काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

परिकार

बालापनको स्वादलाई फेरि ब्युँताउने प्रयास

३० फाल्गुन २०८२
सबै तस्बिर : राजेश घिमिरे
अ+
अ-

लमजुङ बेसीसहरको एउटा रेस्टुराँमा भेला भएका एक हुल साथीभाइ खानाका अनेक बखान गर्दै थिए। त्यत्तिकैमा कसैले भन्यो, ‘मोहीको रोटी।’ धेरैले सुनेका रहेनछन्। मलाई भने त्यसले सिधै बाल्यकालमा लिएर गयो। मस्तिष्कमा एउटा पुरानो तस्बिर कोरियो, सम्झनाका स्वादहरू कल्पनामा ब्युँतिएर आए। काठमाडौँ सहरमा हुर्केबढे पनि खुब पाक्थ्यो हाम्रो घरमा मोहीको रोटीको तरकारी। लमजुङतिरबाट घरमा आउने दूधबाट बनेका दुई वटा कोसेली मुख्य हुन्थे– कुराउनी र मोहीको रोटी। कुराउनी ‌खुवाका रूपमा आधुनिकतामा पनि टिकेर बसेको छ, तर मोहीको रोटी हराउँदै गयो र विलीन हुने अवस्थामा पुगेको छ।

लमजुङको गोठमा मोहीको रोटी तार्ने तयारी। तस्बिर : वासुदेव न्यौपाने

‘यता पाइँदैन? मोहीको रोटी?’ साथीभाइलाई सोधिहालेँ। बरन्डा रेस्ट्रो एन्ड इभेन्ट्सका म्यानेजर भाइ अरुण ढकालले फोन डायल गरे, एकछिन कुराकानी गरे अनि भने, ‘साँच्चै खाने हो दाइ? ममीलाई सोधेको, घरमा रहेछ, अलि टुक्रा परेको छ रे। म मगाउँछु। अनि तपाईं हाम्रो रेस्टुराँको किचेनमा रिक्रिएट गर्नुस्।’

अरुणको घर लमजुङ भोटेओडारको अकलादेवी मन्दिरनजिक पर्छ। ‘किन मगाउन पर्‍यो, भोलि त्यही बाटो हिँड्न छ। लिँदै आम्ला,’ अरुणलाई भनेँ, ‘बरु सुरक्षित राख्दिनुस् चाहिँ भन्नु नि।’

भोलिपल्ट मध्यनेपाल नगरपालिकातिरका काम सकेर साँझपख अरुणको घरबाट मोहीको रोटी त ल्याइयो, तर कामको चापाचापले बरन्डा रेस्ट्रोको भान्सामा त्यसलाई पकाएर बालापनको स्वादलाई फेरि ब्युँताउने काम हुन सकेन। त्यो पोको झोलाको झोलैमा काठमाडौँ आइपुग्यो।

मोहीको रोटी बनाउने तरिका त थाहा भयो, तर तरकारी चाहिँ कसरी पकाउने त? लमजुङमा बसुन्जेल छाकैपिच्छे भान्सेहरूलाई कसरी पकाउने भनेर सोधियो। तर, धेरैलाई थाहा नै थिएन।

मोहीको रोटी भनेकै चाहिँ के हो त? दही मथिसकेर नौनी निकालेर बाँकी भएको मोहीलाई पकाएर एउटा बाक्लो रोटीको आकार दिइन्छ र आवश्यकता वा अभावका बेलामा त्यसलाई तरकारीका रूपमा पकाएर खाइन्छ। मोहीको रोटीलाई तरकारीमा मिसमास गरेर खाने काम बाहुन-क्षेत्री समुदायले मात्र गर्छ भन्ने बुझिन्छ। तीबाहेकका समुदायमा चाहिँ छुर्पीको रूप दिएर तारेर खाने चलन छ।

पश्चिमा मुलुकमा मोहीबाट सजिलैसँग चिज वा पनिरजस्तै ‘क्रिम चिज’ बनाइन्छ। यसमा कागती वा भिनेगर हालिँदैन; मोहीमा हुने प्राकृतिक अम्लीयपनले नै यसलाई जमाएर ठोस रूप दिन्छ। यसको प्रक्रिया मोहीलाई एउटा भाँडोमा राखेर आगोको सानो आँचमा बिस्तारै तताएपछि सुरु हुन्छ। मोही तातिँदै गएपछि बिस्तारै फाट्न थाल्छ। सेतो ठोस भाग र पानी छुट्टिन थालेपछि आगो बन्द गर्नुपर्छ। धेरै उमाले खस्रो र साह्रो हुन थाल्छ। त्यसपछि सेलाउन र सुतीको कपडा राखेर फाटेको मोहीलाई खन्याउने र कपडाको पोको पारेर केही घण्टा झुन्ड्याएर राख्ने। पानी सबै निथ्रिएपछि कपडामा नरम चिज तयार हुन्छ। पश्चिमाहरू यसमा थोरै नुन वा मरिच मिसाएर पाउरोटी वा रोटीमा दलेर खान्छन्। कुनै रासायनिक पदार्थको प्रयोगबेगर प्रोटिनको राम्रो स्रोत तयार हुन्छ।

यो त पश्चिमा तरिका भयो। हामीकहाँ कसरी बन्ने रहेछ भनेर सोधीखोजी थालियो। मनाङमा कार्यरत नेपाल टेलिभिजनका पत्रकार नवीन लामिछानेले सहयोग गर्ने वाचा गरे। उनले लमजुङ अलैँचेमा रहेका आफ्ना ७३ वर्षीय बुवा तुलसीप्रसाद लामिछानेलाई सोधे।

लमजुङमा दुहुना धेरै हुने, पुरुषजति गोठमा बस्ने र नौनी निकालेको मोहीलाई खेर फाल्न नचाहेका कारण नै सायद मोहीको रोटी बनाउने चलन आयो। हिउँदमा तरकारी र प्रोटिनको दह्रो स्रोत बनेर हाम्रा पुर्खाको जीवनमा बस्यो। मोहीको रोटी हाम्रो पारिस्थितिक प्रणाली र हाम्रो पुर्खाको जीवनशैलीको प्रतिविम्ब थियो।

बाँकी प्रक्रिया त उही नै रहेछ। तर, पानी निथ्रिएपछि कपडाको पोकोलाई मात्रा हेरेर लोहोरो वा सिलौटो वा जाँतोमुनि राखिन्छ। पानी सबै निथ्रिएपछि र रोटीको आकार आएपछि दाउरा बिस्कुन आदि सुकाउन अगेनामाथि बनाएको टाँड वा भारमा सुकाइन्छ। बुवा तुलसीप्रसादको भनाइमा, ‘घाममा सुकायो भने घाम गनाउँछ।’ यो प्रक्रिया सात दिन लाग्छ, छिटो खाने हो भने चाहिँ बाक्लो तावामा साल वा केरा पातमा रोटीको आकारमा राख्ने, माथिबाट पनि पातले छोप्ने र त्यसलाई पकाउने हो अनि फेरि उल्टाउने र पकाउने।

मोहीको रोटी बनाउने तरिका त थाहा भयो, तर तरकारी चाहिँ कसरी पकाउने त? लमजुङमा बसुन्जेल छाकैपिच्छे भान्सेहरूलाई कसरी पकाउने भनेर सोधियो। तर, धेरैलाई थाहा नै थिएन। चितीतिर ११ बजेतिर भात खाना लाग्दा भान्से आमैलाई सोधियो। आमैले भनिन्, ‘ससाना टुक्रामा काट्ने, पानीमा हालेर प्रेसर कुक गर्ने र नरम बनाउने। अनि नियमित तरकारीजसरी पकाउने। मासुजस्तै हुन्छ नि। कस्तो कुरा सम्झाउनुभयो। घरमा दुहुनो छैन। नत्र बनाउन हुन्थ्यो।’

पकाउने तरिकामा अझै स्पष्ट हुन काठमाडौँ आएपछि भरतपुर चितवनमा रहनुभएकी फुपू रेखा दिदीलाई सोधियो। दिदीले चाहिँ रोटीको कडापन हेरेर रातभरि तातोपानीमा भिजाएर बिहान अरू तरकारी जसरी पकाउँदा हुन्छ सुझाव दिइन्। ‘आलु भुट्ने, बाहिर निकाल्ने, अनि टुक्रा पारेको रोटी भुट्ने अनि त्यसलाई पनि निकाल्ने र प्याज, गोलभेँडा, मरमसला हालेर रोटी र आलु मिसाउने। तयार भइहाल्छ,’ दिदीले भनिन्। ‘कस्तो कुरो सम्झाइस् भाइ, प्लेनमा हालेर आधा मलाई पठाइदे न,’ दिदीको अनुरोध थियो।

केटाकेटी बेलामा आमाले पकाएको देखेको भए पो पकाउने आत्मविश्वास आउँथ्यो। त्यसैले पहिला थोरै पकाउने, राम्रो-मीठो भएपछि फेरि पकाउने विचार गरियो। पहिलो पटक तेल तताएर मोहीको रोटीको टुक्रा हालियो। अलि उँचो आँचमा पकाउने भएको, रोटी पग्लेर चिजझैँ प्रेसर कुकरको पिँधमा टाँसियो। कुकर माझ्दाको हैरान।

परम्परागत खानाको प्रवर्द्धन गर्नेले त मेनुमा मोहीको रोटीको तरकारी राखे त नयाँ पुस्ताले स्वाद पाउँथ्यो र बिस्तारै संरक्षण सुरु हुन्थ्यो।

फेरि अर्को प्रयास। यस पालि चाहिँ मोहीको रोटीको टुक्रालाई प्रेसर कुकरमा पानीसहित हालेर दुईतीन सिट्ठी लगाएर उसिनेपछि निकालियो। त्यसपछि कम आँचमा भुटियो। निकालेर आलु भुटियो अनि प्याज, गोलभेँडा, सामान्य मरमसला र अदुवा-लहसुन हालेर तरकारी पकाइयो।

स्वाद लिने बेला आमाले बनाएजस्तो त भएन। तर, मोहीको रोटीको तरकारी चाहिँ बन्यो। बाल्यकालका स्मृति जोडिएका परिकारहरूको पुनरावृत्ति गर्न साँच्चै गाह्रो हुँदो रहेछ। इन्द्रियको अनुभवका आधारमा वा स्वाद र सुगन्धको माध्यमबाट विगतमा फर्कन त त्यहाँ आमा हुन पर्ने रहेछ नि। कुनै पनि खानेकुराको सम्झना स्वादबाट मात्र सुरु हुँदैन, यसले हाम्रो मस्तिष्कमा एउटा पुरानो तस्बिर कोर्छ जसलाई ‘सेन्सोरी मेमोरी’ भनिन्छ।

कम स्रोतमा धेरै कुरा चलाउनुपर्थ्यो होला हाम्रो पुर्खाहरूलाई। लमजुङमा दुहुना धेरै हुने, पुरुषजति गोठमा बस्ने र नौनी निकालेको मोहीलाई खेर फाल्न नचाहेका कारण नै सायद मोहीको रोटी बनाउने चलन आयो। हिउँदमा तरकारी र प्रोटिनको दह्रो स्रोत बनेर हाम्रा पुर्खाको जीवनमा बस्यो। मोहीको रोटी हाम्रो पारिस्थितिक प्रणाली र हाम्रो पुर्खाको जीवनशैलीको प्रतिविम्ब थियो। तर, आधुनिकतासँगै बजारमा सजिलैसँग पनिर पाउन थालियो। फरक अलिकति कडा र हल्का त हो। अनि बिस्तारै मोहीको रोटीका दिन सकिए। यसो भन्दैमा हार मान्ने हो र? परम्परागत खानाको प्रवर्द्धन गर्नेले त मेनुमा मोहीको रोटीको तरकारी राखे त नयाँ पुस्ताले स्वाद पाउँथ्यो र बिस्तारै संरक्षण सुरु हुन्थ्यो।