जुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको धमाधम तयारी भइरहेको छ। साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा ६५४ जना कर्मचारी चुनावमा परिचालन गरिने जनाएको छ।
सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार जिल्लामा ११० मतदान केन्द्र र ८५ वटा मतदानस्थल कायम गरिएका छन्।
जिल्लामा ७१ हजार ७३९ जना मतदाता छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ९७४ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन्।
यसैबीच, निर्वाचनलाई लक्षित गर्दै जिल्लाका आठवटा स्थानीय तहका ६० वटै वडामा फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने भएको छ।
यसैगरी, अस्थायी मतदाताका लागि दुईवटा मतदान केन्द्र सञ्चालन हुने भएका छन्। आगामी फागुन ५ गतेसम्म अस्थायी मतदाता नामावाली सङ्कलन गरिने सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए।
हालसम्म ८९१ जना अस्थायी मतदाताको नामावाली सङ्कलन भएको छ।