काठमाडौँ
००:००:००
२ असार २०८३, मंगलवार

३० फाल्गुन २०८२
अ+
अ-

काठमाडौँ। खाना पकाउने ग्यास र सवारीसाधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ।

ग्यास हुँदाहुँदै छैन भनेर ग्राहकलाई नदिने‚ अब ग्यास पाइँदैन भनेर धेरै मूल्य लिने‚ इन्धन डिपोहरूमा तेल मौज्दाद हुँदाहुँदै छैन भनेर उपभोक्तालाई फर्काउने गरिएको गुनासो आउन थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको हो।

प्रशासन विभागका प्रमुख महेश काफ्ले भन्छन्‚ “ग्यास छैन भन्ने गलत सूचना प्रवाह गरेर मूल्य र सर्वसाधारणको जनजीवनमा असहज परिस्थिति सिर्जना गर्नेमाथि कारबाही गर्नेछौँ। नेपाल आयल निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ९१० रुपैयाँ तोकेको छ। यही मूल्यमा खरिद-बिक्री गर्न व्यवसायी र उपभोक्ताहरूमा हाम्रो अनुरोध छ।”

ग्यास अभाव हुने आशंका गरेर उपभोक्ताले बढी माग गर्ने गरेको पनि पाइएको छ। ‘यसरी ग्यास सञ्चिति गर्न थालियो भने माग र आपूर्तिको चक्रमा असर पुग्छ। यसकारण उपभोक्तालाई पनि जिम्मेवारपूर्वक ग्यास माग गर्नुपर्छ‚” उनी भन्छन्‚ “सहज जनजीविकाका लागि उपभोक्ता‚ उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको समान दायित्व छ। आफ्ना आफ्ना दायित्व सबैले पूरा गनुपर्छ।”

पेट्रोलपम्पहरूले पनि आफूसँग मौज्दात इन्धन हुँदाहुँदै छैन भनेर सवारीसाधनलाई उपलब्ध नगराउने सूचना पाएका छौँ। यसमा पनि हामीले निगरानी थालेको उनको भनाइ छ। ग्यास र इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखेमा तथ्यमा आधारित विवरण महानगरपालिकाका हटलाइन नम्बरहरु ११८० र ९८५१३५६५०९ मा टिपाउन सकिने व्यवस्था मिलाइएको छ। यसरी प्राप्त विवरणका आधारमा महानगरपालिकाले निगरानी गर्नेछ।

ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार भारतबाट आउने ग्यास अहिलेसम्म नियमित छ। माग धेरै भएकाले अभाव देखिएको हो। यसमा उपभोक्ताले सञ्चितिका लागि माग नगरे समस्या नदेखिने अर्यालको दाबी छ।