व्यक्तिवृत्त
देवनारायण चौधरीको ‘लिगेसी’ पछ्याउँदै नेपाली फुटबलमा अर्का थारू फुटबलर स्थापित हुने तयारीमा
फुटबल जुत्ताबाट सुरु हुँदैन। यो सुरु हुन्छ, बलको पछाडि दौड्ने कलाबाट। यसरी दौड्दा यदि कसैले नाङ्गा खुट्टामा पनि रगत बगाउन सक्छ भने बल्ल उसको सपनाको बाटो तय हुन्छ।
नेपाली फुटबलमा यस्तो संघर्ष सँगालेका थुप्रै हुन सक्छन् तर यहाँ दुई पात्रको चर्चा गर्न लागिएको छ। एक जना आदरणीय बनिसकेका छन्। अर्का भने युवा पुस्तामाझ चम्किरहेको नाम हो। थुप्रै असमानताबीच पनि यी दुवैमा एउटा समानता छ- दुवैको फुटबल यात्रा खाली खुट्टाबाटै सुरु भएको हो।
देवनारायण चौधरी २०६० को दशकका ख्यातिप्राप्त खेलाडी। मोरङको तत्कालीन सिद्राहा गाविसमा जन्मिएका उनी त्यतिबेलाका फुटबल उन्मादका साक्षी हुन्। उनीसँग जुत्ता किन्न सक्ने हैसियत पनि थिएन। धान काटेपछि बाँकी रहेको परालको ठुटे मैदानमा खाली खुट्टा फुटबल खेल्थे। यसले उनमा बलको उचाइ हेरेर हेड गर्ने सीप विकास भयो। कालान्तरमा फुटबल उनका लागि खेल मात्र रहेन, जीवन चलाउने माध्यम पनि बन्यो। सपना पछ्याउँदै उनले राष्ट्रिय टोलीसम्मको यात्रा तय गरे।
“गोल पोस्ट हेर्नुभन्दा पहिले ऊ बलको उचाइ नाप्थ्यो,” राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक धनबहादुर बस्नेत देवनारायणको खेललाई स्मरण गर्दै भन्छन्, “टाउकोले उसलाई जति आत्मविश्वास दिन्थ्यो, सायदै खुट्टाले।”
देवनारायण थारू समुदायका राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने पहिलो खेलाडी बने। उनले फुटबलबाट संन्यास लिएको २२ वर्ष बितिसकेको छ। यस अवधिमा छुन्निराम चौधरी, जनकसिंह थारू, भरत खवास, विकास खवास, आदित्य चौधरी र आशिष चौधरीजस्ता प्रतिभा नजन्मिएका होइनन्। तर, भरतबाहेक अन्य खेलाडी लामो समय टिक्न सकेनन्।
उनी पहिले गोलकिपर बन्न चाहन्थे। त्यसैले राष्ट्रिय टोलीका गोलकिपर–कप्तान किरण चेम्जोङलाई पछ्याए।
अहिले बर्दियामा थारू समुदायका अर्का फुटबलर जन्मिएका छन्, फागुराम थारू। जो देवनारायणझैं खाली खुट्टा खेलेर राष्ट्रिय टोलीमा स्थापित हुने तरखरमा छन्।
देवनारायण सधैं भन्ने गर्थे, “खेलाडी बन्नका लागि यो छैन, त्यो छैन भनेर बहाना बनाउनु हुँदैन। ईख पाल्नुपर्छ।”
फागुराम यही इख पाल्ने खेलाडीमा पर्छन्। सुरुमा उनी न पास बुझ्थे, न पोजिसन। बल पछाडि बेलगाम दौड्ने क्षमताले उनलाई बर्दियाको बारबर्दिया नगरपालिका–२ जोगीगाउँबाट काठमाडौंसम्म ल्यायो। गत जेठमा प्लानिङ ब्वाइज युनाइटेड क्लबलाई ‘बी’ डिभिजनबाट ‘ए’ मा उकाल्न फागुराम एक्लैले १५ गोल गरे। उनी ‘बी’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता पनि हुन्।
कहर काठमाडौं, रहर काठमाडौं
फागुरामका दाजु चेतनकुमार जोगीगाउँको खोलाकिनार तातो बालुवामा दौडिँदै फुटबल खेलाडी बने। मोफसलका स–साना प्रतियोगितामा प्रतिनिधित्व गर्दै जावलाखेल, मनाङ मर्स्याङ्दी, च्यासल हुँदै नेपाल सुपर लिगका बुटबल लुम्बिनी एफसी र पोखरा थन्डर्ससम्म आइपुग्न एक दशक लगाए। तर, फागुरामले लामो समय कुर्नु परेन। उनी पहिले गोलकिपर बन्न चाहन्थे। त्यसैले राष्ट्रिय टोलीका गोलकिपर–कप्तान किरण चेम्जोङलाई पछ्याए।
“केटाहरूले गोल नै नहान्ने। लास्टै चित्त दुख्थ्यो। त्यसैले अगाडि गएर गोल हान्ने र फेरि किपरकै भूमिकामा फर्किने गर्थें,” गाउँका दिन सम्झँदै उनी भन्छन्। यो क्रम लामै समयसम्म चल्यो। ‘थ्रु बल’मा गोल हान्ने कला भएका उनी २०७५ सालदेखि मात्र ठूला प्रतियोगितामा ‘फ्रन्ट लाइन’मा देखिन थाले। मौका जुराएको थियो, आफ्नै सुदूरपश्चिम–११ टिमले। २०७५ सालमा भएको खप्तड गोल्डकपको तेस्रो संस्करणमा दाजुभाइ एकै टोलीबाट मैदानमा उत्रिए।
फागुरामको लोभलाग्दो प्रदर्शनकै कारण नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले दुई वर्षअघिको लाओसविरुद्ध मैत्रीपूर्ण खेलका लागि उनलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। तर, लिग नहुँदा मोफसलमा खेल्नुपर्ने बाध्यताले उनको सपनामा ‘ब्रेक’ लाग्यो।
फागुरामको डेब्यु भने सम्झनलायक रहेन। धनगढी रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि काँकडभिट्टा क्लबले टाइब्रेकरमा सुदूरपश्चिमलाई ७–६ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो। चेतनले गोल गर्ने अवसर पाए पनि फागुरामले मौका पाएनन्। तर, उनी निराश बनेनन्। बरु त्यही खेलले अवसरको ढोका खोलिदियो। “त्यहाँ राम्रो प्रदर्शन गरेपछि सुदूरपश्चिमकै दाइहरूले प्लानिङ ब्वाइजमा ट्रायल छ, जाऊ भन्नुभयो। ट्रायलमा पास भएँ,” उनी सम्झन्छन्।
हुन् त फागुरामको यो पहिलो काठमाडौं यात्रा थिएन। २०७१ सालमा पनि उनी काठमाडौं ओर्लिएका थिए। खेल्ने रहरले होइन, परिवार धान्ने कहरले। परिवारका कान्छा छोरा फागुरामले यो बिरानो सहरमा के मात्र गरेनन्! इँटा बोके, सिमेन्ट र बालुवाको घोल बनाए। तर, उनलाई फुटबलमै फर्किन जुरेको रहेछ। खाली समय पायो कि मोजाको बल बनाएर अभ्यास गरिहाल्ने। दौडिरहनुपर्ने।
फागुराम क्लब भित्रिएको वर्ष प्लानिङ ब्वाइजले राम्रो प्रदर्शन गर्न सकेन। त्यतिबेला प्लानिङ ब्वाइज ‘सी’ डिभिजनमा थियो। “खाली खुट्टा खेल्ने बानी थियो। बुट लगाउँदा गाह्रो भयो,” उनी सुनाउँछन्। गाउँमा हुँदा दाइहरूले ‘थ्रु बल’ निकाल्दिन्थे। उनको भूमिका थियो, फिनिसरको।
२०७९ सालमा भने प्लानिङ ब्वाइजले बलियो टोली बनायो। मुख्य प्रशिक्षकमा सचिन धिमाल नियुक्त भए। उनले पहिलो पल्ट फागुरामलाई फुटबल दौडिएर मात्र खेल्ने होइन, यो त बललाई होल्ड गर्ने, ड्रिबल गर्ने र विपक्षी खेलाडीको रणनीति बुझेर प्रहार गर्ने कला भएको सम्झाए। तर, उनको दिमागमा त्यति ठूलो कुरा तत्कालै छिरेन। प्रशिक्षकले जति रटाउँदा पनि बिर्सिहाल्थे। गोल हान्न दौडिहाल्ने।

उनकै प्रदर्शनका कारण प्लानिङ ब्वाइज अपराजित रहँदै ‘बी’ डिभिजनमा उक्लियो। क्लबले १३ खेल खेल्दा नौ जित र चार बराबरीको नतिजा निकाल्दा विपक्षीविरुद्ध ३२ गोल गर्यो। त्यसमध्ये १४ गोल फागुराम एक्लैले गरे। क्लबलाई बढुवा दिलाउन अन्तिम खेलमा ओसिस क्लबविरुद्ध उनले गरेको ह्याट्रिक नै निर्णायक बन्यो। नत्र आरसीले प्लानिङलाई पछि पारिसकेको थियो।
“ऊ अलि जब्बर स्वभावको छ। गोल मात्रै हान्ने धुनमा हुन्छ। तर पनि राम्रो खेलिरहेको छ,” प्रशिक्षक सचिन भन्छन्।
फागुरामको लोभलाग्दो प्रदर्शनकै कारण नेपाली राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले दुई वर्षअघिको लाओसविरुद्ध मैत्रीपूर्ण खेलका लागि उनलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। तर, लिग नहुँदा मोफसलमा खेल्नुपर्ने बाध्यताले उनको सपनामा ‘ब्रेक’ लाग्यो। बुटवलमा लिस्नु कप खेलिरहँदा उनले घुँडामा चोट बोके। त्यही पनि राष्ट्रिय टोलीमा स्थान बनाउने झिनो आशा बोकेर उनी काठमाडौं आए। तर, चोट बल्झियो।
फागुरामको सानैदेखिको धोको थियो, दशरथ रंगशालामा खेल्ने। जब प्लानिङ ब्वाइजको अन्तिम दुई खेल रंगशालामै हुन्छ भन्ने थाहा भयो, खुसीको सीमा रहेन।
यसपछि उनी घर फर्किए। बुटवलमा दाजुकै कप्तानीमा रहेको सुदूरपश्चिम–११ बाट तिलोत्तमा गोल्डकप खेले। उनको सुधारिएको प्रदर्शन देखेर मनाङ, सातदोबाटो र फ्रेन्ड्सजस्ता क्लबले २०८० मा शीर्ष डिभिजन लिग खेल्ने प्रस्ताव पनि नगरेका होइनन्। तर, उनलाई मन लागेन। यसले राष्ट्रिय टोलीमा स्थान बनाउने उनको सपनालाई अर्को धक्का लाग्यो। पछि पश्चात्ताप पनि गरे। “ठूलो क्लबमा खेलेर त्यस्तै खेल देखाउन सकेको भए अहिले राष्ट्रिय टिममा पो पुग्थेँ कि, अहिले थकथक लाग्छ,” २८ वर्षीय उनी भन्छन्।
लिगका उत्कृष्ट
एक त बढ्दो उमेर, अर्कोतर्फ परिवारको जिम्मेवारी। तर, फागुरामले फुटबलबाहेक केही सोचेनन्। नियमित लिग पनि नहुँदा र जति नै अब्बल भए पनि टिम माथिल्लो श्रेणीमा छनोट नभई माथिल्ला प्रतियोगिता खेल्न नपाइने एन्फाको दोहोरो नीति र क्लबसँगको अनुबन्धले खुलेर प्रतिभा देखाउनै पाएनन्। तर पनि हिम्मत हारेनन्। एक्लै भए पनि प्रशिक्षण गर्न थाले। साथीहरू लाम लागेर सुन्दर भविष्यको खोजीमा विदेश पलायन भइरहँदा उनले फुटबलमै केही गर्ने लक्ष्य राखेर पसिना बगाइरहे।
माघ २०८१ मा ‘बी’ डिभिजन लिग हुने खबर पाएपछि बल्ल उनलाई राहत भयो। “बिहे भइसकेको थियो। छोरी पनि जन्मिसकेकी थिइन्। मलाई निर्णय लिन कठिन थियो। तर, लिगको खबर आएपछि अरू कुरा सोचिनँ,” उनी भन्छन्।

अघिल्लो पल्ट प्लानिङलाई दोस्रो डिभिजनमा उकालेका सचिन फेरि मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किए। उनको पहिलो रोजाइका खेलाडी सूचीमा फागुराम पनि परे। फागुरामले नै विनायक थारू, अविनाश थापा र शंकर थारूलाई टिममा जोडे। एकै ठाउँबाट सँगै खेलेका चार जनाबीच राम्रो तालमेल थियो। प्लानिङलाई अपराजित रहँदै च्याम्पियन बनाउन फागुराम एक्लैले एक ह्याट्रिकसहित १५ गोल गरे र सर्वोत्कृष्ट खेलाडी भएबापत ५० हजार रुपैयाँ थापे। “पहिले टिमलाई च्याम्पियन बनाउन सकेको थिइनँ। यसपल्ट जसरी पनि जिताउँछु भनेर आएको थिएँ। लक्ष्यअनुसार नै प्रदर्शन गरेझैं लाग्छ,” उनी भन्छन्।
दशरथ रंगशालाले दिएको खुसी
फागुरामको सानैदेखिको धोको थियो, दशरथ रंगशालामा खेल्ने। जब प्लानिङ ब्वाइजको अन्तिम दुई खेल रंगशालामै हुन्छ भन्ने थाहा भयो, खुसीको सीमा रहेन।
विडम्बना! फेरि घुँडाको समस्या बल्झियो। सपना टुट्ने सँघारमा थियो। तर, उनले आफ्नो पीडा कसैलाई सुनाएनन्। पेन किलर औषधि खाएर भए पनि आफू फिट रहेको भान पारिरहे। रोचक त त्यही खेलमा उनले टुसाल युथ क्लबविरुद्ध करियरकै उत्कृष्ट प्रदर्शन गर्दै पाँच गोल ठोके। टिम ८–३ ले विजयी भयो। नतिजासँगै एक खेल खेल्नुअगावै प्लानिङ ब्वाइज च्याम्पियन बन्यो।
“प्रशिक्षकले को-को घाइते छौ भनेर सोध्नुभयो। मैले जवाफ नै दिइनँ। रंगशालामा खेल्न पाउँदा राष्ट्रिय टिममै परेर खेलेजस्तो लाग्यो। यति खुसी त तिलोत्तमा गोल्डकपमा स्कुटर पाउँदा पनि भएको थिइनँ,” उनी भन्छन्।
फागुराम किरण र दीपबाहेक सनिस श्रेष्ठ, अञ्जन विष्टलगायत राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई प्रेरणाको स्रोत मान्छन्। ‘बी’ डिभिजनको उत्कृष्ट प्रदर्शनसँगै राष्ट्रिय टोलीका यी खेलाडीसँग खेल्ने मौका पनि छ, फागुरामलाई। आगामी असोजमा नेपाली राष्ट्रिय फुटबल टिमले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा भियतनामविरुद्ध खेल्दैछ। त्यो खेलमा डेब्यु गर्न सके फागुराम थारू समुदायबाट राष्ट्रिय टोलीमा स्थान बनाउने आठौं खेलाडी बन्नेछन्। यो उनको खेलाडी जीवनको सपनाको अन्तिम टुंगो हुनेछ।