आवरण
मदन भण्डारी फाउन्डेसनमा आबद्ध ओली–भण्डारीका विश्वासपात्रलाई सधैँ लाभको पद र सरकारी स्रोतमा असीमित पहुँच
राजनीतिक शक्ति र सरकारी स्रोतमा पहुँच बनाएको मदन भण्डारी फाउन्डेसनलाई माध्यम बनाएर ठूला लाभको पदमा पुग्ने पात्रहरूको संख्या ठूलो छ। फाउन्डेसनको नेतृत्व गरेका पात्रहरू राजकीय, सरकारी निकाय र एमालेका महत्त्वपूर्ण पदमा पुगेका छन्। फाउन्डेसनमा गोलबन्द भएका व्यक्तिहरूले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्री, सांसद मात्रै नभएर विश्वविद्यालयको कुलपतिदेखि विभागीय प्रमुखसम्ममा नियुक्ति पाएका छन्। एमालेबाट लाभको पद पाउनेमा फाउन्डेसनसम्बद्धकै दबदबा देखिन्छ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारीको विचारलाई चिरस्थायी बनाउन र समाज कल्याणको काम गर्न स्थापना गरिएको फाउन्डेसन सरकारी स्रोतको दोहन र उच्च राजनीतिक तथा प्रशासनिक तहमा नियुक्तिको माध्यम बनेको छ। फाउन्डेसन स्थापना गर्न प्रमुख भूमिका निर्वाह गरेका एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म अविच्छिन्न संरक्षक हुन्। ओली फाउन्डेसनलाई माध्यम बनाएर एमाले अध्यक्ष बने भने चारपटक देशको प्रधानमन्त्री भए। “मदन भण्डारी फाउन्डेसन हुँदैनथ्यो भने केपी शर्मा ओली पार्टी अध्यक्ष र चारपटक प्रधानमन्त्री बन्नुहुन्नथ्यो,” मदन भण्डारी फाउन्डेसनका पूर्वकेन्द्रीय सदस्य दामोदर अर्याल भन्छन्। अर्याल २०६६ सालदेखि २०७८ सम्म फाउन्डेसनको केन्द्रीय सदस्य र भेरी अञ्चल इन्चार्ज थिए।
एमालेमा मनमोहन अधिकारी, मदन भण्डारी र माधव नेपाल, झलनाथ खनाल नेतृत्वमा रहेको समयमा पार्टीमा ओलीको खासै बोलवाला थिएन। पछि २०७१ सालमा सम्पन्न एमालेको नवौँ महाधिवेशनबाट उनी पार्टी अध्यक्षमा पहिलोपटक चुनिएका हुन्। ओलीले फाउन्डेसनमार्फत एमाले नेतृत्वमा पुग्न पार्टीभित्र लोकतन्त्रीकरणको बहस नै सञ्चालन गरेका हुन्। फाउन्डेसनले नै ओलीलाई एमालेको राजनीतिमा स्थापित हुन महत्त्वपूर्ण मञ्च उपलब्ध गराएको हो। सुरुमा फाउन्डेसन स्थापनाको योजना ओलीकै थियो।
मदन भण्डारीकी पत्नी तथा फाउन्डेसनको सुरुको तीन कार्यकाल अध्यक्ष भएकी विद्यादेवी भण्डारी दुई कार्यकाल देशको राष्ट्रपतिसमेत भइन्। सात वर्ष राष्ट्रपति भएकी भण्डारी कार्यकाल सकिएपछि फेरि फाउन्डेसनकी संरक्षक बनेकी छन्। त्यसयता फाउन्डेसनको मञ्च प्रयोग गरेर उनले फेरि एमाले नेतृत्वको दाबी गरेकी छन्। १४ असार २०८२ मा राष्ट्रिय सभागृहमा फाउन्डेसनकै मञ्चबाट उनले फेरि सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी थिइन्।

फाउन्डेसनबाट सबैभन्दा धेरै लाभ लिने पनि एमाले अध्यक्ष ओली र भण्डारी नै हुन्। उनीहरूसँग काम गरेर विश्वास आर्जन गरेका अरू धेरैले सरकारी तथा एमालेको राजनीतिमा महत्त्वपूर्ण अवसर पाएका छन्। ओली एमाले अध्यक्ष भएपछि त एमालेको पार्टी संगठनमा पनि फाउन्डेसनमै आबद्ध पात्रलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ। विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि फाउन्डेसनको कार्यसमिति सदस्य थिए। फाउन्डेसनमा सदस्य रहेका सोमनाथ अधिकारी प्यासी गण्डकी प्रदेश प्रमुख बनिसकेका छन्।
फाउन्डेसनका कार्यसमिति सदस्य रहेका नन्दबहादुर सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति बने। त्यसैगरी फाउन्डेसनको सदस्य रहेका गोल्डेनगेट कलेजका सञ्चालक रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बने।
फाउन्डेसनका कुनै बेलाका महासचिव हिक्मतकुमार कार्की अहिले कोसी प्रदेशका मुख्यमन्त्री छन्। कार्की दोस्रोपटक कोसी प्रदेशका मुख्यमन्त्री बनेका हुन्। मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव पनि फाउन्डेसनकै कार्यसमिति सदस्य थिए। यसअघि डोरमणि पौडेल बागमती प्रदेशका मुख्यमन्त्री भए। फाउन्डेसनका सदस्य रहिसकेका उनी अहिले मदन भण्डारी हीरक जन्मजयन्ती व्यवस्थापन समितिका संयोजक छन्। पूर्वराष्ट्रपति विद्या भण्डारीका विश्वासपात्र मानिएका कोसी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई पनि फाउन्डेसनको कार्यसमिति सदस्य थिए। भण्डारीकै जोडबलमा मुख्यमन्त्री हुनुअघि उनी एकपटक सूचना तथा सञ्चारमन्त्रीसमेत भएका थिए।

मदन भण्डारी फाउन्डेसनमा आबद्ध नेताहरू दामोदर भण्डारी, गुरु बराल, राजन भट्टराई, आनन्द पोखरेल, कृष्णगोपाल श्रेष्ठ, विमला पौडेल राई, महेन्द्रबहादुर पाण्डे, छविलाल विश्वकर्मा
फाउन्डेसनमा आबद्ध व्यक्तिहरूले एमालेमा स्रोत र शक्तिमा पहुँच पाउनु सामान्य जस्तै भएको छ। फाउन्डेसनका कैयौँ सदस्यले एमाले सरकारमा छँदा मन्त्री, सांसद र महत्त्वपूर्ण राजनीतिक नियुक्ति पद हासिल गरिसकेका छन्।
विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष गणेशमान गुरुङ पनि फाउन्डेसनका सदस्य थिए। पछि उनी गण्डकी विश्वविद्यालयको कुलपतिसमेत भए। त्यसैगरी उनी एक कार्यकाल विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिवको जिम्मेवारीमा समेत रहे।
फाउन्डेसनको स्थापनाकालदेखि सदस्य रहेका प्रेमसागर लुइँटेल त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रार कार्यालयको अनुसन्धान निर्देशक भए भने चिरञ्जीवी शर्मा पोखरा विश्वविद्यालयको उपकुलपति भए। २०६० मा फाउन्डेसनको सदस्य बनेका स्वर्गीय चैतन्य शर्मा त्रिवि सेवा आयोगको अध्यक्ष मात्र भएनन्, तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् उपाध्यक्ष पनि बने। मन्त्री अध्यक्ष रहने परिषद्मा उपाध्यक्ष नै कार्यकारी प्रमुख हुन्छ।
फाउन्डेसनका कार्यसमिति सदस्य रहेका नन्दबहादुर सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति बने। त्यसैगरी फाउन्डेसनको सदस्य रहेका गोल्डेनगेट कलेजका सञ्चालक रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बने। त्यस्तै, फाउन्डेसनमै आबद्ध जिवछ साह राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको सदस्य भए। फाउन्डेसनको सदस्य रहँदै एमाले सचिव छविलाल विश्वकर्माका जेठा ज्वाइँ निर्मल विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत भए। वनविज्ञानका विज्ञ निर्मललाई राजदूत बनाउन ससुरा छविलालले राष्ट्रपति भएको बेला विद्या भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग हारगुहार गरेका थिए।
नेपालले पार्टीमा पेलेको बेला ओली-भण्डारीका लागि फाउन्डेसन वैकल्पिक मञ्च बनेको थियो।
फाउन्डेसनको उद्देश्यमा ‘समाज तथा बहुसंख्यक मानिसको हितमा काम गर्ने’ उल्लेख छ। फाउन्डेसनमा आबद्ध हुनका लागि भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) स्वीकार गर्नुपर्दछ। “मदन भण्डारीको विचार मान्नेहरूको संस्था हो यो। एमालेभित्र एउटा पंक्ति जबजविरुद्ध लाग्यो, त्यसैले त्यसलाई विस्थापित गर्नुपर्छ भनेर फाउन्डेसन खोलेका हौँ,” फाउन्डेसनका पूर्वअध्यक्ष महेन्द्रबहादुर पाण्डे भन्छन्, “त्यसबेला पार्टी नेतृत्वले यसलाई ठीक ढंगले ड्राइभ गर्न सकेन। जबज नाराका रूपमा मात्रै रह्यो। त्यसलाई जनतामा स्थापित गर्न संस्था चाहिन्छ भनेर फाउन्डेसन खोलिएको हो।”
सम्बन्धित समाचार :
पाण्डेका अनुसार मदन भण्डारी फाउन्डेसन स्वयंसेवी संस्थाका रूपमा छ। तर, यसलाई उपयोग गरेर एमाले र सरकारमा महत्त्वपूर्ण पद हासिल गर्नेहरूको कुनै कमी छैन। पाण्डे थप्छन्, “यसको कार्यसमितिमा बस्ने सबैले स्वयंसेवी रूपमा काम गर्ने भन्ने हो।”
सामाजिक र प्राज्ञिक क्षेत्रबाट मदन भण्डारीको विचारलाई अघि बढाउने भने पनि कुनै समय केपी शर्मा ओलीलाई एमाले अध्यक्ष बनाउने एक मात्रै उद्देश्य थियो, फाउन्डेसनको। त्यसका लागि सबै तयारी फाउन्डेसनले नै गरेको हो। फाउन्डेसनका पूर्वकेन्द्रीय सदस्य दामोदर अर्याल भन्छन्, “सुरुमा एमालेको आन्तरिक प्रतिस्पर्धामा पराजित अधिकांशलाई फाउन्डेसनमा ल्याएर व्यवस्थापन गरिन्थ्यो र फाउन्डेसनको एउटै उद्देश्य केपी शर्मा ओलीलाई एमालेको अध्यक्ष बनाउने थियो।”

सुरुमै एमालेको समानान्तर संगठनका रूपमा विकास गरिएको फाउन्डेसनका सबै जिल्लामा कार्यसमिति छन्। त्यसले ओलीको अलग धारको राजनीतिलाई तल्लो तहसम्म विस्तार गरेको थियो। मदन भण्डारीको निधनपछि एमालेको मुख्य नेतृत्वमा रहेका माधवकुमार नेपालले पार्टीमा ओलीलाई अल्पमतमा सीमित गरिदिएका थिए। नेपालले पार्टीमा पेलेको बेला ओली-भण्डारीका लागि फाउन्डेसन वैकल्पिक मञ्च बनेको थियो।
सरकारी पदमा मात्रै नभएर एमालेको आन्तरिक राजनीतिमा पनि ओली अध्यक्ष भएपछि फाउन्डेसनमा सक्रिय भएकाहरूले सरकार र पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्।
फाउन्डेसनका सुरुआतकालीन केन्द्रीय सदस्य दामोदर अर्याल एमालेबाट अलग भएर नेकपा (एकीकृत समाजवादी)मा आबद्ध थिए। उक्त पार्टी हालै नेपाली कम्युनिस्ट पार्टीमा मिलेको छ। अर्याल भने माधव नेपाललाई छाडेर घनश्याम भुसाल नेतृत्वको नेकपा वामपन्थी केन्द्रतिर लागेका छन्। त्यस्तै, फाउन्डेसनको कुनै बेला केन्द्रीय सदस्य रहेका मोहनसिंह राठौर २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ का उम्मेदवार थिए। यी दुईबाहेक फाउन्डेसनमा आबद्ध अरू अहिलेसम्म एमालेमै छन्।

मदन भण्डारी फाउन्डेसनमा आबद्ध नेताहरू चिरञ्जीवी शर्मा, सुशील प्याकुरेल, नन्दबहादुर सिंह, कुन्दन अर्याल, टीकाप्रसाद ढकाल, भेषराज अधिकारी, जिवछ साह र महेन्द्र विष्ट
कतिसम्म भने, एकपटक मदन भण्डारी फाउन्डेसनमा केन्द्रीय सदस्य रहेका अधिकांश एमाले नेता-कार्यकर्ता लामो समय ओली-भण्डारी गुटमै सक्रिय रहे। तर, पछिल्लो समय ओली-भण्डारीबीच दुरी बढेसँगै उनीहरू पनि विभाजित छन्। फाउन्डेसनमा अहिले भण्डारी निकटहरूको बाहुल्य छ। अहिले एमाले अध्यक्ष ओली फाउन्डेसनप्रति रुष्ट छन्। उनले केही समयअघि मात्रै फाउन्डेसन पार्टी नेतृत्वविरुद्ध लागेकाले त्यसका गतिविधि अनुगमनको दायरामा ल्याउनुपर्ने बताएका थिए।
सम्बन्धित समाचार :
सरकारी पदमा मात्रै नभएर एमालेको आन्तरिक राजनीतिमा पनि ओली अध्यक्ष भएपछि फाउन्डेसनमा सक्रिय भएकाहरूले सरकार र पार्टीमा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन्। लामो समय फाउन्डेसनमा हालीमुहाली गरेका गुरु बराललाई ओलीले पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि पार्टी उपाध्यक्षकै जिम्मेवारी सुम्पिए। रोचक के छ भने, पूर्वसांसदसमेत रहिसकेका बरालले मोरङको उर्लाबारीमा पनि मदन भण्डारी स्मृति प्रतिष्ठान नामक अर्को संस्था खडा गरेर हालीमुहाली गरिरहेका छन्। बराल त्यो संस्थाका पनि अध्यक्ष हुन्।
काठमाडौँ मालीगाउँको सानो कोठाबाट सुरु भएको मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्र अहिले फाउन्डेसनका रूपमा एमालेको राजनीतिमा प्रभाव पार्ने शक्तिशाली केन्द्र भएको छ।
ओली गुटमै सक्रिय एमाले सचिव छविलाल विश्वकर्मा पनि मदन भण्डारी फाउन्डेसनका सदस्य थिए। विश्वकर्मा पनि निरन्तर लाभको पद पाउने दलित पात्रमा पर्छन्। २०५१ सालको एमालेको नौमहिने सरकारमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य रहेका विश्वकर्मा २०५४ सालमा तत्कालीन उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्ष बने। २०६३ सालमा अन्तरिम व्यवस्थापिका-संसद् सदस्यमा मनोनीत उनी तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सर्वदलीय सरकारको कृषि तथा सहकारीमन्त्री भए। २०६४ सालको संविधानसभामा उनलाई एमालेले समानुपातिक सांसद बनायो भने २०७४ र २०७९ सालको चुनावमा उनी रुपन्देही १ बाट दुईपटक सांसद चुनिए। दलितका नाममा एमालेको संगठन, संसद् र सरकारमा उच्च पद पाउने छविलाल एक्ला पात्र हुन्।

फाउन्डेसनको केन्द्रीय सदस्य रहिसकेका भानुभक्त ढकाल पनि लाभको पद पाउनेमै पर्छन्। ओली प्रधानमन्त्री रहेका बेला उनी न्याय, कानुन तथा संसदीय व्यवस्था, स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएका थिए। एमालेमा चाहिँ अहिले उनी मोर्चा संगठन विभाग प्रमुख छन्। एमाले स्थायी कमिटी सदस्य राजन भट्टराई ओली प्रधानमन्त्री हुँदा २०७४ सालमा परराष्ट्र सल्लाहकार थिए। उनी पनि एक कार्यकाल फाउन्डेसनका महासचिव थिए।
पारिवारको कब्जा
काठमाडौँ मालीगाउँको सानो कोठाबाट सुरु भएको मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्र अहिले फाउन्डेसनका रूपमा एमालेको राजनीतिमा प्रभाव पार्ने शक्तिशाली केन्द्र भएको छ। राज्यको स्रोतमा शक्ति अभ्यास गर्ने थलोका रूपमा ओली-भण्डारीले सुरुदेखि नै विकास गरेको यो संस्था धेरै एमाले नेताका लागि लाभको पद हासिल गर्ने माध्यम बनेको छ। २०५६ सालमा अच्युतप्रसाद न्यौपानेको नेतृत्वमा सुरु भएको संस्थाको २६ वर्षे जीवनमा एमालेका शक्तिशाली नेता तथा परिवारको सदस्यहरू हाबी भएका छन्। सुरुमा आमा विद्यादेवी भण्डारी अध्यक्ष रहेको फाउन्डेसनमा अहिले जेठी छोरी उषाकिरण भण्डारी अध्यक्ष छिन्। त्यसैगरी मदन भण्डारीकी भतिजी मिना भण्डारी कोषाध्यक्ष छिन्। मदन भण्डारीका भाइहरू कैलाश र प्रेम भण्डारी पनि फाउन्डेसनको कार्यसमिति सदस्य छन्।

आमा विद्यादेवी भण्डारीसँग मदन भण्डारी फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी
लामो समय फाउन्डेसनको कोषाध्यक्ष रहेका चिन्तामणि भट्टराई मदन भण्डारीका भान्जा हुन्। “बाहिरबाट हेर्दा परिवारका सदस्यहरूको जस्तो देखिए पनि यो मदन भण्डारीको परिवारको मात्र संस्था होइन,” फाउन्डेसनका सदस्य तथा विद्या भण्डारीका भाइ डेगेन्द्र पाण्डे भन्छन्, “यो विद्या वा उषाको मात्र संस्था होइन। यो उहाँहरूसहित हामी सबैको हो।”