भोजपुर। भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ।
यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना बनमालीले जानकारी दिइन्।
जिल्लाका ९ वटै स्थानीय तहका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको प्रमुख बनमालीले बताए।
उनका अनुसार जिल्लामा एक हजार ३९६ किशोरीलाई यस पटक खोप लगाइनेछ। गत वर्ष खोपबाट छुटेका १० देखि १४ वर्ष उमेर समूहका बालिकालाईसमेत यसपटक अनिवार्यरूपमा समेट्ने लक्ष्य स्वास्थ्य कार्यालयले लिएको छ।
विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपीभी खोप दिन लागिएको हो। खोप अभियान अन्तर्गत जिल्लामा २३१ वटा खोप केन्द्र निर्धारण गरिएका छन्। प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र एक स्वयंसेवक परिचालन हुने छन्।
नेपालमा पाठेघरको मुखको क्यान्सर महिलामा देखिने गम्भीर समस्यामध्ये एक हो। पाठेघरको क्यान्सर न्यूनीकरणका लागि ३० वर्षमाथिका महिलाको क्यान्सर ‘स्क्रिनिङ’ कार्यक्रम पनि सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।