काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण बढेको छ। सिजन २ को ड्राफ्टका लागि ५ सय १२ नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले सोमबार जनाएको छ।

एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले भने, ‘पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए। दोस्रो सिजनका लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका छन्। त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण वृद्धि भएको पाएका छौं।’

एनकेएल सिजन २ का लागि दर्ता भएका खेलाडीमा बागमती प्रदेशबाट सर्वाधिक १ सय ५५ खेलाडी छन्। त्यस्तै, सुदूरपश्चिमका १ सय ३, लुम्बिनीका ९८, मधेस प्रदेशका ७०, कोसीका ३५, कर्णालीका २७ र गण्डकीका २४ जना छन्। गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो।

‘विदेशी खेलाडीको आकर्षण पनि अत्याधिक बढेको छ। धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन्। हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०-५० जना विदेशी खेलाडी लिनेछौं। उनीहरू पक्कै पनि माथिल्लो स्तरका हुनेछन्,’ बेगानीले भने। पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए।

नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताका रुपमा एनकेएलको पहिलो सिजन १७-३१ जनवरी २०२५ मा सम्पन्न भएको थियो। फ्रेन्चाइजका आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए।

राष्ट्रिय खेलकुद परिषदको त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित रोमाञ्चक फाइनलमा काठमाडौंलाई ४३-४१ ले पराजित गर्दै जनकपुर एनकेएल च्याम्पियन भएको थियो। पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन्। सिजन-२ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ।