काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ भाद्र २०८२
अ+
अ-

काठमाडौं। जेन–जी आन्दोलनको क्रममा भदौ २४ भएको तोडफोड र आगजनीमा निजी क्षेत्रका लगानीकर्ताहरू निशानामा परे। राज्यलाई कर तिर्नेमध्ये ठूला र हजारौंलाई रोजगारी दिएका व्यावसायिक प्रतिष्ठानमा आगो झोसेर खण्डहर बनाइयो। एकैपटक हजारौंको रोजगारी गुम्यो। लगानीकर्ताले अहिल्यै आकलन गर्नै नसक्ने गरी लगानी गुमाए।

बैंक तथा वित्तीय संस्थाबाट ती व्यावसायिक प्रतिष्ठानमा लगानी भएका छन्। ती संस्थाले कर्जा तिर्न सकेनन् भने डुब्ने जनताकै पैसा हो। भाटभटेनी सुपरस्टाेर, हिल्टन होटल, वर्नवास होटल, एनसेलको कर्पोरेट कार्यालय जले। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानी गरेको केबलकार, पूर्वअध्यक्ष शेखर गोल्छाको घरमा पनि आगजनी भयो।

तर, उनीहरूले यो कठिन परिस्थितिमा विचलित नभएको र अझै धेरै लगानी विस्तार रोजागरी सिर्जनाको अवसरको रूपमा लिने बताएका छन्।

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा अर्गनाइजेसनका अध्यक्ष शेखर गोल्छाले देशको लोकतन्त्र अझ सुदृढ होस भन्ने कामना गर्दै आफू र आफ्नो परिवार अझ सशक्त रूपमा रोजगारी सिर्जना तथा लगानी बढाउन प्रतिबद्ध रहेको बताएका छन्।

“देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पूरा होस्। व्यवसायीमाथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निराश वा विचलित भएको छैन,” गोल्छाले भनेका छन्, “आजको सुनौलो बिहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढोस्, लोकतन्त्र अझै सुदृढ होस् भन्ने कामनासहित हामी पनि अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।”

भाटभेटनी नेपालमा आधुनिक सपिङ संस्कृति भित्र्याएर सफल भएको व्यसायिक प्रतिष्ठान हो। तर, जेन–जी आन्दोलनको क्रममा भाटभटेनीको १२ वटा स्टोर पूर्ण रूपमा जले। नौ वटामा तोडफोड गरी लुटपाट भयो। देशभर भाटभटेनीका २७ वटा आउटलेट र एउटा स्टोर छ। सबैभन्दा ठूलो व्यापार र कारोबार हुने भाटभटेनीका आधा आउटलेट चाडवाडको मुखैमा ध्वस्त पारिए।

तर, भाटभटेनी सुपरस्टोर्सका अध्यक्ष मीनबहादुर गुरुङले आगामी दिनमा अझ सशक्त भएर उभिने संकल्प व्यक्त गरेका छन्। “हजारौं सहयोगी हातले अहिले सफा गर्ने, आँसु पुछ्ने र पुनः उभिन शक्ति दिने कार्यमा साथ दिएका छन्,” गुरुङले भनेका छन्, “दुःखद क्षणबाट गुज्रिएको छु, तर आशा हराएको छैन।”

भाटभटेनीको फेसबुक पेजमा जल्दै गरेको भाटभटेनीको भिडियो राख्दै लेखिएको छ, ‘भाटभटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं।’

बीएलसी होल्डिङ्सका अध्यक्ष वसन्त चौधरीले सामाजिक सञ्जालमा आफ्नो पुरानो घरको फोटो राख्दै दिवंगत आमाबुबालाई सम्झिएका छन्। उनले जीवन सदैव संघर्षमै बितेको बताउँदै आन्दोलनले क्षति पुगे पनि अझै अडिग रहने विश्वास व्यक्त गरेका छन। ‘घरका पर्खाललाई जलेर खरानी बनाउन सकिन्छ, तर परिवारका सम्झना, मूल्य र माया कहिल्यै नष्ट हुँदैनन। ती सधैं अमर रहन्छन्,’ चौधरीले भनेका छन्।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आन्दोलनमा ठूलो क्षति बेहोरे पनि आगामी दिन नयाँ आयामका साथ अझै अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्। उनले भने, “कठिन घडीमा सीजी परिवारभित्रको एकता र साहस झन् प्रस्ट भएको छ। आगोको बीचमा पनि हाम्रो टोलीले हार मानेन। सम्पत्ति जोगाउन, ग्राहक सेवा सुनिश्चित गर्न जीवन जोखिममा राखेर काम गर्‍यो। आशा अझै बाँकी छ।”

हिमालयन अर्गनाइजेसनका प्रबन्ध निर्देशक सौरभ थापाले अहिलेलाई सम्पत्ति खरानी भए पनि आत्मा अझ शक्तिशाली भएको बताए। उनले भने, “हाम्रो सम्पत्ति खरानी भएको छ। तर, आत्मा अझ शक्तिशाली भएर दन्किएको छ। कुनै आगोले यसलाई नष्ट गर्न सक्दैन।”

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष राजेश अग्रवाल भन्छन्, “व्यावसायिक क्षेत्रमा आक्रमण नहुनुपर्ने काम भयो। यसले बैंकको लगानी र रोजगारीलाई प्रभावित गरेको छ। नेपालका व्यवसायी यस्ता धेरै अप्ठ्यारा सहेर आएका हुन्। अप्ठ्याराे अवस्थाका बीच पनि अगाडि बढ्नैपर्छ।”

देशमा जस्तोसुकै शासन व्यवस्था र राजनीतिक प्रणाली आए पनि देशलाई कर रोजगारी आवश्यक पर्छ। त्यसका लागि अर्थतन्त्र मजबुत हुनुपर्छ। अर्थतन्त्र मजबुत र चलायमान हुन लगानीकर्ताको आत्मबल पनि उत्तिकै उच्च हुनुपर्छ।

जेन–जी आन्दोलनको नाममा विध्वंसको शिकार भएका व्यवसायीहरूले आफूहरू नआत्तिएको बरु थप सशक्त भएर लगानी बढाउने संकल्प गरेको बताएका छन्।

पूर्व अर्थसचिव रामेश्वर खनालले अन्य मुलुकको तुलनामा नेपाल छिटो ‘रिकभर’ गर्ने मुलुक भएको बताउँछन्। २०७२ को भूकम्प, नाकाबन्दी र कोरोना महामारीको कहरमा परेको देशको अर्थतन्त्र छोटो समयमै लय फर्किएको थियो। अहिलेको आन्दोलनमा आगजनीमा परेका व्यावसायिक क्षेत्र पनि चाँडै लयमा आउने आशा रहेको उनी बताउँछन्।