सात सवाल
म्युजिक भिडियो हुँदै चलचित्रको यात्रा तय गरेकी अभिनेत्री हुन्, लक्ष्मी बर्देवा। घामपानी, मिस्टर झोले, बुलबुल, सेल्फी किङजस्ता थुप्रै चलचित्रमा काम गरिसकेकी छन् उनले। बुलबुलमा टेम्पो चालकको भूमिकामा बर्देवाको कामको निकै तारिफ पनि भएको थियो। पात्र र चरित्र छान्न ‘चुजी’ उनै बर्देवासँग नेपालन्युजको शनिबारे विशेषांक ‘छुट्टीमा’ का लागि गरिएको तिहार संवाद :
हरेक वर्ष तिहारमा ‘भैलिनी आइन् आँगन’ सुन्दा सानो बेलाको के याद आउँछ?
बालापन, साथी, चिसोमा हिँडेको र निद्राले झपझप बनाएको क्षण नै याद आउँछ।
तपाईं भैली खेल्दा नाच्नुहुन्थ्यो कि भट्याउनुहुन्थ्यो?
मलाई नाच्न त्यति नआउने। अर्को कुरा, साथीहरूलाई भट्याउन नआउने। त्यसैले मेरो काम चाहिँ भट्याउने नै हुन्थ्यो।
भैली खेलेर कति पैसासम्म कमाउनुभयो? त्यो पैसाले के गर्नुभयो?
ठ्याक्कै यति नै पैसा जम्मा गरेँ भन्ने त याद छैन। तर, पैसा ल्याएर ममीलाई दिने गर्थें।
पैसा नपाएर वा कम पैसा पाएर अरूको घरमा पटाका पड्काउनुभएको छ?
मलाई पटाका पड्काउन एकदमै डर लाग्थ्यो। त्यसैले त्यस्तो उटपट्याङ काम चाहिँ कहिल्यै गरिनँ।
तिहारको सबैभन्दा रमाइलो पक्ष के हो?
तिहार भनेकै सेलरोटी, देउसीभैलो र झिलिमिली हो। तर, मलाई झिलिमिलीले चाहिँ अर्कै खाले ‘भाइब्स’ आउँछ। यस्तो बत्तीको ब्याकग्राउन्डबाट देउसीभैलोको आवाज आए मात्र बल्ल तिहार आएजस्तो लाग्छ। तर, सेलरोटी र देउसीभैली पनि उत्तिकै रमाइलो लाग्छ।

लक्ष्मीपूजा गरिरहेकी लक्ष्मी बर्देवा। तस्बिर : बर्देवाको फेसबुक
फेरि भैली खेल्न जानुभयो भने आफ्नो टोलीमा कुन कुन पाँच अभिनेत्री छान्नुहुन्छ?
मेनुका प्रधान दिदी, स्वस्तिमा खड्का, सुषमा निरौला, जाह्नवी बस्नेत र आश्मा गिरी छान्छु।
अहिले र पहिलाको भैलीमा देखिने भिन्नता के हो?
हामी सानो छँदा रमाइलोकै लागि खेल्ने गर्थ्यौं। तर, अहिले अलि कमर्सियल भएजस्तो लाग्छ। हाम्रो पालामा पैसामा केन्द्रित भएर खेलिँदैनथ्यो। थोरै पैसा दिँदा पनि खुसी नै हुन्थ्यौँ। तर, अहिले कम पैसा दिँदा अलिक अप्ठ्यारो लाग्छ। अर्को कुरा, पहिला रातभर खेल्ने गरिन्थ्यो, अहिले समयको सीमा छ।