काठमाडौँ। नेपाल आयल निगमले मुलुकमा खाना पकाउने ग्यास आपूर्ति तथा वितरणको अवस्था दृष्टिगत गर्दै नयाँ व्यवस्था लागु गरेको छ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार उद्योगी/व्यवसायीले बेचेको ग्यासको परिणाम हरेकदिन बिहान १० बजेसम्म सार्वजनिक गर्ने र निगमलाई जानकारी गराउनुपर्नेछ। निगमले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ‚ “निगमले मुलकभरिका ग्यास उद्योगीहरूलाई आ-आफ्नो उद्योगबाट विक्रेतालाई बिक्री गर्ने परिमाण, ठेगाना र सम्पर्क नम्बरसहित हरेक दिन बिहान १० बजेभित्र सार्वजनिक गरी निगमालाई जानकारी गराउन पुनःअनुरोध गर्दछ। साथै सम्बन्धित उद्योगका विक्रेताहरुले उपभोक्तालाई बिक्री गरेको नाम, सम्पर्क नम्बर र परिमाणसहितको रेकर्ड राखी सम्बन्धित उद्योगमार्फत हरेक दिन निगमलाई जानकारी गराउन हुन अनुरोध छ।”
निगमले २९ फागुनदेखि अर्को निर्णय नभएसम्म देशभरका सम्पूर्ण ग्यास उद्योगहरूले प्रतिसिलिन्डर ७.१ केजी एलपी ग्यास भरेर आधा मूल्य अर्थात् ९५५ रुपैयाँमा बजारमा बिक्री वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
निगमले ग्यास उद्योगी तथा एलपी ग्यास विक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकता दिएर ग्यास बिक्री/वितरण गर्न पनि आग्रह गरेको छ। “निगम ग्यास उद्योगी तथा एलपी ग्यासका विक्रेताहरूलाई घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर एलपी ग्यासको बिक्री/वितरण गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध गर्दछ‚” निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यसैबीच मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको पनि निगमले जनाएको छ। यद्यपि निगमले नियमित रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यास आपूर्ति गरी बिक्री वितरणको व्यवस्था मिलाइरहेको जनाएको छ।
निगमले आमसर्वसाधारणलाई आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पनि आग्रह गरेको छ, जसले सबै उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न सकून् भन्ने उद्देश्य राखिएको पनि निगमले जनाएको छ।
“निगमले आमसर्वसाधारणले सहज रूपमा एलपी ग्यास प्राप्त गर्ने हेतुले मिलाएको हुँदा आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न पुनः अनुरोध गर्दछ‚” निगमले विज्ञप्तिमा भनेको छ।
