिय टिममा पुग्ने ढोका खुला भयो।

विदेशिने सोच
निर्णय लिन धेरै ठूलो कुरा सोचिरहनु पर्दैन। कहिलेकाहीँ सानो घटनाले नै जीवनको दिशा मोडिदिन्छ। निर्णय सही भयो भने सफलताको ढोका खुल्छ, नत्र अनुभवको पाठ बन्छ। ठीक त्यसैगरी, मनीषा पनि यस्तै मोडमा उभिएकी थिइन्। जहाँ न अघि बढ्ने आँट थियो, न पछाडि फर्किनसक्ने विकल्प।

मलेसियामा सम्पन्न यू–१९ महिला एसिया कप छनोटअन्तर्गत यूएईविरुद्ध उत्रिँदै गर्दा अघिल्ला दुई खेलमा सानदार प्रदर्शन गरेको नेपाललाई जित्नुपर्ने दबाब थियो। त्यही दबाबका बीच बांगीस्थित यूकेएम–यूएसडी क्रिकेट ओभल मैदानमा उत्रिएकी मनीषालाई कप्तान पूजा महतोले ‘स्क्वायर लेग’ मा खटाइन्। तर, ‘थर्ड म्यान’ तर्फ आइरहेको बल रोक्न जाँदा चिप्लिएकी मनीषाको टाउकोमा नराम्ररी बल बजारिन पुग्यो। केही मिनेट त उनी अर्धचेत जस्तै भइन्।

“सर्ट टाइम मेमोरी लस भएजस्तो भयो। एक्कासि सन् २०२२ मा पुगेँ, कृतिका (मरासिनी) को कप्तानी सम्झिएँ। मलाई लाग्यो म त्यही वर्षको खेल खेल्दैछु,” उनी भन्छिन्। त्यो कुनै सम्झिरहनपर्ने खेल थिएन। जति बिर्सियो त्यति जाति हुन्थ्यो। किनभने २१ जेठ २०७९ मा मलेसियाको बांगीमा कृतिकाको कप्तानीमा यसरी नै विश्वकप छनोट खेल्न उत्रिएको नेपाली टोली यूएईसँग ८ रनमै ‘अलआउट’ भएको थियो।

खेलमै रहँदा यति गम्भीर दुर्घटना भएपछि उनमा न ब्याट समात्ने जोश बाँकी रह्यो, न त बलिङ गर्ने आत्मविश्वास नै। चोटले उनको दिमाग मात्र हल्लाएन, झन्डै जीवनको दिशा नै परिवर्तन गरायो। उनले थाइल्यान्ड, कुवेत र यूएईसँगको खेल गुमाइन्। उनको अनुपस्थितिमा पनि नेपाल यी सबै खेल जित्दै समूहको शीर्ष स्थानमा रहेर आईसीसी यू–१९ महिला विश्वकप र एसिया कपमा प्रवेश गर्‍यो।

महिला क्रिकेटका लागि यो ऐतिहासिक क्षण हो। कुनै पनि उमेर समूहमा महिला क्रिकेट टोली विश्वकपमा पुगेको यो नै पहिलो अवसर थियो। छोटो समयमै ठूलो फड्को मारेकी मनीषा पनि विश्वकप खेल्न पाउनेमा आशावादी थिइन्। तर, अचानक उनी एसिया कप र विश्वकप खेल्ने टोलीमा अटाउन सकिनन्। यसपछि उनको मनमा थुप्रै प्रश्न उब्जिए।

क्रिकेट खेल्ने कि नखेल्ने भन्ने अनगिन्ती प्रश्नका बीच उनको मनले भन्यो, अहँ, अब नखेल्ने। विदेशिने। तर, मनले त्यो भने पनि मस्तिष्कमा क्रिकेटको भूत सवार भइसकेको थियो। राति जब उनी सुत्नका लागि कोल्टे फेर्थिन, क्रिकेटको सम्झनाले निद्रा भंग हुन्थ्यो। उनलाई ८ घण्टाको सुत्ने समय, ७२ घण्टाजस्तो लाग्न थाल्यो। एक दिन आफ्ना गुरु सुधीरलाई यी सबै कुरा बताइन्। तर संयोग नै मान्नुपर्छ, त्यतिबेला ललितपुरकी नियमित कप्तान सोनी पाख्रिनलगायत केही खेलाडी एसिया कप खेल्न देशबाहिर गएका थिए। प्रधानमन्त्री कपअन्तर्गत बागमती प्रदेश छनोट खेल्न ललितपुरलाई टिम पुर्‍याउन गाह्रो परिरहेको थियो। सुधीरले सम्झाए। यतिमात्र होइन, मनीषालाई कप्तानीको जिम्मेवारी सुम्पिने आश्वासन दिए।

चञ्चले मनीषा फुरुङ्ग भइन्। आफ्नो निर्णय सच्याइन्। राम्रो भए ठिकै छ, नभए परदेशको सपना छँदै थियो। समयले फेरि कोल्टे फेर्‍यो। उनी ललितपुरको कप्तान बनिन्। कप्तानीसँगै हराएको आत्मविश्वास पनि फर्किन थाल्यो। उनको कप्तानीले ताली मात्र होइन, आलोचना पनि निम्त्यायो।

टिमकै एक सदस्यले उनलाई होच्याउन सबैका अगाडि भनिन्, “तिमी त ड्रप हुनु पर्ने प्लेयर हो।” त्यो सुनेपछि उनको मन भारी भयो। मनीषाको व्यथा सुन्ने साथी थिए, तिनै सुधीर। सम्झाउँदै भने, “तिमीले यो सोच्ने बेला होइन, जवाफ खेलले देऊ।”

सुधीरको प्रेरित गर्ने त्यो वाक्यले मनीषाको बाटो फेरियो। उनले विकेट लिन थालिन्, प्रदर्शन अब्बल भयो। आफूलाई असक्षम भन्नेलाई गतिलो जवाफ दिँदै छनोट खेलमा १० विकेट लिइन्। सर्वाधिक विकेटकर्ता बनिन्। अघिल्लो वर्ष उनले जम्मा ५ विकेट मात्र लिएकी थिइन्। उत्कृष्ट प्रदर्शनका कारण उनको छनोट बागमती प्रदेशको सिनियर टोलीमा भयो।

जुनबेला राष्ट्रिय टोलीको नाम सार्वजनिक भएको थियो, त्यतिबेला मनीषालाई थाहा पनि थिएन। सुधीरले नै कल गरेर घरेलु मैदानमा आयोजना हुने थाइल्यान्ड, नेदरल्यान्ड्स र नेपालसम्मिलित त्रिकोणात्मक टी–२० शृंखला खेल्ने टोलीमा छनोट भएको खबर सुनाए। खुसीको सीमा रहेन। आमा धनालाई कल गरेर सुनाइन्। तर, छोरीलाई यहाँसम्म पुर्‍याउन गरेको संघर्ष र दबाबमा थिचिएकी धनाले यतिमात्र भन्न भ्याइन्, “ए होर! राम्रोसँग खेल्नू।”

मनीषालाई भने सिनियर खेलाडीसँगै प्लेइङ–११ मा स्थान बनाउन संघर्ष गर्नुपर्ने थियो। भाग्य नै भनौं, मनोज कटुवालले उनलाई नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमै ‘डेब्यु क्याप’ थमाइदिए।

टोलीमा कविता कुँवर, पूजा महतो, रुविना क्षेत्री, ईश्वरी विष्ट, इन्दु बर्मा, कविता जोशी र सीता रानामगरजस्ता खारिएका बलर हुँदा मौका पाउन सकिनन्। तर, निराश भइनन्।

तस्बिर- मनीषाको फेसबुकबाट।

थाइल्यान्डविरुद्धको दोस्रो खेलमा भने उनलाई कप्तान इन्दुले बल थमाइन्। ब्याटिङमा अविजित एक रन जोडेकी मनीषाले थाइल्यान्डकी कप्तान नारुमोल चाइवाई र फन्निता मायाको विकेट लिएर सनसनी मच्चाइन्। तर, खेल जिताउन सकिनन्। सिरिजमा नेपाल जितविहीन रहे पनि मनीषाले धेरै राम्रो प्रदर्शन गरिन्। ५ इनिङ्स बलिङ गरेकी उनले १७ ओभरमा ९७ रन खर्चिइँदै ७ विकेट लिइन्। सिरिजमा यो कुनै पनि नेपाली बलरले लिएको सर्वाधिक विकेट थियो। यसपछि राष्ट्रिय टोलीमा उनलाई रोक्ने कोही निस्किएनन्। उनले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट खेल्ने टोलीमा स्थान बनाइन्। “यो सबै भइरहँदा मलाई सपनाजस्तो लागिरहेको थियो,” उनी सुनाउँछिन्।

नेपालले समूह चरणमा २ खेल खेल्यो। दुवै खेलमा विजयी भयो। एक खेल वर्षाले प्रभावित पार्दा नेपाल समूह उपविजेता बनेर सुपर ३ मा पुग्यो। मनीषाले यी खेलमा स्थान बनाउन सकिनन्। तर, यूएईविरुद्ध जित्नैपर्ने खेलमा भने मुख्य प्रशिक्षक मनोज कटुवालले उनलाई खेलाउने निर्णय गरे। त्यो सही साबित भयो।

उनले अघिल्ला खेलमा खतरा बनिरहेकी यूएईकी कप्तान ईशा ओजाको विकेट लिइन्। ईशाले ३९ बलमा ३९ रन बनाएकी थिइन्। यसपछि लावण्या केनी, हिना होटचाँदनी र मिसेल बोथाको थप विकेट लिइन्। योसँगै यूएई निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनमा रोकियो। ११५ रनको लक्ष्य बोकेको नेपालले अन्तिम ३ बल बाँकी रहँदा ५ विकेट गुमाएर जित निकाल्यो। जितसँगै नेपाल एक खेलअगावै ग्लोबल क्वालिफायरमा प्रवेश गर्‍यो। अविजित रहँदै ३० रन प्रहार गरेकी कप्तान इन्दुको आँखाबाट आँसु थामिएन। उता सन् २००७ देखि नै टोलीमा रहेकी रुविना क्षेत्री पनि सम्हालिन सकिनन्। तर, किन हो मनीषाको आँखा स्थिर मात्र भइरह्यो। उनी सम्झिन्छिन्, “म यति छिटो दौडिएर इन्दु दिदी भएको ठाउँमा पुगेकी थिएँ। दिदी रोइरहनु भएको थियो। दिदी नरुनु न हामी पुग्यौं त भनेर पनि सम्झाएँ। सबै रुन लाग्नुभयो ।”

इन्दु उक्त खेलको ‘प्लेअर अफ द म्याच’ घोषित भएकी थिइन्। तर, उनले उक्त अवार्डको हकदार मनीषा भएको भन्दै उनलाई थमाइन्। अर्को खेलमा मनीषाले थाइल्यान्डविरुद्ध एक विकेट हात पारिन्।

नेपालले यही वर्ष विश्वकप ग्लोबल क्लालिफायरअन्तर्गत छिमेकी बंगलादेशमा टेस्ट खेल्ने राष्ट्र बंगलादेश र स्कटल्यान्डसँगै यूएई, थाइल्यान्डजस्ता १० टिमसँग प्रतिस्पर्धा गर्नेछ। त्यसमा जित निकाल्न सोचेजस्तो सहज छैन। तर, जुन हिसाबले मनीषा खेलिरहेकी छिन्, उनले टिमका अन्य सदस्यबाट राम्रो साथ र सहयोग पाउने हो भने अप्रत्यासित नतिजा असम्भव छैन।

गुड लक मनीषा!