व्यक्तिवृत्त
रहस्यमयी बलिङले एनपीएलमा धुम मच्चाइरहेका शेरको टी-२० विश्वकप खेल्ने सपना
तीनपल्ट लगातार आईसीसी एकदिवसीय र त्यति नै पल्ट टी-२० विश्वकप खेलेका खेलाडीसँग खेल्न पाउनु आफैँमा गर्वको कुरा हो। अझ विश्वकै महँगो फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) खेलिसकेका खेलाडीसँग खेल्नु दुर्लभ संयोग पनि मानिन्छ।
तर, नेपाली युवा स्पिनर शेर मल्लले जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा यस्ता खेलाडीसँग खेल्न मात्र पाएनन्, उनीहरूको विकेटसमेत चट्काए। एनपीएलको अति महत्त्वपूर्ण मानिएको विराटनगर किङ्सविरुद्धको खेलमा दक्षिण अफ्रिकी ब्याटर फाफ डु प्लेसिसलाई तीन रनमा बोल्ड गरेपछि अहिले उनको चर्चा चुलिएको छ।
३२ भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेका डु प्लेसिसप्रति क्वालिफायर-२ को निर्णायक भिड्न्तमा विराटनगरले ठूलो आशा राखेको थियो। तर, ओपनर जर्ज मुन्से एक रनमै आउट भइसकेको अवस्थामा डु प्लेसिस पनि सम्हालिन सकेनन्। ११ हजारभन्दा बढी रन बनाइसकेका उनी तेस्रो ओभरको अन्तिम बलमा शेरको भित्र प्रवेश गरेको बलको सिकार भए।
विराटनगरको फाइनल पुग्ने सपना त्यही एउटा बलबाट उल्टियो। १३५ रनको सामान्य लक्ष्य पछयाइरहेको पूर्वेली टोली १७.५ ओभरमा ९४ रनमा समेटियो। लुम्बिनी लायन्स ४० रनले विजय हुँदै पहिलोपल्ट फाइनल पुग्यो।
यसपालि लुम्बिनीलाई फाइनलसम्मको यात्रा तय गराउन शेरको योगदान महत्त्वपूर्ण मानिएको छ। कप्तान रोहितकुमार पौडेल स्विकार्छन्, “उसलाई केही भन्नुपरेको छैन। बल दिनेबित्तिकै विकेट लिइहाल्छ।”
पौडेलको भनाइअनुरूप शेरले दोस्रो संस्करणमा १४ विकेट लिइसकेका छन् र सर्वाधिक विकेटकर्ताको दौडमा तेस्रो नम्बरमा छन्। उनीअगाडि विराटनगरका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने (१७) र सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा (१६) मात्र छन्।
चटगाउँमा सम्पन्न विश्वकप हेर्न त्यतिबेला सयौँको संख्यामा नेपाली समर्थक बाङ्लादेश पुगेका थिए। जसमा शेरको पनि उपस्थिति थियो।
विराटनगर प्रतियोगिताबाट बाहिरिइसकेको अवस्थामा शेरको टोली शनिबार नै उपाधि चुम्न अविनाशको टोली सुदूरपश्चिमविरुद्ध उत्रिँदै छ। यस खेलमा स्पिन बलिङको जादु देखाउन सके शेरलाई सर्वाधिक विकेटकर्ता बन्न कसैले रोक्न सक्नेछैन। किनभने, कीर्तिपुरको त्रिवि मैदान यतिबेला स्पिनमैत्री देखिएको छ।
पन्जाब कनेक्सन
शेर मल्लको बलिङ प्रभावशाली हुनुमा भारतीय क्रिकेटका महान् स्पिनर बिसन सिंह बेदीले कुनैबेला भारतीय क्रिकेटलाई सिँचेको पन्जाबको कनेक्सन बढी देखिन्छ। उनको जन्म डोटीको केआई सिंह गाउँपालिकामा भएको थियो। तर, बाल्यकालमै उनी पन्जाबको क्रिकेटसँग जोडिए। उनको परिवारका सदस्य रोजगारीको सिलसिलामा पन्जाब पुगेपछि शेरलाई क्रिकेट सिक्न सहज भएको हो।

शेर मल्ल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
पन्जाबको गल्लीमा क्रिकेट खेल्दै हुर्किएका उनी ६ कक्षा पढ्दापढ्दै विद्यालयको टिममा परे। उनी स्कुले टिममा हुँदा सन् २००७ मा भारतले आईसीसी टी-२० विश्वकप जित्यो र लगत्तै आईपीएलको सुरुआत गर्यो। उक्त लिगमा अस्ट्रेलियाका चर्चित लेग स्पिनर सेन वार्नदेखि रिकी पन्टिङसम्मले सहभागिता जनाए। आईपीएलको ज्वरोबाट उनी अछुतो रहन सकेनन्।
शेरको परिवारले सुरुका वर्ष क्रिकेट खेलेर उनको भविष्य चल्ने देखेको थिएन। त्यसैले उनी लुकेर खेल्न बाध्य भए। स्कुलको नियमित समय बिहान ९ देखि २ बजेसम्म थियो। तर, अतिरिक्त कक्षाको बहाना बनाउँदै उनी ५ बजे मात्र घर फर्किन्थे।
“क्रिकेट खेल्न थालेको ६ महिनापछि मात्र घरमा थाहा भयो। त्यो पनि एउटा साथीले पोल लगाएपछि,” विगत सम्झिँदै उनी भन्छन्, “सुरुमा पढाइमै ध्यान दे भन्नुहुन्थ्यो।”
पढाइ ठीकठाकै थियो। उनी पढ्ने स्कुलमा पनि क्रिकेटको राम्रो सुविधा थियो। स्कुले प्रशिक्षकले उनको क्षमताको विषयमा परिवारलाई जानकारी गराएपछि मात्र बिनारोकटोक क्रिकेट सिक्न पाए।
उनले पनि प्रशिक्षकको विश्वासअनुरूप जिल्ला हुँदै चण्डीगढको क्रिकेट एकेडेमीमा स्थान बनाए। एकेडेमीमा भारतका पूर्वक्रिकेटर आकाश चोपडा प्रशिक्षण गराउँथे। उनले आकाश चोपडाबाट पनि प्रशिक्षण लिने अवसर पाए।
उनी चण्डीगढको क्रिकेट एकेडेमीमा व्यस्त रहँदा नेपालले क्रिकेटमा फड्को मारिरहेको थियो। सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (युएई)को आबुधाबीमा सम्पन्न आईसीसी विश्वकप टी-२० क्वालिफायरमा तेस्रो हुँदै नेपाल पहिलोपल्ट विश्वकपका लागि छनोट भयो।
चटगाउँमा सम्पन्न विश्वकप हेर्न त्यतिबेला सयौँको संख्यामा नेपाली समर्थक बाङ्लादेश पुगेका थिए। जसमा शेरको पनि उपस्थिति थियो।
यसपालि प्रभावशाली प्रदर्शन गरेका उनी राष्ट्रिय टोलीमा स्थान बनाउने प्रबल दाबेदार हुन्।
नेपालले टी-२० विश्वकप खेलेको चार वर्षपछि अर्थात् सन् २०१८ मा उनी नेपाल फर्किएका हुन्। उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको प्रधानमन्त्री कपबाट घरेलु प्रतियोगितामा डेब्यु गरे। उक्त प्रतियोगितामा लामो समयदेखि टेलिभिजनको स्क्रिनमा देखिरहेका नेपालका स्टार खेलाडीसँग खेल्ने मौका पाएका उनले तीन खेलमा ११ विकेट लिँदै सनसनी मच्चाए। तीन विभागीयसहित १० टोली सहभागी उक्त प्रतियोगितामा उनी सुदूरपश्चिमबाट सहभागी थिए।
तर, जारी एनपीएलको फाइनलमा उनी आफ्नै क्षेत्रको टोलीविरुद्ध मैदानमा उत्रिँदै छन्। “खेलमा यस्तो हुन्छ,” उनी भन्छन्, “मैले पैसा कमाउने सोच कहिल्यै राखिनँ। खेल्नुपर्छ भन्ने भावनाले मलाई यहाँसम्म पुर्याएको हो।”
रहस्यमयी स्पिनर
नेपाली क्रिकेटमा शेर रहस्यमयी स्पिनरका रूपमा उदाएका छन्। अफ स्पिन, गुगली र लेग स्पिन तीनै प्रकारका बल फ्याँक्ने क्षमताले उनलाई अरू खेलाडीभन्दा विशेष बनाएको छ। विपक्षी ब्याटरको मानसिकता बुझेर बललाई गति र दिशा दिन पोख्त शेरको दुई वर्षयताको प्रदर्शनले यही भन्छ।

शेर मल्ल। तस्बिर : नेपाल फोटो लाइब्रेरी
उनले प्रधानमन्त्री कपको १८ इनिङ्समा ४२ विकेट लिइसकेका छन्। निरन्तर प्रभावशाली प्रदर्शन गरेकै कारण तत्कालीन प्रशिक्षक मोन्टी देसाईले उनलाई नेपाल ‘ए’ टोलीमा स्थान दिएका थिए। गत वर्ष क्यानडाविरुद्ध घरेलु मैदानमा भएको खेलमा उनले दुई विकेट पनि लिए।
पहिलो संस्करणको एनपीएलमा जनकपुर बोल्ट्सलाई फाइनल पुर्याउन पनि उनको योगदान निर्णायक रह्यो। कर्णाली याक्सविरुद्ध क्वालिफायरमा जित दिलाउन उनले १० बलमा एक छक्कासहित १६ रन बनाउनुका साथै बलिङतर्फ एक ओभरमा चार रन खर्चिएर एक विकेट लिएका थिए।
राष्ट्रिय टोलीमा ललितनारायण राजवंशीसहित दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, कुशल भुर्तेल, रोहितकुमार पौडेलजस्ता केही ‘पार्टटाइम’ स्पिनर हुँदा उनले मौका पाउन सकेका छैनन्। तर, यसपालि प्रभावशाली प्रदर्शन गरेका उनी राष्ट्रिय टोलीमा स्थान बनाउने प्रबल दाबेदार हुन्। नेपालले आउँदो फेब्रुअरीमा भारतको मुम्बईमा टी-२० विश्वकप क्रिकेट खेल्दै छ। त्यसका लागि उनी आतुर छन्।