काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

व्यक्तिवृत्त

‘स्पट फिक्सिङ’ को आरोपमा करिब तीन वर्ष मैदानबाहिर रहेका आदिल अन्सारी पुनः राष्ट्रिय टोलीमा

११ आश्विन २०८२
आदिल अन्सारी। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

अचानक मोबाइलको रिङ बज्यो। उनको हात डरले काम्न थाल्यो। सास रोकिएझैँ भयो। दिमागले काम गर्न छोड्यो। हुन त उनी तीन वर्षदेखि अप्रत्याशित खबरको प्रतीक्षामा थिए।

भदौको अन्तिम साता जतिबेला उनको मोबाइलमा रिङटोन बज्यो, उनले हिम्मत जुटाएर फोन उठाए। उताबाट खबर आयो, “लौ बधाई छ। वेस्ट इन्डिजविरुद्ध तीन वटा खेलको शृंखलाका लागि सिनियर टिममा तिम्रो नाम समावेश गरिएको छ।”

त्यो खबर सुनेपछि उनका औँला सलबलाए। मुटुको धड्कन सामान्यतिर फर्कियो। आँखामा अचानक उज्यालो छाउन थाल्यो। तिरस्कारले गुमेको प्रतिष्ठा र प्रतिबन्धले खोसेका सपना एकैपटक फर्किएर आएजस्तै लाग्यो।

उनी अर्थात् मोहम्मद आदिल अन्सारी। नेपाली क्रिकेटका २१ वर्षीय युवा फिनिसर। जसले सानै उमेरमा मान र अपमान दुवै खेपे। ‘स्पट फिक्सिङ’ जस्तो जघन्य अपराधमा मुछिए। अहिले फेरि सबै आरोपबाट मुक्ति पाएर राष्ट्रिय टोलीमा फर्किएका छन्।

गत साता कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यासका क्रममा भेटिँदा फिस्स हाँस्दै उनी भन्दै थिए, “तीन वर्षपछि फर्किन पाउँदा भावुक छु। पत्यार लागिरहेको छैन।”

नेपाली टोलीमा ‘फिनिसर’ को ठूलो समस्या छ। उनको आगमनपछि राष्ट्रिय टोलीमा नयाँ उत्साह देखिएको छ।

आदिलले १९ वर्षको उमेरमा ३१ मार्च २०२२ मा पपुवा न्युगिनीविरुद्ध घरेलु मैदानमा खेल्दै त्रिकोणात्मक टी–२० शृंखलामार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। डेब्यु खेलमै उनले ११ बलमा एक चौका र तीन छक्कासहित ३३ रनको आक्रामक इनिङ्स खेल्दै आफूलाई ‘हार्ड हिटर’ का रूपमा उभ्याए। बाँकी दुई खेलमा उनको प्रदर्शन उत्ति सन्तोषजनक थिएन। तर, तीन खेलमा बनाएको ६० रन र उनले देखाएको क्षमताले तत्कालीन प्रशिक्षक मनोज प्रभाकरको मन जित्यो।

त्यसै वर्ष जुनमा उनले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध एकदिवसीय (ओडीआई)मा डेब्यु गर्ने अवसर पाए। त्यसयता टी–२० तर्फ आठ इनिङ्समा ११० र ओडीआईतर्फ पाँच इनिङ्समा ७० रनको योगदान गरिसकेका छन्। बीचका वर्षमा सबै कुरा उनले सोचेजस्तै राम्रै चलिरहेको थियो। घरेलु फ्रेन्चाइज होस् वा राष्ट्रिय टोली– मैदानमा उनको राम्रै प्रशंसा भइरहेको थियो।

आदिल अन्सारी।

तर, उनको उत्साहपूर्ण त्यो करिअर १० महिनाभन्दा बढी टिक्न सकेन। नेपाल क्रिकेट संघ (क्यान)कै आयोजनामा पहिलोपल्ट भएको नेपाल टी–२० लिगसँगै उनको उज्यालो भविष्यको बत्ती एकाएक गुल भयो, ठ्याक्कै लोडसेडिङ भएसरह।

जनकपुर रोयल्सबाट खेलिरहेका उनलाई लिग सकिएको दुई सातापछि ‘स्पट फिक्सिङ’ को आरोप लाग्यो। त्यसपछि उनी बसेको होटल र मैदानमा पुगेर प्रहरीले अनुसन्धान मात्र गरेन, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ९ माघ २०७९ मा पक्राउ गर्‍यो। यस घटनाले आदिलको मानसिक अवस्था मात्र होइन, करिअर र सामाजिक प्रतिष्ठा नै छिन्नभिन्न भयो।

“सबै एकाएक फिल्मी शैलीमा भयो। राजविराजमा खेल्दै थिएँ, त्यहीबेला समातिएँ। अफर पाए पनि मैले अस्वीकार गरेको हुँ। तर, नियमअनुसार क्यानलाई जानकारी दिनुपर्ने रहेछ। नबुझ्दा ठूलो गल्ती भयो,” उनी सुनाउँछन्।

समातिनुअघि आदिल सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको मैदानमा ‘मुन्ना साह मेमोरियल अन्तरकलेज क्रिकेट प्रतियोगिता’ खेलिरहेका थिए। जानकी उच्च माध्यमिक विद्यालयको जर्सी लगाएका उनी प्याड, ग्लभ्स, हेलमेटसहित ब्याट समातेर मैदानमा उभिएका थिए।

पहिले उनी मैदानमा उपस्थित हुँदा आफ्ना समर्थकलाई ब्याट उठाउँदै अभिवादन गर्थे। तर, यतिबेला नजर झुकाएर मैदानबाट बाहिरिनुपर्‍यो। यो घटनापछि उनले खेलमैदानको होइन, अदालतको ढोका ढकढक्याउनुपर्‍यो। अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)का प्रतिनिधि र प्रहरीको केरकारका बीच उनी हिरोबाट एकाएक जिरोमा खुम्चिए। “त्यो बेला क्रिकेटमा फर्किने आशा नै मरेको थियो,” आदिल त्यो घटना सम्झिन्छन्।

भनिन्छ नि– आशा मार्न कहाँ सकिन्छ र? काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले एक महिनाभित्र उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो। त्यो क्षण उनका लागि अन्धकारका बीच पनि चम्किएको एउटा सानो किरणजस्तै भयो। अब उनले जेलको कोठाभित्रबाट होइन, बाहिरै बसेर मुद्दा लड्ने अवसर पाए।

अदालतको चक्कर काट्दाकाट्दै कतिबेला १३ महिना बित्यो, उनलाई थाहा नै भएन। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले बल्ल फैसला सुनायो, ‘सीआईबीले प्रस्तुत गरेको स्पट फिक्सिङको दाबी ठोस प्रमाणसहित पुष्टि हुन सकेन।’

मुद्दा परेपछि उनी एकपल्ट पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान गएका थिएनन्। तर, प्रतिबन्ध फुकुवा भएलगत्तै पहिलोपल्ट आसामविरुद्ध खेल्न ‘ए’ टिममा बोलाइयो।

त्यो दिन उनलाई युद्ध जितेजस्तो भएको थियो। घटनाको सुरुआत जनकपुर रोयल्सको जर्सीमा भएको थियो। नेपाल टी–२० लिगको १२औँ खेलमा काठमाडौँ नाइट्सविरुद्ध ‘वेस्ट हाइट’ मा उनले गरेको एउटा नो–बल सबैभन्दा पहिले शंकाको घेरामा तानियो। त्यसपछि ‘फ्री हिट’ रहेको अर्को बल त अफ–स्टम्पभन्दा टाढा, अस्वाभाविक रूपमा बाहिर गएको थियो। त्यो ओभरमै उनले १५ रन खर्चे। आदिलले सो खेलमा मात्र होइन, कम्तीमा दुई खेलमा यस्तै ढंगले बल फ्याँकेका थिए। यही आधारमा उनी अनुसन्धानको कठघरामा तानिए। सीआईबीले आफ्नो अनुसन्धानको क्रममा यस्तो बल फ्याँक्न उनलाई १७ वर्ष नेपाली टोलीबाट खेलेका महबुब आलमले प्रस्ताव गरेको आरोप लगायो। तर, अदालतले प्रमाण नपुग्ने भन्दै दुवैलाई सफाइ दियो।

“छक्का प्रहार गर्दा बाउन्ड्री लाइनमै जीवनदान पाएजस्तो भयो,” अदालतको फैसलाको विषयमा आदिल सम्झिन्छन्, “त्यो क्षण न्याय मरेको रहेनछ भन्ने लाग्यो।”

अदालतले सफाइ त दियो, तर त्यसपछिको यात्राले कुन बाटो समाउला भन्ने उनलाई स्पष्ट थाहा थिएन। किनकि, उनीविरुद्ध क्यानसँगै आईसीसीको प्रतिबन्ध पनि कायमै थियो।

अन्ततः विकल्प खोज्दै उनले आफ्नो पाइला भारतको बिहारतर्फ मोडे। नेपालजस्तो ठूला प्रतियोगिता त्यहाँ हुने कुरा नै भएन। टेनिस बलले खेल्ने प्रतियोगिता भए पनि उनलाई फेरि प्रदर्शन गर्ने मौका मिल्यो। भारतभरका खेलाडी भेला हुने प्रतियोगितामा दिनकै तीन खेल हुन्थे। उनी उही जोसमा खेल्थे। थकाइको भारलाई कहिल्यै बहाना बनाएनन्। लेदर बलसँगको अभ्यासलाई पनि निरन्तर जारी राखे। दिउँसो खेलमा पसिना बगाउँथे। राति अन्धकारमै बलिङ र ब्याटिङ अभ्यास गर्दै आफूलाई तिखारिरहन्थे।

संघर्षका दिन सम्झिँदै उनी भन्छन्, “उता गएर नखेलेको भए सायद अहिले क्रिकेटमै हुन्नथेँ होला।”

नेपाली क्रिकेट मैदानबाट उनी हराइसकेका थिए। तर, सामाजिक सञ्जालले उनलाई कहिल्यै गुमनाम हुन दिएन। बिहारमा उनले प्रहार गरेको छक्काको भिडियो, अनि ३०-३२ बलमै लागेको शतकसहितको स्कोरकार्ड आफ्नो सामाजिक सञ्जालमा निरन्तर पोस्ट गरिरहे। उनले छुटाए पनि समर्थकले अपलोड गरिदिन्थे। यी पोस्टले उनका समर्थकलाई उत्साहित बनाइरहे।

धेरै समर्थकले प्रतिबन्ध फुकुवा गर्न ढिला गरेको भन्दै क्यान सचिव पारस खड्कालाई ‘मेन्सन’ गरेर ‘स्टेटस’ लेखे। यसबीच नेपालले हारेका हरेक खेलमा आदिलकै चर्चा हुन्थ्यो। प्रायः सबै भन्थे, ‘आदिल भएको भए यो खेल नेपालले नै जित्थ्यो।’

“यी टिप्पणी र स्टेटसले मलाई भावुक बनाउँथे। बिहारमा जति जिल्ला छन्,  ती सबैमा गएर खेलेँ। घरेलु मैदानमा खेल्न नपाए पनि अन्तर्राष्ट्रिय खेलाडी भनेर माया गरिरहन्थे। नेपाली टोलीमा फर्कन नपाए पनि समर्थकको विश्वास र मायाले एकदमै हौसला मिल्थ्यो,” उनी भन्छन्।

आदिल अन्सारी। तस्बिर : क्यान

उनको यही दृढताका बीच २२ वैशाख २०८२ मा क्यानको ‘इन्टेग्रिटी कमिटी’ ले प्रतिवेदन पेस गर्दै प्रतिबन्ध फुकुवा गर्‍यो।

मुद्दा परेपछि उनी एकपल्ट पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान गएका थिएनन्। तर, प्रतिबन्ध फुकुवा भएलगत्तै पहिलोपल्ट आसामविरुद्ध खेल्न ‘ए’ टिममा बोलाइयो।

लामो अन्तरालपछि बिरानो बनेको मैदानतर्फ हिँड्दा उनका मनमा थुप्रै प्रश्न उठिरहेका थिए। “त्रिवि जाँदा पुरानो कुरा याद आइरहेको थियो, आँसु पनि आइरहेको थियो,” उनी सम्झिन्छन्, “तर त्यस क्षण आफैँलाई सम्झाउनुपर्‍यो। अब आँसुलाई आशामा बदल्नुपर्छ भन्ने लाग्यो।”

ठ्याक्कै भइदियो त्यस्तै। आसाममा भएका पाँच मैत्रीपूर्ण टी–२० शृंखलाका चार इनिङ्समा उनले ८५ रन बनाए। तीन विकेट पनि हात पारे। त्यही प्रदर्शनका कारण उनलाई फेरि सिनियर टोलीमा फर्किने बाटो खुल्यो।

यु–टर्न’ को लक्ष्य

ओमानमा हुने आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)मा पहिलोपल्ट टेस्ट टोली वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेल्दै छ। सारजाह अन्तर्राष्ट्रिय मैदानमा २७, २९ र ३० सेप्टेम्बरमा हुने उक्त शृंखलालाई आदिलले आफ्नो करिअरको यु–टर्न मानेका छन्। हालको नेपाली टोलीमा ‘फिनिसर’ को अभाव छ। आसामविरुद्ध ‘ए’ टिममा देखाएको ‘हार्ड–हिटिङ’ ले आदिलमा फेरि आशा जगाएको छ। उनी भन्छन्, “टिममा फर्किंदा आफ्नो रोल के हुन्छ भनेर मलाई सुरुदेखि नै थाहा थियो। त्यसअनुसार नै आसाममा खेलेँ।”

नेपाली टोलीमा अहिले दीपेन्द्रसिंह ऐरी, गुल्सनकुमार झालगायत सिनियर खेलाडी फिनिसरको भूमिकामा छन्। दीपेन्द्र आईसीसीको टी–२० अलराउन्डर सूचीको चौथो स्थानमा छन्। बल र ब्याट दुवैबाट संकटमोचन गर्ने क्षमता राख्ने गुल्सन पनि पछिल्लो समय टोलीका निर्णायक खेलाडी हुन्।

यस्तो अवस्थामा विशेषगरी बलिङमा ‘थर्ड पेसर’ का रूपमा योगदान दिन सक्ने आदिलको भूमिका अझै स्पष्ट भइसकेको छैन। तर, उनले मौका पाए उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेका छन्। “टिमलाई जसरी जरुरी पर्छ, त्यसरी नै खेल्नेछु। त्यो कन्डिसनमा आफूलाई पूर्ण तयार राखेको छु,” उनी भन्छन्।

उनको आत्मविश्वास अहिले पनि डगमगाएको देखिँदैन। हेरौँ, तीन वर्षपछि पुनः सिनियर टोलीमा फर्किएका आदिलले कस्तो प्रदर्शन गर्ने हुन्? यो सबैका लागि कौतूहलको विषय बनेको छ।