सात सवाल
लोकइतिहास-लोकसंस्कृतिमा रुचि राख्ने दैलेखका लेखक ओम रिजालले आफ्ना कविता, नियात्रा र उपन्यासमा खस संस्कृति र इतिहासलाई केन्द्रमा राखेका छन्। यसअघि हटारु उपन्यास निकालेका रिजालको गत साता दोस्रो उपन्यास पैकेलो सार्वजनिक भएको छ। उनै रिजालसँग गरिएको सात सवाल :
लोकसंस्कृतितर्फ कसरी आकर्षित हुनुभयो?
सानैदेखि लोकसाहित्य र संस्कृतिको रसास्वादनमा हुर्किएको मलाई २०६३ मा दैलेखमा रेडियो पञ्चकोसी एफएम खुलेपछि त्यसमा दैलेख नबजेको महसुस भयो। ‘सुइना’ का लागि सामग्री संकलन गर्ने क्रममा गाउँबस्ती डुल्दै जाँदा लोकसाहित्य र संस्कृतिको खोजमा आकर्षित भएँ।

कर्णालीका विशेषता के हुन्?
म धेरै डुलेको क्षेत्र कर्नाली नै हो। कर्नालीको लोकसाहित्य, संस्कृति र कला मलाई मौलिक र प्राचीन लाग्छ। त्यहाँको भाषा, सभ्यता, संस्कृति र इतिहासमा नेपालीत्व भेटिन्छ।
लोकभित्रका लुकेका कुराहरू सोधखोज गर्ने तपाईंको विधि के हो?
कर्नालीका विषयमा प्रकाशित सामग्रीहरूबारे जानकार र गाउँघरका पाका हजुरबा, हजुरआमाहरूसँग छलफल गर्छु। गाउँमा भेटिने सार्वजनिक नभएका सामग्रीहरू भेटेसम्म रेकर्ड गरेर ल्याउँछु र त्यसलाई लिपिबद्ध गर्छु।
प्राय: दसैँ-तिहार जस्ता पर्वमा गाउँ डुल्छु। मष्टाका पैठमा प्राय: गाउँ जान्छु। कार्यालयको कामविशेषले जिल्लामा जाँदा मिलेसम्म गाउँ पस्छु। आफ्नै खल्तीको पैसाले पुगेको छ।
गाउँघरमा हुने नाचगान, खानपिनमा सहभागी हुँदै रमाइलो गर्दाको कुनै स्मरण?
कोजाग्रत पूर्णिमामा रातभर घर घरमा गएर खेलेको भैलो र तिहारको नरक चतुर्दशीको रात अश्लीलता ओकल्दै खेलेको भोसी खुब सम्झन्छु। व्रतबन्ध, बिहे र छैठमा गाइने झोडा, मागल, धमारी र ढुस्कोको याद आउँछ। गोठमा गएर छोट्टीसँग न्याउल्या गाएको सम्झन्छु। नाैदस वर्षको हुँदा फट्कोमा पाइला मिलाएको याद ताजै छ।

अहिलेसम्मकै हृदयस्पर्शी क्षण?
रेडियो कार्यक्रम ‘सुइना’ का सामग्री संकलनका क्रममा बूढी हजुरआमाहरूले सुनाएका हृदयविदारक भाका सुनेर धरधरी रोएको छु।
श्रुतिपरम्पराका कुरामा कल्पना बढी हुन्छ कि यथार्थ?
म स्वनामधन्य विद्वान्हरूबाट अपठितहरूको साहित्य भनेर हेला गरिएको लोकसाहित्यमा यथार्थको नजिक रहेको उच्च चेतनशील समाज भेट्छु।
मौलिक लोकसंस्कृति मासियो भन्छन् नि?
लोकसाहित्य र संस्कृतिका गुरुहरूमा रहेको ज्ञानको मर्म बुझ्न नसक्दा उनीहरूको मृत्युसँगै हाम्रो माैलिक ज्ञानपरम्परा पनि मरिरहेको सत्य हो। आयातित संस्कृतिको अन्धानुकरण गरिनाले हाम्रो माैलिक संस्कृति लोपको सँघारमा पुगेको छ। आफ्नी आमा लत्याएर अर्काकी ममी खोज्दै जाने हो भने अबका केही वर्षमा सबै नासिने अवस्था छ।