टिप्पणी
यो यस्तो विकृत अभ्यास हो, जसबारे कुनै बौद्ध ग्रन्थमा उल्लेख छैन।
यसै वर्षको जनवरीमा थाइल्यान्डमा एक थेरवादी बौद्ध भिक्षु उपासकका ढाडमा टेकेर हिँडिरहेको भिडिओ सार्वजनिक भयो। उपासकले भिक्षुको चरण आफ्नो शरीरमा परे दुर्भाग्य हट्ने, पुण्य बढ्ने तथा आशीर्वाद प्राप्त हुने विश्वास रहेको देखिन्छ। तर, कुनै बौद्ध ग्रन्थमा यसबारे उल्लेख भएको पाइँदैन।
बौद्ध समाजमा चार वर्ग छन्– भिक्षु, भिक्षुणी, उपासक र उपासिका। बुद्धले यसलाई चतुपरिषद् वा रथका चार पांग्रा भनेर चिनाएका छन्। धर्मका लागि घरबार छाडेर विहारमा बसी, शीलवान् भई अभ्यास गर्ने तथा आफूले जानेको कुरा उपासक-उपासिकालाई सुनाउने भएकाले भिक्षु-भिक्षुणीलाई विशेष आदर तथा सत्कार गरिन्छ। उनीहरूले लगाउने चीवर संघको प्रतीक हो।
श्रद्धालु उपासक-उपासिका भिक्षु-भिक्षुणीप्रति कृतज्ञ हुनु स्वाभाविक हो। कहीँकतै आमन्त्रण गर्दा पनि विशेष स्वागत सत्कार गर्ने गरिन्छ। यही सन्दर्भमा भिक्षुहरू हिँड्दा बाटोमा उपासकहरू घोप्टो परेर बाटोमा सुतिदिने तथा ढाडमा कुल्चेर अगाडि बढ्ने देखिने गरेको हो। ती भिक्षुप्रति अपार श्रद्धाले उपासकहरूले आफूलाई यसरी अर्पित गरेका हुन् भनेर पनि बुझ्न सकिन्छ, तर यसको पृष्ठभूमि यत्तिमै सीमित छैन।
दीपंकर बुद्ध र सुमेध
कसैको ढाडमा टेकेर भिक्षु हिँड्नुले गौतम बुद्धको सूदुर अतीतको जन्म (पूर्वजन्म)को महत्त्वपूर्ण घटना सम्झाउँछ। त्यसबेला उनी सुमेध नामका तापसी ऋषि थिए। गाउँमा दीपंकर बुद्धको आगमन हुने थाहा पाएर उनले बाटो सफा गर्ने जिम्मा लिन्छन्। तर, बुद्ध आइसक्दा पनि सफाइको काम थोरै बाँकी रहन्छ। उनी बाँकी भाग ढाक्न घोप्टो परिदिन्छन् र बुद्धलाई आफूलाई टेकेर अगाडि बढ्न अनुरोध गर्दछन्। बुद्धले पनि अन्य भिक्षुहरूलाई छेउ लागेर हिँड्न भन्दै आफू ऋषिको ढाडमा टेकेर हिँड्छन्।
बुद्धको चरण ढाडमा परेको बेला सुमेध ऋषिले आफू पनि बोधिचर्या गर्दै भविष्यमा बुद्ध नै हुने चित्त उत्पन्न गर्दछन्। धर्मदेशनापछि बुद्धसमक्ष गई उनी बुद्धत्वको याचना गर्दछन्। बुद्धले पनि ‘तिमी भविष्यमा बुद्ध हुन्छौ’ भनी भविष्यव्याकरण गर्दछन्। भनिन्छ, तिनै सुमेध लुम्बिनीमा इपू ५६३ वैशाख पूर्णिमाका दिन जन्मेका गौतम बुद्ध हुन्।
भिक्षुले उपासकको ढाडमा टेकेर हिँडेको दृश्य गौतम बुद्धको त्यही घटनासँग जोडिएर आएको मान्न सकिन्छ। तर, न यी भिक्षु बुद्ध हुन्, न उपासक नै ऋषि सुमेध। त्यतिबेलासम्म सुमेध साधनाको बलले अर्हत् हैसियतमा पुगिसकेका थिए। उनमा बोधिचित्त उत्पन्न हुने थाहा पाएरै दीपंकर बुद्धले ढाडमा टेकेका हुन्।
व्यक्तिपिच्छे देवता, धर्मगुरु हुनु स्वाभाविक हो। के-कसरी श्रद्धा व्यक्त गर्ने भन्ने प्रश्न पनि व्यक्तिविशेषमा निहित हुन्छ। तर, कसैको ढाडमै टेकेर हिँड्ने भक्तिलाई बौद्ध धर्मले प्रोत्साहित गरेको छैन।
व्यक्तिपिच्छे देवता, धर्मगुरु हुनु स्वाभाविक हो। के-कसरी श्रद्धा व्यक्त गर्ने भन्ने प्रश्न पनि व्यक्तिविशेषमा निहित हुन्छ। तर, कसैको ढाडमै टेकेर हिँड्ने भक्तिलाई बौद्ध धर्मले प्रोत्साहित गरेको छैन। त्यसैले भिडिओमा देखिएको दृश्य धार्मिक होइन, विकृति हो।
पंक्तिकारले यसो भनिरहँदा भिक्षुसंघप्रति अनादर गरेको होइन, सजग तुल्याउन मात्र खोजेको हो। के यस्ता अभ्यासहरू ठीक छन्? के यसले बौद्ध धर्म र समुदायलाई सही दिशातर्फ लैजान्छ? यस्ता प्रश्न र जिज्ञासालाई बुद्ध स्वयंले जहिल्यै मार्गप्रशस्त गरेको कुराबाट हामी सबैलाई ज्ञात नै छ।
बौद्ध धर्मको मुख्य पक्ष शिक्षा र अभ्यास हो। त्यसका लागि अपनाइने पूजापाठ तथा तरिकाहरू उपायकौशल हुन्। तर, उपायकौशललाई प्रश्न र छलफलको विषय बनाइएन भने जडताको जन्म हुन्छ। भिक्षु-भिक्षुणी हुँदैमा उनीहरूका सबै क्रियाकलाप सधैँ सही हुन्छन् भन्ने हुँदैन।
धर्ममा समस्या आउने एउटा प्रवृत्ति भनेको श्रद्धाको ठाउँमा भक्तिको मात्रा बढ्नु हो। भक्तिले भिक्षु-भिक्षुणीमा अहम् बढाउने जोखिम हुन्छ। भिक्षु-भिक्षुणीले याद राख्नुपर्ने कुरा उपासक-उपासिकाले मान्नुको अर्थ व्यक्तिलाई नभएर उनीहरूको शील र सदाचारलाई हो। उनीहरूले लगाउने चीवरमा हो, जहाँ संघको आभास पाइन्छ।
गौतम बुद्ध जीवित छँदै मानिसहरूले कसरी श्रद्धा व्यक्त गर्दथे, उनीहरूको हैसियत कस्तो थियो, दैनिक जीवनचर्या कस्तो हुन्थ्यो भन्नेलगायत धेरै कुरा त्रिपिटक ग्रन्थबाट थाहा पाउन सकिन्छ। बुद्धकालीन समाज र वर्तमान समाजको तुलना गर्दा हिजोआज साधारण भिक्षुले समेत ठूलै सत्कार पाउने गरेको देखिन्छ। तर, ती भिक्षु मार्गफलमा लागेको त के, साधारण शीलपालनाबाट पनि विमुख हुनु, अनियन्त्रित र बेढंग जीवनचर्या हुनु दुःखदायी कुरा हो। त्यसैको उदाहरण हो, भिक्षुले उपासकहरूको ढाड चढेर हिँड्नु।