नेपालगन्ज। ‘दोस्रो नेपालगन्ज नेसनल स्विमिङ च्याम्पियनसिप २०२५’ शुक्रबारदेखि नेपालगन्जमा सुरु भएको छ।
नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले गरेका हुन्। उद्घाटन समारोहमा उनले लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकार खेलकुदको विकास र पूर्वाधार विस्तारमा प्रतिबद्ध रहेको बताए।
उद्घाटन खेलमा ५० मिटर ब्याकस्ट्रोक अन्डर-८ ब्वाइज इभेन्टमा सगरमाथा स्विमिङ क्लब ललितपुरका राजविन जिरेलले पहिलो स्थान हात पारे भने आदर्श मावि नेपालगन्जका युभान श्रेष्ठ दोस्रो र कोसी प्रदेशका विष्णु पराजुली तेस्रो भए।
त्यसैगरी २५ मिटर फ्रिस्टाइल अन्डर-८ ब्वाइजमा सगरमाथा क्लबका राजविन जिरेल पुनः पहिलो, शिखा एकेडेमी कोहलपुरका दिप्सन पुन मगर दोस्रो र आदर्श माविका युभान श्रेष्ठ तेस्रो बने।
अन्डर-८ गर्ल्स समूहमा २५ मिटर फ्रिस्टाइलमा सगरमाथा क्लबकी छियाना महर्जनले स्वर्ण जितिन्। आदर्श माविकी समृद्धि न्यौपाने र शिखा एकेडेमीकी श्रीजा रेग्मी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। २५ मिटर ब्याकस्ट्रोकमा पनि छियाना महर्जन नै पहिलो भइन्।
विजेता खेलाडीहरुलाई मन्त्री पाण्डेले पदक तथा प्रमाणपत्र वितरण गरे। प्रतियोगितामा देशभरका १५० भन्दा बढी खेलाडीले सहभागिता जनाएका छन्। प्रतिस्पर्धा अन्डर-८, १०, १२, १४, १७ र खुला उमेर समूह गरी विभिन्न ५६ इभेन्टमा सञ्चालन भइरहेको छ। अन्डर-८ खेलाडीहरूले २५ मिटर, अन्डर-१० समूहका खेलाडीले ५० मिटर र अन्डर-१२ तथा १४ समूहका खेलाडीहरूले ५० र १०० मिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्। खुला समूहका प्रतिस्पर्धा २०० र ४०० मिटर दूरीका इभेन्टमा हुनेछ।
हेर्नुहोस् थप तस्बिर :
