व्यक्तिवृत्त
माधव नेपालको मन्त्रिमण्डलमा ऊर्जा राज्यमन्त्रीको पदभार सम्हालेका चन्द्रसिंह भट्टराई ८३ वर्षको उमेरमा पनि साइकलबाट लामो यात्रा गर्न रुचाउँछन्। उनको जीवनशैली देखेर सबै जना लोभिने गर्छन्। औषधिको नाममा अहिलेसम्म उनले न ब्लडप्रेसर, न सुगरको चक्की खानुपरेको छ।
३ मंसिरमा टीकापुरबाट खजुरासम्मको करिब ८५ किलोमिटरको यात्रा लगभग सात घण्टामा साइकलबाट पूरा गरेपछि चन्द्रसिंह भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘बिहान साढे ११ बजे घरबाट साइकल चढेर हुलाकी राजमार्ग हुँदै नेपालगन्जतर्फ निस्किएको, साँझ ६ः२० बजे खजुरास्थित साथी रामेश्वर कँडेलको घरमा पुगेँ।’
पाठकहरूलाई लाग्न सक्ला– एक हृष्टपुष्ट युवाले साइकलबाट ८५ किलोमिटरको यात्रा सात घण्टामा पूरा गर्यो, यसमा के नै पुरुषार्थ भयो?
तपाईंहरू यही कुरा सोच्दै हुनुहुन्छ भने गलत हुनुहुन्छ। किनभने, कैलालीको टीकापुरबाट खजुरासम्मको साइकल यात्रा सात घण्टामा पूरा गर्ने व्यक्ति ८३ वर्षका चन्द्रसिंह भट्टराई हुन्।
“अब त साइकल नै मेरो जिन्दगी हो। आफूसँग हिमचिम गरेका धेरै साथीभाइले छोडेर गइसके। न मैले साइकल छोडेको छु, न साइकलले मलाई”
६ दशक नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी पूर्वशिक्षक तथा पूर्वऊर्जा राज्यमन्त्री पनि हुन्। अहिले उनको सबैभन्दा लोभलाग्दो कुरा भनेको शारीरिक सक्रियता नै हो। ८३ वर्षको उमेरमा पनि उनी साइकल पेलेर सबै ठाउँ पुग्ने गर्छन्।
३ मंसिरको साँझ टीकापुरबाट खजुरा पुगेपछि उनले आफ्नो दैनिकी यसरी बयान गरे, “घरबाट निस्कन अलि ढिलो भएकाले खजुरा पुग्दा अँध्यारो भयो। खजुरामै रहेको साथी रामेश्वर कँडेलको घरमा बसेँ। अनि बिहान घरबाट साइकल यात्रा गर्दै नेपालगन्जस्थित अर्का साथी पूर्वसूचना तथा सञ्चारमन्त्री शिवराज जोशीको घर पुगेँ। जोशीसँग गफगाफ गरेर साइकल चढेरै अर्का साथी पूर्वसांसद कैलाशनाथ कशौधन गुप्ताको घर पुगेर भेटघाट गरेँ।”
चन्द्रसिंहको जन्म भारतको कानपुरमा भएको थियो। उनले ९ वर्षको उमेरदेखि साइकल चलाउँदै आएका छन्। भारतमै रहँदा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको विचारबाट उनी प्रभावित भए। कानपुरबाट हाइस्कुलको परीक्षा पास गरेपछि धनगढी फर्किए। २०१८ सालयता विभिन्न विद्यालयमा आबद्ध भएर अंग्रेजी विषयको अध्यापन गराए। २०२१–२२ सालमा राष्ट्रिय समाचार समिति (रासस)को स्थानीय संवाददाता भएर पत्रकारिता पनि गरे। यसपछि सर्टिफिकेट लेभल (आईए) पढ्न काठमाडौँ हानिए। तर, राजनीतिमा सक्रिय हुँदा पढाइ सोचेजस्तो भएन। २०२४ सालमा पुनः तराई झरेर कैलालीको मुनुवामा शिक्षण पेसामा सक्रिय बने।
हो, यति नै बेला उनले पहिलो साइकल किनेका थिए। यसपछि साइकलसँगको उनको नाता यति प्रगाढ भयो, जुन ८३ वर्षको उमेरमा पनि निरन्तर छ। केही वर्षयता उनलाई छोडेर जाने साथीहरूको सूची लामो छ। तर, साइकलले उनको साथ छोडेको छैन।

चन्द्रसिंह भट्टराईको साइकल
“अब त साइकल नै मेरो जिन्दगी हो। आफूसँग हिमचिम गरेका धेरै साथीभाइले छोडेर गइसके। न मैले साइकल छोडेको छु, न साइकलले मलाई,” गत साता नेपालगन्जमा भेटिएका उनी भन्दै थिए।
असार २०६६ देखि माघ २०६७ सम्म तत्कालीन नेकपा (एमाले)का महासचिव माधव नेपालको मन्त्रिमण्डलमा उनले करिब १९ महिना ऊर्जा राज्यमन्त्रीको पदभार ग्रहण गरे। त्यतिबेला उनलाई सरकारी गाडीमा देख्दा स्थानीयहरू अचम्म मान्थे। गाडीमा उनको उपस्थिति सबैलाई नयाँ र अनौठो लाग्थ्यो। उनी गाडी चढेको त्यो कार्यकाल सम्झिँदा अहिले पनि हाँस्ने गर्छन्।
उनले पहिलो साइकल कैलालीको सीमावर्ती भारतीय बजार तिकुनिया पुगेर २५० रुपैयाँमा किनेका थिए। उनलाई साइकलको ब्रान्ड अझै याद छ– एट्लस, जुन त्यतिबेला भारतको नम्बर १ ब्रान्ड मानिन्थ्यो। शिक्षकका रूपमा कैलालीमा १२ वर्ष सक्रिय रहँदा त्यही एट्लस साइकल उनको नम्बर १ सारथि थियो।
“साइकल पेलेर पैसा कमाएँ। प्राइभेट परीक्षा दिएर अंग्रेजी विषयमा आईए र बीएको पढाइ पूरा गरेँ। राजनीति पनि यही साइकल पेलेरै सुरु गरेँ,” साइकलसँगको आफ्नो भावना पोख्दै उनी भन्छन्।
चन्द्रसिंह २०३६ सालको जनमतसंग्रह घोषणालगत्तै राजनीतिमा सक्रिय भए। यसपछि शिक्षकको जागिर छोडे। उनलाई चिन्नेहरू अझै भन्ने गर्छन्– चन्द्रसिंहलाई हामीले कहिल्यै गाडीमा देखेनौँ। कि पैदल देख्यौँ, कि साइकलमा।
असार २०६६ देखि माघ २०६७ सम्म तत्कालीन नेकपा (एमाले)का महासचिव माधव नेपालको मन्त्रिमण्डलमा उनले करिब १९ महिना ऊर्जा राज्यमन्त्रीको पदभार ग्रहण गरे। त्यतिबेला उनलाई सरकारी गाडीमा देख्दा स्थानीयहरू अचम्म मान्थे। गाडीमा उनको उपस्थिति सबैलाई नयाँ र अनौठो लाग्थ्यो। उनी गाडी चढेको त्यो कार्यकाल सम्झिँदा अहिले पनि हाँस्ने गर्छन्।
“पञ्चायतकालमा नेपाली कांग्रेसको संगठन विस्तार गर्दा साइकल चढेर कहिले कैलाली, कहिले कञ्चनपुर पुग्थेँ। बर्दिया र बाँके जिल्लाका अधिकांश बस्ती पुगेर संगठनको काम गरेँ। साइकलमा देखिरहेको व्यक्तिलाई गाडीमा देख्दा अनौठो लाग्नु स्वाभाविक हो,” उनी भन्छन्। उनले २०४८ देखि २०५७ सालसम्म करिब नौ वर्ष कैलाली कांग्रेसको जिल्ला सभापति भएर काम गरे।
राज्यमन्त्रीको जिम्मेवारीबाट हटेलगत्तै २०६८ सालमा टीकापुर बजारबाट अर्को साइकल किने, लेडीबर्ग। जसको मूल्य पाँच हजार थियो। लेडीबर्ग महिलाले चढ्ने साइकल मानिन्छ।
उनको जीवन निकै सरल र सादा छ। २०६१ सालदेखि शाकाहारी बनेका उनी बिहान ४ बजे उठिसक्छन्। दैनिक दुई घण्टा योग गर्छन्। यस उमेरमा पनि औषधि खाँदैनन्।
“चढ्न र ओर्लन सहज हुने भएकाले मेरो रोजाइमा त्यो साइकल पर्यो। करिब चारपाँच वर्ष चढेपछि २०७२ सालमा फेरि अर्को लेडीबर्ग साइकल किनेँ। अहिले त्यो साइकल चढेको १० वर्ष पूरा भइसकेको छ। यही साइकल चढेर आफ्नो राजनीतिक गतिविधि र दैनिक व्यवहारमा लागिरहेको छु,” उनी साइकलप्रतिको मोह सुनाउँछन्।
२०७८ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको टिकट वितरणमा नेपाली कांग्रेसले योग्यता, क्षमता र योगदानको कदर नगरी पहुँचका भरमा अयोग्य व्यक्तिलाई टिकट वितरण गरेको गुनासोसँगै उनले सक्रिय राजनीतिबाट सन्न्यास लिए। अहिले उनले विचार मिल्ने कांग्रेसका समकालीन नेताहरू वसन्त गौतम, ऋषिकेश तिवारी र पुरुषोत्तम बस्नेतसँग मिलेर प्रयास समूह गठन गरेका छन्। यो समूहको उद्देश्य हो– पार्टीहरूमा बढ्दै गएका विकृति र विसंगतिको विरोध गर्दै जुनसुकै पार्टीको भए पनि असल र सक्षम व्यक्तिलाई नेतृत्व तहमा पुर्याउन लबिइङ गर्ने।

साइकल डोर्याउँदै चन्द्रसिंह भट्टराई
चन्द्रसिंहका तीन छोरा र एक छोरी छन्। जेठा छोरा दाङको तुलसीपुरमा केराको व्यापारमा व्यस्त छन् भने माइला छोरा-बुहारी वैदेशिक रोजगारीका क्रममा दुबई र कान्छा छोरा-बुहारी अमेरिकामा छन्। छोरीज्वाइँ प्रचण्डविक्रम न्यौपाने लुम्बिनी प्रदेश सरकारमा यातायातमन्त्रीका रूपमा कार्यरत छन्। पछिल्ला दिन चन्द्रसिंह दम्पती टीकापुरमा बस्दै आएका छन्।
उनको जीवन निकै सरल र सादा छ। २०६१ सालदेखि शाकाहारी बनेका उनी बिहान ४ बजे उठिसक्छन्। दैनिक दुई घण्टा योग गर्छन्। यस उमेरमा पनि औषधि खाँदैनन्। स्वास्थ्यका सबै सूचक सामान्य नै छन्। भन्छन्, “नियमित योग र साइकल चढाइकै कारण मैले औषधि खानुपरेको छैन।”
नेता बीपी कोइरालाले भनेको एउटा उक्ति सुनाउँदै मजगैयालाई उल्टै चुप लगाए— जीवन भनेकै जोखिमपूर्ण यात्रा हो। त्यसैले चुनौतीहरूको सामना गरेरै अगाडि बढ्नुपर्छ।
साइकललाई उनी यातायातको सस्तो र सहज माध्यम मान्छन्। साइकल चलाउनु स्वास्थ्यका दृष्टिले पनि राम्रो भएको उनको तर्क छ। “साइकल चलाउन अरूको भर पर्नु पर्दैन। पहिला मोटरसाइकल चलाइएन। ६० वर्ष पुगेपछि लाइसेन्स पनि पाइँदैन। त्यसैले साइकल मेरो जीवनको एउटा हिस्सा बनेको छ,” उनी भन्छन्।
उनलाई परिवारका सदस्य तथा साथीभाइले एक्लै साइकल चलाएर लामो यात्रा नगर्न बेलाबेला सल्लाह दिन्छन्। तर, माने पो! उनी शरीरले साथ दिँदासम्म साइकल चढ्न नछोड्ने स्पष्ट पार्छन्।
४ मंसिर बिहान उनीसँग साइकल संवाद गरिरहेको बेला पूर्वजलस्रोतमन्त्री बलदेव शर्मा मजगैयाको फोन आयो। मजगैयाले फोनबाटै सुझाव दिए, ‘एक्लै लामो दुरीमा साइकल चलाउँदा दुर्घटनाको जोखिम हुन्छ। नचलाउनु है दाइ।’
तर, उनी टेर्नेवाला कहाँ थिए? नेता बीपी कोइरालाले भनेको एउटा उक्ति सुनाउँदै मजगैयालाई उल्टै चुप लगाए— जीवन भनेकै जोखिमपूर्ण यात्रा हो। त्यसैले चुनौतीहरूको सामना गरेरै अगाडि बढ्नुपर्छ।
मसँग करिब एक घण्टा कुरा गर्दा उनी नेपालगन्जको गणेशपुरस्थित साली निर्मला सिजापतिको घरमा थिए। त्यहाँबाट बिदा हुँदै उनी साइकल पेलेर बिहान दाङ, तुलसीपुरस्थित जेठा छोराको घरतर्फ लागे। नेपालगन्जदेखि तुलसीपुरको दुरी करिब १२७ किलोमिटर छ। तर, ७७ किलोमिटर दुरी पार गरेपछि बाँकेको कुसुमभन्दा केही अगाडि उनको साइकल बिग्रिएछ। साइकल बिग्रिएकै कारण उनले त्यहाँ प्रहरीसँग सहयोग माग्नुपर्यो। राति ८ बजे तुलसीपुर पुगेका चन्द्रसिंह फोन गर्दै मलाई भन्दै थिए, “यसपटक नेपालगन्जबाट तुलसीपुरसम्मको दुरी साइकलमा पूरा गर्ने चाहना अधुरै रह्यो।”
उहाँको हौसला देखेर म चकित परेँ। र, उहाँलाई सान्त्वना दिँदै भनेँ, “चिन्ता नगर्नुस् दाइ, तपाईंको चाहना छिटै पूरा हुन्छ।”
छैन त चन्द्रसिंह दाइको आत्मविश्वासले भरिपूर्ण गजबको कहानी?