काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले नयाँ जर्सी सार्वजनिक गरेको छ।
मंसिरमा हुने एनपीएलका लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाँडै समर्थकमाझ पुर्याउने योजना रहेको निर्देशक गृहेन्द्र घिमिरेले बताए।
कर्णाली याक्सको जर्सीमा आकाशे र पहेँलो रङ समावेश छ। जसले कर्णाली प्रदेशको भौगोलिक र सांस्कृतिक महत्त्व पनि राख्ने बताइएको छ।
दोस्रो संस्करणका लागि कर्णाली याक्सले तयारी पनि तीव्र बनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट कात्तिक १७ गते गर्दै छ।
पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो। दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षकमा र राजु बस्न्यातलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिएको छ।
कर्णालीले सोमपाल कामीसँगै गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ। विपिनसँगै दीपेन्द्र, अर्जुन र युनिससिंह कर्णाली प्रदेशकै खेलाडी हुन्। क्लबले पहिलो विदेशी खेलाडीका रुपमा स्कटल्यान्डका मार्क वाटलाई अनुबन्ध गरेको छ। एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदै छ ।