बातचित
मुहान संरक्षणलाई अब स्थानीय प्रयासमा मात्र सीमित नराखी राष्ट्रिय मुद्दा नै बनाएर लैजानुपर्ने आवश्यकता बनेको छ।
जलस्रोतमा धनी देश मानिए पनि नेपालमा पानीको अभाव बढ्दै गएको छ। जलवायु परिवर्तन र यसबाट सिर्जित अनियमित मनसुन, खडेरी र मुहान संरक्षणको अभावमा आकासे पानीको भूमिगत पुनर्भरणमा आधारित मध्यपहाडको खानेपानी प्रणालीमा अवरोध आएको छ। जसका कारण त्यस क्षेत्रको जनजीवन, कृषि र पशुपालनमा प्रभाव पर्नुका साथै पानी संकटकै कारण कतिपय भेगका बासिन्दा विस्थापित हुन बाध्य छन्। मध्यपहाडमा बढ्दो पानी संकटका कारण र समाधानका उपायका सन्दर्भमा विश्व पानी दिवसको अवसरमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का लागि खानेपानीका मुहान व्यवस्थापनविज्ञ अञ्जु पण्डितसँग नेपालन्युजका लागि विद्या राईले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंसहितका पाँच अनुसन्धाताले काभ्रेपलान्चोकका पाँच हजार ६८९ वटा पानीका मुहानको नक्सांकन गरेर विश्लेषण गर्नुभएको अध्ययन लेख डिसेम्बर २०२५ मा प्रकाशन भएको छ, यो अध्ययनबारे बताइदिनुहोस् न।
पछिल्ला वर्षमा पानीका मुहान सुक्दै गएकाले जोगाउनुपर्छ भन्ने आवाज उठ्न थालेका छन्। यसका लागि कति मुहान के-कस्तो अवस्थामा छन् भन्ने यकिन रूपमा थाहा पाउन नक्सांकन गर्नुपर्ने हुन्छ। यसै सन्दर्भमा हामीले काभ्रेका सात वटा स्थानीय तहमा पाँच हजार १६८ वटा पानीका मुहान र ५२१ वटा पोखरीको नक्सांकन गर्यौँ। मूल संरक्षण गर्न सुरुमा नमोबुद्ध नगरपालिकामा समुदायसँग मिलेर पाइलट कार्यक्रम सञ्चालन गरिएको थियो। चार वटा पाइलट कार्यक्रममध्ये दुई वटा इसिमोडको नेतृत्वमा र दुई वटा पालिकाको नेतृत्वमा सञ्चालन भएका थिए।
यसलाई अझ व्यापक फैलाउनुपर्छ भन्ने माग स्थानीय जनप्रतिनिधि र समुदायबाट बढेपछि नमोबुद्ध नगरपालिका आसपासका स्थानीय तह पनौती, पाँचखाल, धुलिखेल नगरपालिका तथा रोसी, बेथानचोक र तेमाल गाउँपालिकामा विस्तार गरिएको हो।
नक्सांकनका लागि हामीले प्रत्येक वडाबाट स्थानीय समुदायलाई नै परिचालन गरेका थियौँ। किनकि, उनीहरूलाई मुहान कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने स्थानीय जानकारी हुन्छ। सात पालिकाका ७५ वडाबाट करिब १५० जना बासिन्दालाई तथ्यांक संकलकका रूपमा छनोट गरेर अभिमुखीकरण गरिएको थियो। ती संकलकले आफ्ना वडामा १५/२० दिनसम्म फिल्डमा गएर तथ्यांक संकलन गरेका थिए।

तथ्यांक संकलनमा स्थानीय समुदायलाई नै परिचालन गर्नुमा केही महत्त्वपूर्ण उद्देश्य थिए। पहिलो, स्थानीय मुहान र पानीका स्रोतहरूको महत्त्वबारे समुदायलाई सचेत बनाउने। दोस्रो, स्थानीय बासिन्दालाई आफ्ना प्राकृतिक स्रोतहरूको पहिचान र व्यवस्थापन गर्ने क्षमतामा सशक्त बनाउने। तेस्रो, उनीहरूलाई आफ्नै स्रोतहरूको संरक्षण आवश्यकताबारे संवेदनशील बनाउने। साथै, स्थानीय बासिन्दामार्फत तथ्यांक संकलन गर्दा भविष्यमा पानीको मूल व्यवस्थापनका लागि समुदायस्तरमा स्रोत व्यक्तिको समूह विकास गर्ने अवसर पनि सिर्जना हुन्छ।
संकलित तथ्यांकको विश्लेषणपछि काभ्रेका सात पालिकामा २७ प्रतिशत पानीका स्रोत सुकिसकेको र पछिल्लो एक दशकमा करिब ५८ प्रतिशत सक्रिय मुहानमा पानीको मात्रा क्रमशः घट्दै गएको निष्कर्ष आएको छ।
यसले काभ्रे र मध्यपहाडमा भविष्यमा पानी संकटबारे कस्तो संकेत गर्छ?
पानी संकट बढ्न सक्ने स्पष्ट संकेत गरेको छ। काभ्रेको नक्सांकनले देखाएको अवस्था खासमा एउटा प्रतिनिधिमूलक स्थिति हो। हामीले धनकुटा र डडेल्धुरा जिल्लामा गरेको तथा नेपालकै अन्य क्षेत्रमा गरिएका अध्ययनले पनि काभ्रेकै जस्तो मुहान सुक्ने र हराउँदै जाने प्रवृत्ति देखाएको छ। जस्तै, धनकुटाको धनकुटा नगरपालिकामा करिब १४ प्रतिशत स्रोत र यही जिल्लाको छथर जोरपाटी गाउँपालिकामा करिब १६ प्रतिशत स्रोत सुकिसकेको पाइएको छ। यी तथ्यले मध्यपहाडमा पानीका मुहान सुक्दै गएको चिन्ताजनक चित्र देखाउँछन्।
प्राकृतिक पुनर्भरण प्रक्रियामा अवरोध हुँदा मुहानहरूमा पानीको मात्रा घट्दै गएको देखिन्छ। प्राकृतिक प्रणालीलाई दखल दिने मानवीय गतिविधिले पनि मुहान सुक्ने समस्या बढाएको छ।
यो चिन्ताजनक हुनुको मुख्य कारण के हो भने, मध्यपहाडी भूभागमा कोसी आसपासका केही क्षेत्रबाहेक धेरै ठाउँमा पानीका मुहानमा पानीको उपलब्धता मुख्यतया प्राकृतिक पुनर्भरण (रिचार्ज) प्रणालीमा निर्भर हुन्छ। जलवायु परिवर्तनको असरका कारण वर्षाको परम्परागत चक्र परिवर्तन भएको छ। पहिले वर्षा याममा लामो समयसम्म हल्का खालको पर्थ्यो, जसले गर्दा पानी जमिनभित्र बिस्तारै सोसिन्थ्यो र भूमिगत जलभण्डार प्राकृतिक रूपमा पुनर्भरण हुन्थ्यो। तर, अहिले छोटो समयमा आरीघोप्टे पानी पर्ने, अनियमित मनसुन अर्थात् कहिले वर्षा याम ढिलो सुरु हुने र कहिले समयअगावै भारी वर्षा हुने, हिउँद याममा पानी नपर्ने वा कम पर्ने जस्ता विषम मौसमी घटना बढेका छन्। छोटो समयमा मुसलधारे वर्षा हुँदा पानी जमिनभित्र राम्रोसँग सोसिन नपाई सतहबाटै बगेर जान्छ। यसले गर्दा भूमिगत जलभण्डार भरिँदैन।

जब भूमिगत जलभण्डारमा पर्याप्त पानी जम्मा हुन छोड्छ, तब त्यसैमा निर्भर रहने पहाडी क्षेत्रका पानीका मुहान क्रमशः सुक्दै जान्छन्। यसले गर्दा पहाडका टुप्पो तथा विकट बस्तीहरूमा बसोबास गर्ने समुदायका लागि खानेपानीको समस्या झन् गम्भीर बन्दै जान सक्छ।
मध्यपहाडी क्षेत्रमा एक वर्गकिलोमिटर क्षेत्रमा औसतमा करिब पाँचदेखि सात वटा मुहान पाइन्छन्। तीमध्ये करिब १४ देखि २७ प्रतिशत मुहान सुकिसकेका छन्, जुन निकै ठूलो र चिन्ताजनक संख्या हो। बाँकी मुहानहरूको संरक्षणमा अहिले नै ठोस पहल गरिएन भने पछिल्ला एक दशकदेखि पानी घट्दै गएका धेरै मुहान भविष्यमा सुक्न सक्छन्, जसले ठूलो जल संकट निम्त्याउन सक्छ।
यसरी व्यापक मात्रामा पानीका मुहान सुक्नुका कारण केके हुन्?
अध्ययनका क्रममा हामीले काभ्रेमा यही प्रश्न समुदायसँग सोधेका थियौँ। जसमा ३४ प्रतिशतले भूकम्पपछि मुहान सुक्न थालेको बताएका थिए भने ३१ प्रतिशतले खडेरीका कारण मुहान सुक्दै गएको बताएका थिए। यस्तै, नौ प्रतिशतले मुहान संरक्षण नगरिएका कारण सुकिरहेको बताएका थिए।
मुहानको अवस्था र त्यसको जलस्रोत प्रणालीबारे अध्ययन गर्नुपर्छ। मुहानहरूको स्थिति पत्ता लागेपछि सबैभन्दा संकटासन्न अवस्थामा भएकाको संरक्षणमा तत्काल प्राथमिकता दिनुपर्छ। मूल पुनर्भरण प्रणालीलाई बलियो बनाउन भौगोलिक अवस्थितिअनुरूप प्राकृतिक संरचनाहरू निर्माण गर्न सकिन्छ।
प्राकृतिक पुनर्भरण प्रक्रियामा अवरोध हुँदा मुहानहरूमा पानीको मात्रा घट्दै गएको देखिन्छ। प्राकृतिक प्रणालीलाई दखल दिने मानवीय गतिविधिले पनि मुहान सुक्ने समस्या बढाएको छ। खासगरी जताततै घरआँगन तथा सडकमा कंक्रिट संरचना निर्माण भएपछि पानी जमिनभित्र सोसिने प्रक्रियामा अवरोध पुगेको छ। तर, समग्रमा हेर्दा जलवायु परिवर्तनका कारण वर्षाको परम्परागत चक्र बिथोलिएर जमिनमुनिको प्राकृतिक जलभण्डार खाली हुँदै गएको छ, जसले गर्दा मुहानहरू सुक्दै जान थालेका हुन्।
मध्यपहाडमा खानेपानीको संकट निम्त्याउने मुख्य कारक वातावरणीय प्रभाव मूल्यांकन नगरी निर्माण गरिएका सडक हुन् भन्न मिल्छ?
वातावरणीय प्रभाव मूल्यांकन नगरी बनाइएका ग्रामीण सडक मध्यपहाडमा पानी संकट ल्याउने मुख्य कारकहरूमध्येको एक हुन्। विकास हुनु हुँदैन भन्न खोजेको होइन, तर स्थानीय तह कार्यान्वयनमा आएपछि स्रोतसाधनको ठूलो हिस्सा सडक निर्माणमा लगानी भएको छ। धेरै ग्रामीण सडक वातावरणमा पर्ने असरतर्फ ध्यान नदिई सुविधा र सहजताका लागि खनिएका छन्। यसरी हतारमा गरिएको सडक निर्माणले धेरै ठाउँमा पानीका मुहानको नसा चुँडाएको छ। कतिपय अवस्थामा जथाभाबी डोजर प्रयोग गरेर सडक खनिँदा मुहानमा पानी पुर्याउने प्राकृतिक जलसञ्चार मार्गहरू नै काटिने गरेका छन्। यसले गर्दा मुहानहरूको पानीको स्रोत कमजोर हुँदै जाने वा पूर्ण रूपमा सुक्ने समस्या बढ्दै गएको छ।
स्थानीय तहलाई विकासका काम अघि बढाउने दबाब हुनु स्वाभाविक हो। तर, सडक निर्माणअघि कम्तीमा पनि मुहानहरूको अवस्थाबारे अध्ययन गरिएको भए वा स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूसँग परामर्श गरिएको भए पानीका मुहानलाई क्षति नपुग्ने गरी योजना बनाउन सकिन्थ्यो। धेरै स्थानीयवासीलाई आफ्ना क्षेत्रका मुहानहरूको स्थान र प्रवाह प्रणालीबारे राम्रो जानकारी हुन्छ, जसले विकास र स्रोत संरक्षणबीच सन्तुलन कायम गर्न सघाउन सक्छ।
मुहान सुकेर पानीको समस्या बढ्दै जानुले मध्यपहाडको जनजीवन, कृषि कर्म र आर्थिक-सामाजिक विकासमा कस्ता प्रभाव पारेको छ?
मुहान सुक्दै जाँदा मध्यपहाडको जनजीवन, कृषि प्रणाली र सामाजिक-आर्थिक विकासमा अल्पकालीन र दीर्घकालीन दुवै खालका प्रभाव परिरहेको छ। मुहान सुक्दा सबैभन्दा पहिले खानेपानीको अभाव हुने भएकाले जनजीवनसँग सोझै जोडिने भइहाल्यो। यस्तै, कृषिमा आधारित ग्रामीण अर्थतन्त्रमा पनि प्रत्यक्ष असर पर्छ। पानीको कमीका कारण पशुपालनमा पनि परिवर्तन देखिन थालेको छ। पहिले ५/६ वटा गाईभैँसी पाल्ने घरहरूमा अहिले एकदुईमा सीमित भएको देखिन्छ। अहिले बरु धेरै ठाउँमा बाख्रापालनतर्फ झुकाव बढेको छ, किनकि खसीबाख्रालाई गाईभैँसीको तुलनामा कम पानी चाहिन्छ।
मुहान जोगाउने मुख्य उपाय भनेकै वर्षाको पानीलाई सकेसम्म लामो समयसम्म जमिनमा सोसिन दिने र जमिनभित्र सञ्चित गराउने व्यवस्था गर्नु हो। समुदाय र सरकार दुवै जागरुक भएर काम गर्ने हो भने मुहानलाई पुनर्जीवन दिन सम्भव छ।
पशुपालन घट्दै जाँदा खेतबारीमा प्रयोग हुने प्रांगारिक मल पनि कम हुँदै गएको छ। त्यसको प्रत्यक्ष असर कृषि उत्पादनमा परेको छ। सिँचाइको अभाव र मलको कमीका कारण बाली उत्पादन घट्दै गएको छ।
पानीका मुहान सुक्दै जाँदा महिला, बालबालिका, अपांगता भएका व्यक्ति, विपन्न, सीमान्तीकृत समुदायलाई कस्तो प्रभाव पार्छ?
कुनै स्थानमा पानीको मुहान सुक्दै जाँदा त्यसको प्रभाव सबैभन्दा बढी महिला, बालबालिका, अपांगता भएका व्यक्ति, विपन्न तथा सीमान्तीकृत समुदायमै पर्छ। पहिले त नजिकैको मुहान सुक्न थाल्यो भने पानीको खोजीमा टाढा टाढासम्म पुग्नुपर्ने हुन्छ। ग्रामीण समाजमा पानी जोहो गर्ने काम महिलाकै थाप्लोमा छ। उनीहरूले जहाँबाट भए पनि पानी ल्याएर परिवारलाई पकाइतुल्याइ गरेर खुवाउनुपर्ने बाध्यता छ। पानी ओसार्ने कामले महिलालाई ढाड, कम्मर दुख्ने, पाठेघर खस्ने समस्या हुने भए। त्यसमाथि पानी जोहो गर्नुपर्ने चिन्ताले मानसिक बोझ पनि बढाउँछ। स्कुले विद्यार्थीले पानी जोहो गर्नतिर लाग्नुपर्दा विद्यालयमा नियमित जान नसक्दा पढाइ बिग्रिने भयो।

यसका साथै, अपांगता भएका व्यक्तिहरूलाई टाढाको मुहानबाट पानी ल्याउन झन् कठिन हुन्छ। घरनजिकै धारा वा पानीको स्रोत नभएपछि सुरक्षित र सहज रूपमा खानेपानी उपयोगमा उनीहरूको पहुँच घट्दै जान्छ। उपभोग गरिरहेको मुहान सुकेमा समुदायले अर्को मुहान खोज्छ र टाढाबाट धाएरै भए पनि पानी ल्याउने कोसिस गर्छ। त्यसो गर्दा पनि भएन भने पानीका लागि पूरै गाउँ विस्थापित भएर अन्यत्र सर्न बाध्य हुन्छ।
सुक्दै गएका पानीका मुहानलाई पुनर्जीवन दिने उपाय के हुन्?
मुहान जोगाउने मुख्य उपाय भनेकै वर्षाको पानीलाई सकेसम्म लामो समयसम्म जमिनमा सोसिन दिने र जमिनभित्र सञ्चित गराउने व्यवस्था गर्नु हो। समुदाय र सरकार दुवै जागरुक भएर काम गर्ने हो भने मुहानलाई पुनर्जीवन दिन सम्भव छ।
दीर्घकालीन रूपमा पानीको सुनिश्चितता कायम राख्न हामीले आफ्नै वरिपरिका स्रोतहरू संरक्षण गर्न समुदाय स्वयं सचेत र सक्रिय हुन अत्यन्त आवश्यक छ।
यसका लागि सुरुमा मुहानको अवस्था र त्यसको जलस्रोत प्रणालीबारे अध्ययन गर्नुपर्छ। मुहानहरूको स्थिति पत्ता लागेपछि सबैभन्दा संकटासन्न अवस्थामा भएकाको संरक्षणमा तत्काल प्राथमिकता दिनुपर्छ। मूल पुनर्भरण प्रणालीलाई बलियो बनाउन भौगोलिक अवस्थितिअनुरूप प्राकृतिक संरचनाहरू निर्माण गर्न सकिन्छ। जस्तै, पहिरो र भिरालो जमिनलाई ख्याल राखेर ससाना खाल्डाखुल्डी खन्ने, खोलाखोल्सीमा ‘ग्याबियन वाल’ बनाउने, पोखरी बनाउने, रैथाने प्रजातिका बोटबिरुवा रोप्ने, खेतका आली सुधार गर्ने जस्ता व्यवस्थापनका काम गर्न सकिन्छ। यस्ता कार्यले वर्षाको पानी जमिनमा सोसिन मद्दत गर्छ र मुहानको पानी बढाउन सहयोग पुर्याउँछ। मूल संरक्षणका निम्ति प्रतिहेक्टर ठाउँ हेरेर सामान्यतया तीन लाखदेखि चार लाख रुपैयाँसम्म लाग्न सक्छ। राजनीतिक दल, स्थानीय सरकार र समुदायले मुहान संरक्षणलाई प्राथमिकतामा राखेर अभियानका रूपमा काम गर्नुपर्छ। मुहान संरक्षणका कामको नियमित अनुगमन, मूल्यांकन र आवश्यक सुधार गर्दै लैजानु पनि अत्यन्त आवश्यक हुन्छ।
खानेपानीका मुहान संरक्षणमा समुदाय, सरकार र सरोकारवालाको पहलकदमी कत्तिको पर्याप्त छ?
समुदाय र स्थानीय तह जागरुक भइरहेका छन्। पानीका मुहानको नक्सांकनमा हातेमालो गर्न थालेका छन्। स्थानीय सरकारमा संवेदनशीलता बढ्दै गएको देखिन्छ। इसिमोडले नमोबुद्ध नगरपालिकामा मुहान संरक्षणका लागि सानो आकारमा पाइलट अवधारणाबाट सुरु गरेको काम अहिले काभ्रेका सात वटा नगरपालिका र धनकुटाका दुई वटा नगरपालिकासम्म विस्तार हुने क्रममा छ। अन्य धेरै स्थानीय तहले यस्तो अध्ययन गर्न अनुरोध गरिरहेका छन्। यसले मुहान संरक्षणको यस प्रकारको प्रयास विस्तार गर्ने प्रक्रिया सुरु भएको संकेत गर्छ। त्यसैले मुहान संरक्षणलाई अब स्थानीय प्रयासमा मात्र सीमित नराखी राष्ट्रिय मुद्दा नै बनाएर लैजानुपर्ने आवश्यकता बनेको छ।

मुहान सुक्ने समस्या तीव्र भइरहँदा पानीको दु:ख हटाउने दिगो उपाय के हो?
स्थानीय समुदाय पानीका लागि वरिपरिकै मुहानमा आश्रित भएकाले यसको संरक्षण निकै जरुरी छ। एउटा उदाहरण दिन्छु– असोज २०८१ मा रोसी क्षेत्रमा आएको बाढीपहिरोले १० देखि १२ दिनसम्म बिजुली र टाढाबाट ल्याइएका खानेपानीका धारा ठप्प भए। त्यस बेला ‘जतिसुकै टाढाबाट पाइपमार्फत पानी ल्याउने व्यवस्था भए पनि विपत्मा काम लाग्ने त आफ्नै वरिपरिका प्राकृतिक मुहानहरू नै रहेछन्’ भन्ने कुरा समुदायले महसुस गरे। दीर्घकालीन रूपमा पानीको सुनिश्चितता कायम राख्न हामीले आफ्नै वरिपरिका स्रोतहरू संरक्षण गर्न समुदाय स्वयं सचेत र सक्रिय हुन अत्यन्त आवश्यक छ। यही नै दिगो समाधान हुन जान्छ।