काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

दृष्टिकोण

चुनावी अभियानमा जाँदा खुवालुङलाई ढोगेका बालेन्द्र शाह नेतृत्वको सरकारबाट सांस्कृतिक पहिचान र सम्पदाको संरक्षणमा ठूलो अपेक्षा छ, तर सरकारको सय कार्यसूचीमा सांस्कृतिक पहिचानसम्बन्धी कुनै बुँदा छैन।

१५ बैशाख २०८३
अ+
अ-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकल बहुमतप्राप्त शक्तिशाली सरकारका प्रधानमन्त्री रहेका बेला केपी शर्मा ओली ८ फागुन २०७७ मा नेकपाको प्रदेश १ स्तरीय आमसभामा सहभागी हुन विराटनगर पुगेका थिए। पार्टीभित्र पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहसँग कटुता रहेको अवस्थामा सभामा अर्को गुटप्रति कटाक्ष त हुनु नै थियो, भयो। यसपछि प्रधानमन्त्री ओलीले सप्तकोसीमा जल यातायात सञ्चालनबारे भने, ‘स्टिमर चढेर चतराबाट एघार मिनेटमा भोजपुर र एघार मिनेटमा भोजपुरबाट चतरा आइपुग्न सकिन्छ। त्यसमा बाधा पुर्‍याइरहेको एउटा ढुंगो क्रेन लगाएर फुटाएर बाटो क्लियर गर्दै छौँ।’

उनले ‘एउटा ढुंगो’ मात्रै भने। कहाँनेरको कुन ढुंगो हो, केही भनेनन्। उनले भनेको ढुंगो अरुण र तमोर नदीको दोभानमा पल्टिएको देखिने चेप्टो ढुंगो हो। सप्तकोसी जलाधार क्षेत्रका आदिवासी किरात समुदायको आस्थाको केन्द्र ‘खुवालुङ’ हो।

त्यसको पाँच वर्षपछि जेन-जी आन्दोलनका कारण मुलुक मध्यावधि निर्वाचनमा गयो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीका उम्मेदवार अघि सारिएका वालेन्द्र शाह (बालेन)ले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा-५ मा उम्मेदवारी दिए। भोट माग्न जनताको घरदैलोमा जानुभन्दा पहिला चतराबाट मोटरबोट चढेर गई त्यही ढुंगो ढोगे, जुन ओलीले फुटाउने घोषणा गरेका थिए। संयोग कस्तो भने, त्यो ढुंगो फुटाउन आदेश दिने ओलीले चुनाव मात्रै हारेनन्, उनी ६ दशक लामो आफ्नो राजनीतिक जीवनमा सबैभन्दा कठिन बिन्दुमा पुगेका छन् जहाँबाट पहिलाको राजनीतिक रापताप फर्काउन असम्भव जस्तो देखिन्छ। यता, त्यो ढुंगो ढोग्ने बालेनले चुनाव जितेनन् मात्रै, झन्डै दुईतिहाइको शक्तिशाली सरकारको प्रधानमन्त्री बने।

खुवालुङले आदिवासी किरात समुदायको आस्थाको कथा बोकेको छ। राई, लिम्बू, याक्खा, सुनुवारलगायत किरातहरू उत्तरबाट ब्रह्मपुत्रको किनारैकिनार दक्षिणको मैदान हुँदै गंगा किनारबाट पश्चिम गएको र सप्तकोसीलाई पछ्याउँदै पहाडतिर लागे भनेर मानवशास्त्रीले बताउने गरेका छन्।

किरात मुन्दुमअनुसार खुवालुङ सभ्यताको ढोका हो। मधेसबाट तीन दाजुभाइ पहाडतिर बसाइँ सरेर जाने क्रममा बराहक्षेत्र उत्तरमा बाटोको ढोका बन्द थियो। जेठाले जुरेली चराको भोग दिएपछि उक्त ढोका खुल्यो र उनले पार गरे। त्यसपछि ढोका फेरि बन्द भयो। माइलाले पार गर्न पाएनन्। उनले आफूसँगै आउँदै गरेकी बहिनीको कान्छी औँला काटेर भोग दियो अनि ढोका खुल्यो र पार भयो। कान्छा ढोका खोल्ने प्रयास नै नगरी दक्षिण मैदानतिरै फर्किए। त्यो ढोका खुवालुङ थियो। खुवालुङ ढुंगोका रूपमा नदीमा छ। जसप्रति सबै किरातीले विश्वास गर्छन्।

ओली जतिखेर खुवालुङ फुटाउने आदेश दिइरहेका थिए, त्यहीताका राज्यको ढुकुटी खर्च गरेर पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी लगाइरहेका थिए।

वालेन्द्र शाह खुवालुङलाई ढोगेर फर्किएर झापाका जनतासँग भोट माग्दै थिए, भोजपुरमा एमालेका उम्मेदवार शेरधन राई किरात बस्तीहरूका चुनावी सभामा भन्दै थिए, ‘खुवालुङ हामीले पत्ता लगाएका हौँ, हामीले संरक्षण गरेका हौँ।’ यसमा दुइटा कुरा चर्चा गर्नैपर्ने हुन्छ।

पहिलो, ओलीले विराटनगरको भाषणमा खुवालुङ फुटाउने आदेश दिँदा उनै शेरधन नामकरण भइनसकेको प्रदेश १ का मुख्यमन्त्री थिए। त्यस भाषणले किरातीहरू बिच्किएका थिए। संघीय राजधानीदेखि खुवालुङसम्मै जागरण र खबरदारी सभाहरू गरेर ‘खुवालुङ हाम्रो आस्था हो, नफुटाऊ’ भनिरहेका थिए। शेरधन नेतृत्वको प्रदेश सरकार खुवालुङ फुटाउने चाँजोपाँजोमा जुटेको थियो। त्यसको ठेक्का आफूहरूले पाइसकेको बताउने समूह पनि मैदानमा आइसकेको थियो। सरकार खुवालुङ अभियन्ताहरूलाई समात्दै थुन्दै थियो।

दोस्रो, खुवालुङ कसैले खोजेर पत्ता लगाएको होइन। प्राकृतिक रूपमा सृष्टिकालदेखि त्यहीँ छ। प्रागैतिहासिक युगदेखि त्यस भेगका आदिवासीको आस्था र विश्वास बनेर त्यही ठाउँमा अटल रहिरहेको छ। संसारका धेरै प्राचीन सभ्यताका धरोहरहरू जस्तो समयक्रममा सबैले बिर्सिएर फेरि पत्ता लगाएको होइन, खुवालुङ। किरातीहरूले खुवालुङलाई कहिल्यै बिर्सिएका थिएनन्, भौतिक रूपमा देखिरहेका हुन् र सांस्कृतिक रूपमा पुजिरहेका पनि हुन्।

ती ओली

मार्क्सवादलाई मार्गदर्शक सिद्धान्त मानेर संगठित हुनेहरूलाई कम्युनिष्ट भनिन्छ। मार्क्सवाद भौतिकवादी दर्शन हो। भौतिकवादले धर्म, संस्कृति, जात, जातिलाई मान्दैन। पदार्थ र गतिको मात्रै अस्तित्व स्विकार्छ। चेतनालाई भौतिक वस्तुको उपज मान्दछ। समाजलाई पनि पदार्थ वा वस्तुकै रूपमा बुझ्दछ। एमालेका अध्यक्ष ओली देशको सबैभन्दा ठूलो दलको सबैभन्दा शक्तिशाली अध्यक्ष र पटक पटक शक्तिशाली प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। राज्यसत्ताको सञ्चालनका क्रममा उनको व्यवहार र कार्यशैली भने मार्क्सवादबाट होइन, परम्परागत उच्च जातीय अहंकारवादबाट निर्देशित भएको पटक पटक प्रमाणित भएको छ। जसले एकातिर राज्यकोषको चरम दोहन भएको छ भने अर्कातिर नेपालका विभिन्न जातीय तथा सांस्कृतिक समुदायको आत्मसम्मानमा कहिल्यै नमेटिने चोट लागेको छ।

ओली जतिखेर खुवालुङ फुटाउने आदेश दिइरहेका थिए, त्यहीताका राज्यको ढुकुटी खर्च गरेर पशुपतिनाथ मन्दिरमा १०८ किलो सुनको जलहरी लगाइरहेका थिए। २९ असार २०७७ मा भगवान् रामको जन्मस्थल चितवनको माडीस्थित अयोध्यापुरी रहेको बताएका ओलीले राम, सीता, लक्ष्मण र हनुमान्‌का पूर्णकदको मूर्ति त्यहाँ प्रतिस्थापन गर्न ७ वैशाख २०७८ मा प्रधानमन्त्री निवास बालुवाटारबाट ठूलो तामझामका साथ पठाएका थिए।

मुक्कुमलुङ एउटा सुन्दर डाँडो मात्रै होइन, त्यहाँका आदिवासी लिम्बूहरूको आस्थाको शिर हो। सांस्कृतिक धरोहर हो। त्यसलाई प्राकृतिक रूपमै रहन दिनुपर्छ भन्ने स्थानीयको माग सुनेनन्। एउटा व्यापारीको स्वार्थ सिद्ध गर्न सत्तामा रहेका ओलीले राज्यशक्ति लगाए।

यसले धर्म अफिम हो भन्ने मार्क्सवादी दर्शनको धज्जी उडाइरहेको थियो भने समानताका लागि लड्ने दाबी गरिरहने कम्युनिस्ट आग्रह छलमा परिणत भइरहेको थियो। त्यति मात्र होइन, २०७२ सालमा ओली प्रधानमन्त्री भएपछि झापाको कमल गाउँपालिकामा बनिरहेको आदिवासी जनजाति रंगशालाको नाम फेरेर मदन भण्डारी रंगशाला राखियो। आदिवासीहरूको समाधिस्थलमा त्यो रंगशाला निर्माणको काम भइरहेको थियो। रंगशालाको नाममा किन मदन भण्डारी जोडियो, जबकि त्यो भूगोल र समुदाय कुनैसँग मदनको साइनो छैन। आदिवासीहरूबाट तीव्र विरोध र अवरोध भएपछि रंगशालाको नाम आदिवासी नै रहने भयो।

मुक्कुमलुङतिर त्यस्तै भयो। मुक्कुमलुङ एउटा सुन्दर डाँडो मात्रै होइन, त्यहाँका आदिवासी लिम्बूहरूको आस्थाको शिर हो। सांस्कृतिक धरोहर हो। त्यसलाई प्राकृतिक रूपमै रहन दिनुपर्छ भन्ने स्थानीयको माग सुनेनन्। एउटा व्यापारीको स्वार्थ सिद्ध गर्न सत्तामा रहेका ओलीले राज्यशक्ति लगाए। सांस्कृतिक अभियन्ता तथा केबलकार बन्नु हुँदैन भन्नेहरूलाई दबाउन राजनीतिक, प्रशासनिक सबैखाले शक्ति लगाए। प्रदेश नं १ को नाम पेलेरै ‘कोसी’ राख्न लगाए। ओली जहिल्यै पनि बहुआस्था, बहुसंस्कृति र बहुपहिचानको विपक्षमा र एकलवादको पक्षमा देखिए।

यी बालेन

काठमाडौँ महानगरपालिकाको मेयर भएको बेला वालेन्द्र शाहले सांस्कृतिक सम्पदाहरूको खोज, अभिलेखीकरण र संरक्षणमा गरेका कामबाट उपत्यकाका आदिवासी तथा सांस्कृतिक अभियन्ताहरूको विश्वास जितेको देखिन्छ। युवा र्‍यापरबाट राजनीतिमा प्रवेश गरेको भए पनि सांस्कृतिक चेतना र बहुपहिचानको सम्मानमा परिपक्वता देखाएका छन्। चुनावभन्दा पहिले उनले देशको पूर्वदेखि पश्चिमसम्मका विभिन्न जातीय तथा सांस्कृतिक आस्था केन्द्रहरूको दर्शन गरेर सामाजिक बहुलता र सांस्कृतिक विविधता स्वीकार गरेको देखिन्छ। तर, संविधानसभाबाट फालिएका राजाकै शैलीमा देशाटन र तीर्थ दर्शनले उनको सरकारले चाल्ने कदमको स्पष्टता खोजिरहेको छ।

हुन त बल्ल एक महिना कटेको रास्वपा सरकारको मूल्यांकन गरिहाल्ने बेला भएको छैन। सामान्यतया एक सय दिनको कामका आधारमा सरकारको मूल्यांकन गर्ने प्रचलन छ। सरकारले सय दिनमा गर्ने गरी आफ्नो प्राथमिकताका सयबुँदे कार्यसूची सार्वजनिक गरेको थियो। जसका आधारमा आशा र सरकारको कामको परख गर्नुपर्नेछ। तर, उक्त कार्यसूचीमा सांस्कृतिक पहिचानबारे कुनै बुँदा छैन, खुवालुङ उल्लेख हुने कुरै भएन।