काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

टिप्पणी

टिकट वितरणमै जानाजान विभेद गर्नु अनि अहिले आएर माफी माग्नु रवि लामिछानेको अभिनय मात्र हो।

१९ चैत्र २०८२
अ+
अ-

२१ फागुनको आमनिर्वाचनबाट निर्वाचित आफ्ना पार्टीका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसपटक राई-लिम्बूलाई समेट्न नसकेकामा दुःख व्यक्त गर्दै उक्त समुदायसँग माफी मागे। राजनीतिकर्मी देश र देशवासीमा दूरगामी प्रभाव पार्ने निर्णयहरू अक्सर अँध्यारो कोठामा बसेर गर्छन्। त्यसले समाजमा नकारात्मक प्रभाव पार्ने देखिएपछि कि दमनमा उत्रिन्छन् कि गोहीले आँसु झारेको शैलीमा माफी माग्छन्।

यसो किन पनि भनिएको हो भने, आफूलाई नयाँमध्येको पनि नयाँ र जान्नेमध्येको पनि जान्ने भएको दाबी गरेर झन्डै दुई तिहाइ सिट जितेको पार्टीका नेताले पनि पुरानै व्यवहार दोहोर्‍याए। एक जना पनि राई-लिम्बू नरहेको नामावली आफैँले सदर गरेर निर्वाचन आयोगमा बुझाए। अनि राई-लिम्बू छुटेकामा आफैँले दुखेसो पोखे।

प्रत्यक्षतर्फको जम्मा १६५ स्थानमध्ये १६४ स्थानमा उम्मेदवारी दिएको रास्वपाले दुई राई र एक लिम्बू (सोलुखुम्बुमा ऋषिधन राई र इलाम २ मा गोकुलबहादुर राई र पाँचथरमा महेन्द्रविक्रम थाम्सुहाङ)लाई मात्र टिकट दिएको थियो। तर, तीनै जनाले हार बेहोरे। समानुपातिकतर्फको ११० जनाको सूचीमा दुई राई (विश्व राई र सत्यकला राई) र तीन लिम्बू (मिलन लिम्बू, महेन्द्र लावती र निर्मला खिम्दिङ) थिए। उज्यालो नेपाल पार्टी रास्वपाबाट अलग भएसँगै लावती उज्यालो नेपालमै लागे। सत्यकला राई उम्मेदवार नबन्ने घोषणा गरेर बाहिरिइन्। त्यसपछि समानुपातिकतर्फ आदिवासी जनजाति क्षेत्रबाट रास्वपाले पाएको १५ सिटमा सांसद सिफारिस हुनेमा नौ जना त नेवार मात्रै परे। एक जना पनि राई-लिम्बू परेनन्।

राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालमा राईको जनसंख्या २.२ प्रतिशत (६ लाख ४० हजार ६७४) छ। कानुनी रूपमा राई नै रहेका तर छुट्टै जातिका रूपमा सूचीकरण मागिरहेका विभिन्न भाषिक समुदायको जनसंख्या करिब एक लाख छ। योसमेत जोड्ने हो भने राईको जनसंख्या साँढे सात लाख जति पुग्छ। राई नेपालको दशौँ ठूलो जाति हो। लिम्बूको जनसंख्या चार लाख १४ हजार ७०४ अर्थात् १.४३ प्रतिशत छ।

कोसी प्रदेशमा राई १०.२ प्रतिशत छन् भने लिम्बू ८.२ प्रतिशत। यत्तिका राई-लिम्बू बस्ने कोसी प्रदेशबाट त रास्वपालाई कुनै राई-लिम्बू चाहिएन भने अरू ठाउँबाट आउने कुरै भएन।

हर्क प्रभाव

२०७९ सालको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ धरान उपमहानगरपालिकाको मेयर पदमा चुनिए। श्रमदानबाटै विकास गर्ने अभियानले अझ चर्चित भए। उनको यो अभियान धरानबाहिर पनि विस्तार भयो। विशेषगरी पूर्व-पश्चिम राजमार्गदेखि उत्तर पहाडी क्षेत्रमा उनको प्रभाव बढ्यो।

जेन-जी विद्रोहपछि साम्पाङले श्रम संस्कृति पार्टी दर्ता गरे। श्रमदानमा संगठित उनका समर्थकहरू राजनीतिक रूपमा संगठित हुन थाले। पुराना राजनीतिक दलका विभिन्न जिम्मेवारीमा नरहेका तथा पुराना दलहरूबाट वाक्क भएका राई-लिम्बूहरू श्रम संस्कृति पार्टीमा संगठित हुने लहर चल्यो। राजनीतिक विचारभन्दा पनि हर्क साम्पाङको शैलीबाट प्रभावित त्यस जमातले साम्पाङलाई आफ्नो ‘मुक्तिदाता’ सम्झिन थाल्यो। उनीहरूले हर्क साम्पाङको पार्टी भनेको राई-लिम्बूको पार्टी अनि राई लिम्बू भनेको श्रम संस्कृति पार्टी भन्ने अर्थ लाग्ने गरी प्रचार गर्न थाले। अनि अन्य दलआबद्ध राई-लिम्बूलाई साइबर आक्रमण गर्न थाले।

निर्वाचन आयोगमा दल दर्ताको प्रमाणपत्र लिन पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ। तस्बिर : नेपाल फोटो लाइब्रेरी

असहमतिलाई राजनीतिक रूपमा प्रतिवाद गर्ने भन्दा पनि व्यक्तिगत तहमा ओर्लिएर गालीगलौजमा उत्रिने जमातले श्रम संस्कृति पार्टी भरिँदै गयो। यस्तो अवस्थामा फरक विचार राख्ने राई-लिम्बूहरू रास्वपामा खुल्न हिचकिचाए।

रास्वपाको समानुपातिक सूची बाहिरियो। आदिवासी जनजाति महिलामा खोटाङकी गायिका सत्यकला राईको नाम देखियो। राई-लिम्बूहरूले सामाजिक सञ्जालमा सामाजिक मर्यादासमेत नाघेर उनलाई गाली गरे। ट्रोल बनाए। यसैबीच टिकटका लागि पार्टीलाई दुई लाख रुपैयाँ बुझाउनुपर्ने भनेर बोलेको भनेर सत्यकलाको नाम आयो। यता राई-लिम्बूको मात्रै गाली खाँदै गरेकी उनीविरुद्ध रास्वपाको साइबर सेनासमेत खनियो। सहिनसक्नुभएपछि उनले समानुपातिक सूचीबाट आफ्नो नाम हटाउन पार्टीमा निवेदन दिइन्।

त्यसपछि उनले फेसबुक स्टेटसमा लेखिन्, ‘रास्वपाको आन्तरिक मतदानमा आदिवासी जनजातिको महिलातर्फ १४ हजार २०१ मत प्राप्त गरी हाइयस्ट भोट ल्याउने उम्मेदवार थिएँ। मैले पार्टी समक्ष प्रस्तुत गरेको ब्लुप्रिन्टमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमान स्वाधीनताको संरक्षणलाई केन्द्रमा राखेकी थिएँ। विशेषत सीमाको नियमन गर्दै सिमानामा काँडेतार वा पर्खाल निर्माण गर्नुपर्ने स्पष्ट धारणा राखेकी थिएँ।’ उनले स्टेटसमा जे लेखे पनि नाम फिर्ता माग्नुको प्रमुख कारण आफ्नै समुदायबाट भएको प्रहार नै हो भन्ने अनुमान सत्य हुन सक्छ।

बालेनको असफल यात्रा

रास्वपाले काठमाडौँ महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन)लाई भावी प्रधानमन्त्री घोषणा गर्‍यो। र्‍यापर र इन्जिनियरको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेर पहिलो प्रयासमै राजधानीको मेयर हुन सफल कमै मात्र सार्वजनिक जीवनमा देखिने एउटा व्यक्ति देशकै प्रधानमन्त्री हुने भनेपछि पुराना दलबाट निराश मधेसी, खस आर्य र सहरी समुदायमा उत्साह छाएको देखियो। रास्वपाले भावी प्रधानमन्त्रीलाई देश घुमायो।

चुनावी अभियानमा ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह। तस्बिर : बालेनको सचिवालय

हत्तपत्त देखा नै नपर्ने, देखिए पनि कालो चस्मा र कालै लुगामा भेटिने बालेनलाई हेर्ने र सेल्फी खिच्न जम्मा हुने अनियन्त्रित भिडले राई-लिम्बूलाई खासै आकर्षण गरेन। उनी राजा-महाराजाको शैलीमा हात हल्लाउँदै लिम्बूहरूको शिर मुक्कुम्लुङ र सम्पूर्ण किरातहरूको द्वार खुवालुङ पुगे। तर, रैथाने बस्ती कतै पनि पुगेनन्।

पहिचान आन्दोलन

राई-लिम्बू पहिचानको नामसहितको संघीयता चाहिरहेका छन्। प्रदेशको नाम कोसी पारित भएर औपचारिक रूपमा प्रचलनमा आएको तीन वर्ष भइसक्दा पनि प्रदेशभित्रका कतिपय स्थानीय सरकारहरूले कोसी नाम चलाएकै छैनन्। उनीहरू औपचारिक कागजपत्रमा अझै प्रदेश १ नै लेखिरहेका छन्।

अरू प्रदेशको नाम पहिलो प्रदेशसभाबाटै भटाभट पारित भयो। तर, प्रदेश १ ले नाम पाउन अर्को प्रदेशसभा कुर्नुपर्‍यो, त्यही पनि प्रशासनिक शक्ति लगाएर। ‘नो कोसी’ आन्दोलन अहिले पनि जारी छ। बहुमतको नाममा जबरजस्ती पारित नाम विशेषगरी पहाडी क्षेत्रमा स्विकार गरिएको छैन। त्यसैले पूर्वको राजनीति अझै संघीयता र पहिचानमा केन्द्रित छ। पहिचानको नाममा दर्जन बढी राजनीतिक दल छन्। तिनका अगुवा अधिकांश राई-लिम्बू छन्। पहिचानवादी राई-लिम्बूले चुनाव जित्न नसक्नु एउटा कुरा हो, तर उनीहरूको उपस्थिति नकार्न सकिने अवस्था छैन।

पूर्वको यस्तो बहुआयामिक जटिल राजनीतिक तथा सामाजिक अवस्थालाई रास्वपाले सम्बोधन गरेको छैन, संघीयताबारे स्पष्ट छैन, पहिचानबारे बोलेकै छैन। त्यसैले पनि नयाँ भन्दैमा रणनीतिक रूपमा मौन, अवधारणासमेत स्पष्ट नभएको रास्वपामा सक्रिय हुनुमा राई-लिम्बूको रुचि देखिएन। मिलन लिम्बू, विश्व राई, सत्यकला राई जस्ता थोरै संख्यामै होस् जति त्यता लागेका थिए, उनीहरूलाई पनि रास्वपाले संवेदनशील रूपमा लिएन। त्यसकारण पनि रवि लामिछानेको पछुतो मनाइ औपचारिकता हो।