काठमाडौँ। पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्षजस्तै यो वर्ष पनि फ्लोरिकल्चर एसोसिएसन नेपालले फ्लोरा एक्स्पो (पुष्प मेला) आयोजना गर्ने भएको छ।
पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनका लागि फ्लोरिकल्चर एसोसिएसन नेपालले २०५१ सालदेखि हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रिय स्तरको पुष्प मेला/प्रदर्शनीको आयोजना गर्दै आएको छ। काठमाडौँमा सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै आयोजकले यस वर्ष २७औँ संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने जानकारी दिएको हो।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ यही ५ देखि ८ चैत २०८२ सम्म ‘२७औँ फ्लोरा एक्स्पो’ भृकुटीमण्डपमा सञ्चालन हुने एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं मेलाका संयोजक रामबहादुर तामाङले बताए। उनका अनुसार फ्लोरा एक्स्पोमा व्यावसायिक स्टल ६५, अफिसियल स्टल ११, प्रतिस्पर्धा स्टल दुई, फुड स्टल दुई, ल्यान्डस्केप स्टल एक, सेल्फी स्टल एक, बीवाईडी कारको स्टल एकसहित गरी ८३ वटा स्टल हुनेछन्।
विगतमा जस्तै यस वर्ष पनि मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल-बिरुवाहरूका विभिन्न विधाअन्तर्गत उत्कृष्ट स्टल, उत्कृष्ट ल्यान्डस्केपिङ, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फुल्ने बिरुवा, उत्कृष्ट ल्यान्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेसन) मा प्रतिस्पर्धा गराइनेछ।
प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ। साथै सदा झैँ यस वर्ष पनि लामो समयदेखि निरन्तर पुष्प व्यवसाय गरिरहेका व्यवसायीमध्येबाट एकजना छनोट गरिनेछ। ती व्यवसायीलाई कदरपत्रद्वारा सम्मान गरिने कार्यक्रम छ।
पत्रकार सम्मेलनमा आयोजकले नेपालमा २०११ सालमा सामान्यस्तरबाट पुष्प व्यवसाय सुरु भएको अवस्था बताउँदै अहिले यसबाटै जीविकोपार्जन गर्न सक्ने अवस्था सिर्जना भएको जनाएको छ। अहिले ५२ जिल्लामा लगभग २७० हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ।
यस क्षेत्रमा आठ अर्ब ८३ करोडभन्दा बढीको लगानी छ। एक हजार २३५ भन्दा बढी पुष्प व्यवसायीमा संलग्न छन्। पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ५३ हजार ५०० भन्दा बढी जनशक्ति रोजगार छन्। केही वर्षयता पुष्प व्यवसायको माग र आपूर्तिमा वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा हुँदै आएको आयोजकले जनाएको छ।