काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

क्रिकेट

२६ आश्विन २०८२
अ+
अ-

काठमाडौं। ओमानको मस्कटमा आइतबार राति सम्पन्न आईसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्स चरणले नेपाली क्रिकेटमा ऐतिहासिक अध्याय थपिदिएको छ।

यूएईविरुद्धको अन्तिम ओभरमा नेपालले एक रनको रोमाञ्चक जित हात पारेको थियो। योसँगै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा शतकीय जितको माइलस्टोन पूरा गरेको हो।

नेपालले हालसम्म दुई मुख्य फर्म्याट टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय (ओडीआई) मा गरी १८६ खेल खेलेको छ। त्यसमध्ये टी-२० आईमा ६२ र ओडीआईमा ३८ जित हासिल गर्दै यो कीर्तिमान बनाएको हो।

नेपालले सन् २०१४ मा बंगलादेशमा भएको विश्वकपअन्तर्गत हङकङविरुद्धको खेलमार्फत क्रिकेटकै सबैभन्दा रोमाञ्चक र छोटो टी-२० आई फर्म्याटमा डेब्यु गरेको थियो।

पारस खड्काको कप्तानीमा पहिलोपल्ट टी-२० विश्वकप खेलेको नेपालले हङकङलाई ८० रनले पराजित गरेको थियो। यस्तै, १ अगस्त २०१८ मा नेपालले पारसकै कप्तानीमा नेदल्यान्ड्सविरुद्धको खेलमार्फत ओडीआईमा डेब्यु गेको थियो। उक्त खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो।

त्यसयता नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले सम्हालेका हुन्। नेपालले रोहितको कप्तानीमा सबैभन्दा धेरै ९९ खेल खेलेको छ। तीमध्ये ५९ खेलमा जित हात पार्दा ३८ मा हार र तीन खेल बराबरीमा टुंगिएको छ।

पारसले ३३ खेलमा १४ जित दिलाएका छन्। सन्दीपको कप्तानीमा नेपालले ३२ खेल खेल्दा १७ जित निकालेको थियो। यस्तै, ज्ञानेन्द्रले भने २२ खेलमा १५ जित दिलाए।