व्यक्तिवृत्त
नेपाली क्रिकेट टोलीमा कुनै बेला ‘मिस्टर डिपेन्डेबल’ को छवि बनाएका शरद भेषवाकरसँग एउटा संयोग जोडिएको छ– यूएईमा जन्मिएका उनले युथ-१५ को शतक यूएईमै बनाए। सन् २०१४ को विश्वकप छनोटका लागि यादगार इनिङ्स यूएईमै खेले।
१४४ रनको लक्ष्य, हातमा पाँच विकेट। अन्तिम ओभरमा १३ रन बनाउने चुनौती। क्रिकेटमा असम्भव केही हुँदैन। तर, ५० ओभरको क्रिकेटमा ध्यान केन्द्रित गरिरहेको बेला त्यो लक्ष्य चानचुने पक्कै हुँदैन।
२७ नोभेम्बर २०१३ मा नेपालको अवस्था ठ्याक्कै यस्तै थियो। लामो समय एकदिवसीय क्रिकेट खेलेको नेपाल आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत हङकङविरुद्ध क्वार्टरफाइनल खेल्दै थियो। संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी आबुधाबीमा भएको यस खेलमा नेपाल प्रतिकूल परिस्थितिबाट गुज्रिरहेको बेला संकटमोचनका रूपमा क्रिजमा देखिए, आत्मविश्वासले भरिएका शरद भेषवाकर।
उनले विपक्षी हसिब अमजदको पहिलो बललाई छक्कामा परिणत गरे। दोस्रो बललाई चौकाका रूपमा बाउन्ड्री पार गराए। उनको त्यो चामत्कारिक ब्याटिङले टोलीको मनोबल उठायो। तेस्रो बललाई कभरमा खेल्दै उनले एक रन जोडे।
यसपछि स्ट्राइक इन्डमा आएका प्रदीप ऐरीले एउटा बल डट खेले। धन्न पाँचौँ बलमा उनले शरदलाई नै स्ट्राइकको अवसर दिए। तनावपूर्ण अन्तिम बलमा शरदले पुनः एक रन लिएपछि नेपाल सेमिफाइनलमा मात्र प्रवेश गरेन, पहिलोपल्ट टी-२० विश्वकपका लागि छनोट भयो।
यो नेपालका लागि टी-२० विश्वकप खेल्ने पहिलो अवसर थियो। अवसर जुराउने ब्याटर उनै शरद थिए। जसले दुई दशक क्रियाशील आफ्नो ब्याटलाई यसै साता विश्राम दिए।

३ मार्च २०१८ मा जिम्बावेमा आयोजित विश्वकप छनोटमा शरद भेषवाकर। तस्बिर : निगेल रोडिस/आईसीसी
उनले सन्न्यासको घोषणा गरेलगत्तै राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायकेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छनोटअघि हामीले ५० ओभर क्रिकेटमा मात्र ध्यान दिनुपर्छ भन्थ्यौँ। त्यतिबेला झरेको तपाईंको आँसु अझै सम्झनामा छ। कठिन मिहिनेत गरेर उत्कृष्ट टी-२० ब्याटर बन्ने तपाईंको संकल्प देखेर म प्रेरित भएँ। त्यो संकल्पलाई तपाईंले प्रमाणित गर्नुभयो र छनोटका महत्त्वपूर्ण खेल जिताएर विश्वकपको यात्रा सुनिश्चित गराउनुभयो।”
शरदले संकटको अवस्थामा थुप्रैपल्ट ऐतिहासिक प्रदर्शन गरेर नेपाललाई हारको मुखबाट निकालेका छन्। युवा खेलाडी हुँदै विश्वकप खेल्ने सौभाग्य पाएका थोरै खेलाडीमध्ये पर्छन्, उनी। जसको क्रिकेट करिअर चुनौती र रोमाञ्चले भरिएको छ।
सन् २०१३ मा हङकङविरुद्ध १२ रनको ऐतिहासिक ब्याटिङ प्रदर्शन गरेको ११ वर्ष ११ महिना १२ दिनपछि उनले सोही मैदानमा खेल्दै सन्न्यास लिएका हुन्। “मलाई त सम्झना पनि थिएन, तपाईंले सम्झाइदिनुभयो। यसलाई संयोग मान्नुपर्छ, यहीँबाट सन्न्यास लिन पाएँ,” नेपाल न्युजसँगको कुराकानीमा उनी भन्छन्।
व्यापारी बुवाका क्रिकेटर छोरा
सन् २००० ताका नेपाली क्रिकेटमा बलिङको धार निकै बलियो मानिन्थ्यो। राजु खड्का, विनोद दास, महबुब आलम, दीपेन्द्र चौधरी, पारस लुनियाजस्ता बलरले टोलीको बलिङ लाइनलाई बलियो बनाएका थिए। तर, ब्याटिङमा स्थिरता थिएन। त्यसै बखत राष्ट्रिय टोलीमा शान्त स्वभाव, संयमित ब्याटिङ र उत्कृष्ट निर्णय क्षमता भएका शरदको आगमन भयो।
शरदको जन्म यूएईमा भएको थियो, जतिबेला उनको परिवार भारतमा बस्थ्यो। उनका बुवा व्यापार गर्थे। सन् १९९५ मा परिवार नेपाल फर्कियो।
शरदमा क्रिकेटको ज्वरो बढेको सन् १९९६ को विश्वकपपछि हो। त्यतिबेला काठमाडौँमा क्रिकेट खेल्ने निश्चित मैदान थिएन। उनी कहिले गौशालानजिकै भण्डारखालको जंगलमा त कहिले सिफल चौरमा साथीभाइ जम्मा पारेर क्रिकेट खेल्थे। कतिपय अवस्थामा घरटोलकै कुनाकाप्चामा पनि खेले। दुवैतिर घर भएको ठाउँमा खेल्दा झ्यालको सिसा फुट्ला भन्ने डर हुन्थ्यो। उनी सीधा स्ट्रोक खेल्थे। यसले उनको ब्याटिङमा संयम जोडियो। पछि क्रिजमा टिकेर खेल्न माहिर भए।
नेपाली क्रिकेटमा उनले भारतीय स्टार राहुल द्रविडजस्तै ‘मिस्टर डिपेन्डेबल’ को उपाधि पाएका थिए। तर, उनले द्रविडजस्तै माथिल्लो पंक्तिमा रहेर ब्याटिङ गर्ने धेरै सौभाग्य पाएनन्। तर, जुन स्थानबाट खेले, त्यसलाई न्याय गर्ने कोसिस गरे।

१८ मार्च २०१४ मा टी-२० विश्वकपअन्तर्गत बाङ्लादेशविरुद्धको खेलमा शरद। तस्बिर : आईसीसी
सानोमा शरदको खेल कौशल माझ्ने काम नेपालका पहिलो राष्ट्रिय प्रशिक्षक अरुण अर्यालले गरे। अर्यालले रातोपुलमा एभरेस्ट क्रिकेट एकेडेमी स्थापना गरेका थिए। त्यहाँ कलाम अली र विनोद दासजस्ता सिनियर क्रिकेटर सिक्न आउँथे। उनले पनि त्यहीँबाट आफ्नो क्षमता तिखारे।
उनले राष्ट्रिय टोलीको उमेरसमूहमा ठाउँ बनाएको सन् २००२ देखि नै हो। डिसेम्बरमा यूएईको आबुधाबीमा भएको यु-१५ एसिया कपमा उनलाई पहिलोपल्ट उमेरसमूहको अन्तर्राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।
उनले आबुधाबीमा आठ खेलमा २७५ रन बनाउँदै भारतविरुद्ध ७८ र कतारविरुद्ध १०६ रनको उत्कृष्ट इनिङ्स खेले। यस प्रदर्शनले उनलाई यु-१९ टिममा छिटै स्थान दिलायो। श्रीलंकामा प्रशिक्षण लिने अवसर पनि पाए। तर, यो समाचार आफ्ना बुवालाई सुनाउन पाएनन्। व्यापारिक यात्राको सिलसिलामा भारतमा रहेका बेला बुवाको हृदयाघातका कारण निधन भयो।
शरदको युथ-१९ टिमबाट पहिलो भ्रमण अप्रिल २००३ मा भारतमा भएको थियो। यसै वर्ष कराचीमा आयोजना भएको युथ एसिया कपको उपाधि जिताउन उनले उत्कृष्ट प्रदर्शन गरे। फाइनलमा उनले मलेसियाविरुद्ध ५५ रनको ‘म्यान अफ द म्याच’ घोषित इनिङ्स खेलेका थिए।

सन् २०१७ को विश्व क्रिकेट लिगमा यूएईविरुद्धको खेलमा शरद। यस खेलमा शरदले अविजित ८१ रन बनाएका थिए। तस्बिर : आईसीसी
सन् २००४ मा भारतमा आयोजित एसीसी यु-१७ कप र बाङ्लादेशमा भएको आईसीसी यु-१९ विश्वकपमा पनि उनले उत्तिकै दमदार प्रदर्शन गरे। नेपाललाई प्लेट च्याम्पियनसिपसम्म पुर्याउन उनले दुई अर्धशतकसहित २१९ रन प्रहार गरेका थिए। टेस्ट राष्ट्र इंग्ल्यान्डविरुद्ध समूह चरणको खेलमा ८२ र प्लेट च्याम्पियनसिपमा स्कटल्यान्डविरुद्ध ५१ रनको इनिङ्स खेलेका शरदले त्यस विश्वकपमा नेपालका तर्फबाट सर्वाधिक रन बनाए।
यही प्रदर्शनका कारण उनलाई १६ वर्षको उमेरमा सन् २००४ मा सिनियर टोलीमा स्थान दिइएको थियो। उनले आईसीसी इन्टरकन्टिनेन्टल कपअन्तर्गत यूएईविरुद्ध पहिलो फर्स्ट-क्लास खेलमा ५० रन (दोस्रो इनिङ्स)को अर्धशतकीय इनिङ्स खेलेका थिए। उनको यही प्रदर्शनका कारण नेपालले खेल ‘ड्र’ गरेको थियो। यही वर्ष उनले मलेसियाविरुद्ध अर्को इन्टरकन्टिनेन्टल कपमा पनि प्रतिनिधित्व गर्ने अवसर पाए। साथै, क्वालालम्पुरमा आयोजित एसीसी ट्रफीमा पनि सिंगापुर, यूएई तथा हङकङविरुद्ध महत्त्वपूर्ण योगदान गरे। पूर्वस्पिनर सञ्जम रेग्मी सम्झन्छन्, “टोलीमा महबुब आलम, राजकुमार प्रधान र मलगायत केही खेलाडी थियौँ। हामीले पनि ब्याटिङ गर्थ्यौँ, तर शरद भएपछि ढुक्क हुन्थ्यौँ।”
शरदको ब्याटिङ गर्ने शैलीमा समयसँगै परिवर्तन भएको देखिन्छ। सुरुमा उनी डिफेन्सिभ ब्याटिङ गर्थे। सन् २०१० मा कीर्तिपुरमा भएको आईसीसी डिभिजन फाइभमा फिजीविरुद्ध १३४ बलमा १०५ रनको इनिङ्स खेलेका थिए। शरदकै प्रदर्शनका कारण नेपालले फिजीलाई १९३ रनले हराएको थियो।

कीर्तिपुरमा सम्पन्न डिभिजन फाइभमा शतक बनाएपछि शरद। तस्बिर : आईसीसी
सन् २०१३ को आईसीसी विश्वकप टी-२० छनोटबाट भने उनले आक्रामक प्रदर्शन थाले। उनकै सानदार प्रदर्शनका कारण नेपालले सन् २०१४ को विश्वकपमा पहिलोपल्ट स्थान बनायो। त्यतिबेला केन्याविरुद्धको खेलमा १८३ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा १७ रन आवश्यक थियो। उनले तीन छक्का प्रहार गर्दै खेल जिताए।
यूएईसँगको खेलमा पनि शरदले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै ४३ रनको अविजित निर्णायक इनिङ्स खेले। “यसलाई अहिलेसम्मकै ठूलो सफलताका रूपमा लिएको छु। मलाई लाग्छ, मैले आफ्नो परिवारलाई सबैभन्दा खुसी दिन सकेको पनि विश्वकप छनोट हुँदा नै हो। हामीले सिंगो नेपाललाई खुसी बनायौँ जस्तो लाग्छ,” उनी भन्छन्।

सन् २०१३ मा यूएईमा सम्पन्न टी-२० विश्वकप छनोटमा केन्याविरुद्धको खेलमा शरद। उनले ६ बलमा तीन छक्का प्रहार गर्दै नेपाललाई जिताएका थिए। तस्बिर : आईसीसी
तर, बाङ्लादेशमा भएको विश्वकपमा हङकङसँगको पहिलो खेलमा उनी १४ रनमै आउट भए। यद्यपि, बाङ्लादेशविरुद्ध आठ विकेटको हारमा होस् या अफगानिस्तानविरुद्ध नौ रनको जितमा, दुवै खेलमा उनले ४० र ३७ रनको योगदान गरे।
सन् २०१४ को टी-२० विश्वकपबाहेक नेपाली क्रिकेटले सन् २०१८ मा पनि ऐतिहासिक सफलता प्राप्त गरेको थियो। नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय शृंखलामा नेपाली टोलीमा समावेश भए पनि उनले सोचेजस्तो प्रदर्शन गर्न सकेनन्। १ अगस्ट २०१८ मा भएको उक्त खेलमा उनी चार रनमै आउट भए। त्यसपछि भने राष्ट्रिय टोलीमा उनको ओरालो यात्रा सुरु भयो।
यस अवधिमा उनले २०१८/१९ आईसीसी विश्व टी-२० एसिया छनोट, २०१९ एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न भ्याए। तर, यी प्रतियोगितामा पनि उनले आफ्नो स्थिर प्रदर्शनलाई निरन्तरता दिन सकेनन्।
५ फेब्रुअरी २०२० मा कीर्तिपुरमा भएको ओमानसँगको खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै ५५ रन बनाए। तर, उनको लय निरन्तर खस्किरह्यो। त्यसको एक वर्षपछि ओमान भ्रमणमा उनी पपुवा न्युगिनीविरुद्ध दुई र घरेलु टोलीविरुद्ध एक रनमा अविजित रहे। यसपछि उनलाई टिममा फर्कन गाह्रो भयो।

१ अगस्ट २०१८ मा नेदरल्यान्ड्सविरुद्धको खेलमार्फत नेपालले पहिलोपटक एकदिवसीयमा डेब्यु गरेको थियो। शरद उक्त टोलीमा थिए। तस्बिर : पिटर डेला पेना
अर्को वर्ष क्रिकेटको छोटो फर्म्याटमा पनि उनी ‘फ्लप’ साबित भए। विश्वकप छनोटको तयारीस्वरूप ओमानमा खेलिएको चारदेशीय शृंखलामध्ये तीन खेलमा जम्मा १५ रन बनाएपछि उनले टोलीमा स्थान बनाउन सकेनन्।
शरदले सन् २०२२ मै सन्न्यास घोषणा गर्ने सोच बनाइरहेका थिए। तर, त्यस्तो घोषणा गर्नुअगावै १४ फेब्रुअरी २०२२ मा आयरल्यान्डसँग खेलेको म्याच नै उनको अन्तिम खेल बन्यो। त्यसयता उनलाई क्याम्पमा बोलाइए पनि प्रशिक्षकले टोलीमा राख्न मानेनन्। घरेलु प्रतियोगिता खेलिरहेका शरदलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सन्न्यास लिने धोको थियो। तर, उक्त अवसर नजुर्दा उनले सन्न्यासको घोषणा गर्न सकिरहेका थिएनन्।
लामो समयपछि उक्त अवसर कुनै बेला उनकै कप्तान रहेका तथा हाल नेपाल क्रिकेट संघ (क्यान)का सचिव रहेका पारस खड्काले जुराइदिए। हङकङमा भएको हङकङ सिक्सेसमा क्यानले उनलाई कप्तानको भूमिकामा पठायो। टोली घोषणा गर्दा उनले यो आफ्नो अन्तिम प्रतियोगिता हुने बताइसकेका थिए। उक्त प्रतियोगितामा उनले श्रीलंकाविरुद्ध एक मात्र इनिङ्स खेले। तर, उक्त इनिङ्समा एक रनभन्दा बढी बनाउन सकेनन्। “हङकङ सिक्सेसमा अरू राष्ट्रबाट पनि रिटायर्ड खेलाडी आउने गर्छन्। तर, क्यानले यसपल्ट मलाई पनि सम्मानस्वरूप त्यो अवसर दियो। त्यस्तो महत्त्वपूर्ण प्रतियोगिता त थिएन, तर सन्न्यास लिने सही प्लेटफर्म रह्यो,” उनी भन्छन्।
सन्न्यासपछि उनको योजना के छ, त्यो उनले अझै खुलाएका छैनन्। तर, कमेन्टेटरको भूमिकामा देखिन थालेका शरदले हालै आफ्नो युट्युब च्यानल पनि खोलेका छन्। उनी लेभल टु प्रशिक्षक, फिट्नेस ट्रेनर र आर्ट अफ लिभिङका शिक्षक पनि हुन्। उनी भन्छन्, “अबको मेरो बाटो नेपाली क्रिकेटका लागि जहाँ योगदान दिन पाइन्छ, त्यहीँ हुनेछ।”