काठमाडौं। घरेलु मैदानमा इतिहास रच्दै पहिलोपल्ट आईसीसी टी–२० महिला विश्वकप खेल्ने लक्ष्य बुनेको नेपालले पहिलो खेलमै निराशाजनक हार बेहोरेको छ।
नेपालले आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार बेहोरेको हो। नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। जितसँगै थाइल्यान्डले दुई अंक पनि हात पारेको छ।
थाइल्यान्डलाई सुखद् सुरुआत दिलाउन नथ्थकन चान्थमले अधर्शतक प्रहार गरिन्। अविजित रहँदै ३९ बल खेलेकी उनले ७ चौका र १ छक्कासहित ५७ रन बनाइन्।
नान्नापत कोन्चारोएनकाईले २४ बलमा ६ चौकासहित ३२ रन बनाउँदा ओपनर आपिसारा सुवान्चोनरथीले २८ रनको योगदान दिइन्। कप्तान नारुमोल चाइवाई ३ रनम अविजित रहिन्।
नेपालकी भेट्रान स्पिनर सीता रानामगरले २ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २० रन दिइन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो।
नेपालकी ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाए पनि खोर गर्यो। ५६ बल खेलेका उनले ६ चौका प्रहार गरेकी थिइन्।
अर्की ओपनर सोनु खड्का २६ रनमा आउट हुँदा रुविना क्षेत्री बेलबासे १७ र उपकप्तान पूजा महतो १२ रनमा आउट भइन्। अन्यले भने ब्याटिङमा प्रदर्शन देखाउन सकेनन्।
थाइल्यान्डकी थिपाचा पुथावोङले सर्वाधिक ४ विकेट लिइन्। ४ ओभर बलिङ गरेकी उनले २७ रन खर्चिइन्।
ओनिचा कामचोम्फुले २ विकेट लिँदा चानिदा सुथिरुआङ, सुलेपोर्न लाओमी र सुनीदा चतुरोङ्ग्राट्टानाले समान विकेट राखिन्।