काठमाडौँ
००:००:००
२१ कार्तिक २०८२, शुक्रबार

पाँच महिनाभित्र निर्वाचन हुनेमा कांग्रेसको शंका

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेताहरूले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुनेमा शंका गर्न थालेका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकमा बोल्ने नेताहरूले यस्तो शंका गरेका हुन्।

बैठकमा बोल्दै नेता कृष्णप्रसाद सिटौलाले अदालतको संरचना र मनोबल कमजोर भएकाले रिट परिहाले पनि संसद् पुनःस्थापनाको पक्षमा अदालतले फैसला दिनेबारे पनि संशय व्यक्त गरे। बैठकमा सहभागी एक नेताले सिटौलाको भनाइ उद्धृत गर्दै भने, “खरानीमाथि अदालत छ। संसद् पुनःस्थापनाबारे कसरी फैसला दिन्छ? आजको अवस्था हेर्दा न्यायाधीशहरू फैसला गर्ने अवस्थामा छैनन्।”

नेता सिटौलाले २१ फागुनमा निर्वाचन हुने विषयमा पनि बैठकमा आशंका गरे। उनले कांग्रेसले यसलाई जनतामा जाने अवसरको रूपमा लिनुपर्ने बैठकमा ब्रिफिङ गरे। “अबको पाँच महिनामा निर्वाचन हुन्छ भन्नेमा विश्वास छैन। तर, गाउँमा जाने, जनतासँग संवाद गर्ने अवसर पाइन्छ,” उनले भने।

नेता सिटौलाले राष्ट्रपति रामचन्द्र पौडेलले खेलेको भूमिकामा पनि प्रश्न उठाएको ती नेताले बताए। “राष्ट्रपतिले बोलाउँदा दललाई बोलाउन छाडेर व्यक्तिविशेषको नाममा किन बोलाइयो?” सिटौलाको प्रश्न थियो।

बैठकमा बोल्दै नेता प्रकाशमान सिंहले जेन-जीको नाममा बनेको सुशीला कार्की नेतृत्वको वर्तमान सरकारप्रति अविश्वास देखाए। तर, निर्वाचनबाट पार्टी भाग्न नहुनेमा पनि सिंहले जोड दिएका थिए। सिंहको भनाइ उद्धृत गर्दै अर्का नेताले भने, “बहालवाला प्रधानन्यायाधीशलाई नै मन्त्रिपरिषद्को अध्यक्ष बनाएर निर्वाचनमा गएको ख्याल गर्दै आएको परिस्थितिमा निर्वाचनमा जानुपर्छ।”

उनले पार्टीभित्र चलिरहेको दुई धारबारे प्रश्न उठाए। उनले महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएकोप्रति आश्चर्य व्यक्त गरे। “विभाजित कांग्रेसले यो चुनौतीको सामना गर्न सक्दैन। पार्टीको विधानमा छ भन्दैमा हुन्छ र? कस्तो बेला विधानको धारा प्रयोग गर्ने थाहा पाउनुपर्छ,” सिंहको भनाइ थियो।

उनले महामन्त्रीहरू गगन थापा र विश्व प्रकाश शर्माप्रति पनि आक्रोश पोखे। “सर्पले भ्यागुतो निल्न लाग्दा पनि भ्यागुतो चाहिँ बिच्छी चलाउन खोजिरहेजस्तो, देश र कांग्रेसलाई यत्रो समस्या पर्दा महामन्त्रीहरू चाहिँ विशेष महाधिवेशनको चाहनामा हस्ताक्षर अभियान चलाइरहनुभएको छ,” उनले भने।

बैठकमा बोल्दै नेत्री उमा रेग्मीले उद्दण्डता मच्चाउनेहरूलाई कारबाही गर्न माग गरिन्। “हामीसँगै बसेर जेन-जी हुँ भन्दै जेन-जीको नाम बेचेर उद्दण्डता मच्चाउनेहरूलाई खोज्ने कि नखोज्ने?” उनको प्रश्न थियो।

बैठकपश्चात् सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता प्रकाशशरण महतले शनिबार बस्ने बैठकमा संश्लेषण गरेर २६ गतेबाट बस्ने केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय हुने बताए। विशेष महाधिवेशनको नारा दिएर गरिएको हस्ताक्षर बारेमा राखिएको जिज्ञासामा उनले भने, “पार्टीमाथि आक्रमण भएको छ। लोकतान्त्रिक पद्धति र शक्तिलाई कमजोर पार्ने कोसिस हो। यो अवस्थामा एकताबद्ध भएर जानुपर्छ। विभाजनको मानसिकतामा जानु हुन्न।”

यस्तै, बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले केन्द्रीय समिति बैठकमा मुख्य तीन एजेन्डा लाने तयारी भएको बताइन्। उनका अनुसार पहिलो, नियमित महाधिवेशन, दोस्रो, निर्वाचन तयारी र तेस्रो, जेन-जी विद्रोहको विश्लेषण र आगामी बाटो रहेका छन्।