काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

दृष्टिकोण

राजनीतिकदेखि सामाजिक वृत्तसम्मै हामीकहाँ नेतृत्व वा अगुवाको गलत प्रवृत्तिमा औँला उठाउने, प्रश्न गर्ने र जवाफदेही बनाउनेभन्दा दास बनेर चुपचाप स्वार्थको फसल उठाउने दौड छ।

१७ बैशाख २०८३
एआईसिर्जित
अ+
अ-

सन् २००९ मा एउटा हिन्दी सिनेमा रिलिज भएको थियो– थ्री इडियट्स। व्यावसायिक धार समातेको भए पनि त्यो धेरै हिसाबले अर्थपूर्ण सिनेमा थियो। भारतीय शिक्षा प्रणालीबारे प्रश्न उठाइएको सो सिनेमाको सान्दर्भिकता अझै पनि छ। यो फिल्म पछिल्लो समय लद्दाखलाई भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने र पूर्ण राज्यको हैसियत दिनुपर्ने माग राखेर उत्रिएका आन्दोलनकारीहरूका नेतृत्वकर्ता एवं वैज्ञानिक सोनम वाङचुकको जीवनमा आधारित मानिन्छ।

यस फिल्मको एउटा दृश्यले अनेक अर्थबोध गराउँछ। एक इन्जिनियरिङ कलेजमा भर्ना हुन आएका नयाँ विद्यार्थीहरूलाई सो कलेजका प्रिन्सिपल विरु सहस्त्रबुद्धे (बोमन इरानी)ले आफ्नो खल्तीबाट एउटा पेन निकाल्दै सोध्छन्, ‘यो एस्ट्रोनट (अन्तरिक्षयात्री)ले प्रयोग गर्ने पेन हो। स्पेसमा फाउन्टेन पेन, बलपेनलगायत कुनै पेन काम लाग्दैनन्। तर, वैज्ञानिकहरूले लाखौँ डलर खर्च गरेर एउटा यस्तो पेन बनाए, जुन पेनबाट जिरो ग्राभिटीमा पनि लेख्न सकिन्छ।’

विद्यार्थीहरूको भिडमा जिज्ञासु स्वभाव र तीक्ष्ण दिमागका रणचोडदास चाँचड/र्‍यान्चो (आमिर खान) पनि हुन्छन्। प्रिन्सिपल डा. विरुको प्रश्नमा सबै विद्यार्थी मौन रहन्छन्। अर्थात्, शिक्षक-विद्यार्थी दुवै पक्ष जीवन्त सवाल-जवाफ (संवाद)को प्रक्रियाबाट पूरै अलग देखिन्छन्। विद्यार्थी र्‍यान्चो भने प्रश्न गर्न पछि हट्दैनन् र उनले प्रश्न गर्छन्, ‘सर! मेरो एउटा जिज्ञासा छ, स्पेसमा फाउन्टेन वा बल पेन चल्दैनन् भने एस्ट्रोनटले पेन्सिलको प्रयोग किन गरेनन्? पेन्सिलको प्रयोग गर्दा लाखौँ डलर बच्ने थियो!’

प्रिन्सिपल विरु सहस्त्रबुद्धे अकमकाउँदै जवाफ दिन्छन्, ‘म…म प्रयास गर्छु।’

हामी पटक्कै प्रश्नकर्ता भएनौँ र भएनौँ जिज्ञासु पनि। भयौँ त केवल अनुवर्ती, अनुयायीहरू मात्र…।

संवाद वा प्रश्नको माध्यमलाई पछ्याउँदा कुनै विद्यार्थीले शिक्षकबाट सिक्छन् र शिक्षकले पनि आफ्ना विद्यार्थीद्वारा सिक्छन्। यस्तो प्रक्रियामा दुवै पक्षले परस्पर पूरकको भूमिका निर्वाह गर्छन्। त्यसैले मुख्य कुरा– प्रश्न गर्न सक्नुपर्छ, र्‍यान्चोले जस्तै। हामी भने प्रश्न गर्न नसकेर वा अनिच्छुक रहेर बौद्धिक-मानसिक हिसाबले कमजोर बन्दै आयौँ। थ्री इडियट्सका र्‍यान्चोले जस्तै हामीले पनि प्रश्न गर्न सकेका भए धेरै विरु सहस्त्रबुद्धेहरूलाई ठिक बिन्दुमा उभ्याउन सक्थ्यौँ, ठिक आयाममा कैद गर्न सक्थ्यौँ! हामी पटक्कै प्रश्नकर्ता भएनौँ र भएनौँ जिज्ञासु पनि। भयौँ त केवल अनुवर्ती, अनुयायीहरू मात्र…।

सोही कारण हामीले युग-युगान्तरदेखि विरु सहस्त्रबुद्धेहरूलाई सदैव फुक्काफाल छाडिदियौँ। पूर्ववर्ती पुस्ताहरूले भनेझैँ ‘असनको साँढे झैँ’ उन्मुक्त हुने अवसर दिँदै आयौँ।

००

हामीले अध्ययन गर्दै आयौँ, देख्दै र भोग्दै पनि आयौँ– सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिकलगायत विभिन्न अवयवमा परिवर्तनको सुनौलो रेखांकनको अपेक्षा राख्ने वर्ग वा समुदायहरूले हरेक कालखण्डमा प्रश्न उठाउँदै आए। प्रश्न उठाउनेहरूको लामो शृंखला छ, पौराणिक/मिथकीय कालखण्डदेखि आजपर्यन्तका समयरेखासम्म।

उपनिषद्कालीन समयमा गार्गी र याज्ञवल्क्यबीचको प्रश्नोत्तर मिथक-कालको प्रखर संवादमा गनिन्छ। महाविदुषी गार्गीले राजा जनकको सभामा ब्रह्मज्ञानी याज्ञवल्क्यलाई सृष्टिको आधार, आत्मा र परमतत्त्वबारे सूक्ष्म एवं गहन प्रश्नहरू सोधेकी थिइन्, जसमध्ये कतिपय प्रश्नमा याज्ञवल्क्य जवाफविहीन बने र उनको ब्रह्मज्ञानको वस्त्र उध्रिएको थियो।

गार्गीले याज्ञवल्क्यलाई अति सामान्य बोध हुने एउटा प्रश्न सोधिन्, ‘हे याज्ञवल्क्य! पानीको बारेमा भनिएको छ, हरेक वस्तु पानीमा घुल्दछन्। भन्नुहोस्, पानी केमा गएर घुल्दछ?’

प्रश्नकर्ताहरूले यथास्थितिका पोषकहरूका वक्रदृष्टि र व्यवधानको सामना गर्नुपरे पनि अन्ततः प्रश्न उठाउनेहरू नै परिवर्तनका ध्वजा-पताका र लुङ्दरहरू फहराउन सफल हुँदै आएका छन्।

याज्ञवल्क्यले सहजै जवाफ दिए, ‘गार्गी! पानी हावामा गएर मिल्दछ।’

गार्गीले फेरि सोधिन्, ‘हे याज्ञवल्क्य! त्यसपछि हावा केमा गएर मिल्दछ?’

याज्ञवल्क्यले सहज भावमा भने, ‘गार्गी, हावा अन्तरिक्षमा गएर मिल्दछ।’

गार्गीले पुनः प्रश्न गरिन्, ‘अनि अन्तरिक्ष केमा गएर मिल्दछ?’

याज्ञवल्क्य जवाफ दिँदै गए। उनको हरेक जवाफलाई नै गार्गीले प्रश्नमा रूपान्तरण गरिन् र निरन्तर सवाल गर्दै गइन्। प्रश्नोत्तरको शृंखला लम्बिँदै जाँदा गन्धर्वलोक, आदित्यलोक, चन्द्रलोक, नक्षत्रलोक, देवलोक, इन्द्रलोक, प्रजापतिलोक र अन्त्यमा ब्रह्मलोकसम्म प्रश्नोत्तर चलिरह्यो। गार्गीले याज्ञवल्क्यलाई प्रश्न सोधिरहिन्, ‘हे याज्ञवल्क्य! यो ब्रह्मलोक उता कहाँ गएर मिल्दछ?’

अनेकानेक प्रश्नबाट तिलमिलाएका याज्ञवल्क्यको धैर्य टुट्यो। उनले रिसाउँदै ठूलो ठूलो स्वरमा भने, ‘गार्गी, यति धेरै प्रश्न नसोध। यस्ता प्रश्नहरूले तिम्रो दिमाग नखलबलियोस्।’

निःसन्देह रूपमा प्रश्नहरू उठाइने उपक्रमको आरम्भताका उठाइएका प्रश्न र वर्तमान समयरेखामा उठाइने प्रश्नहरूको अन्तर्वस्तु फरक हुन सक्ला, तर युगौँयता प्रश्न उठाइने क्रम भंग भएको देखिँदैन। हामीकहाँ लिच्छवि शासनकालप्रति मल्ल शासकहरूले प्रश्न उठाए। मल्ल शासनकालप्रति शाहवंशले प्रश्न उठाए। शाहवंशप्रति राणाहरूले प्रश्न उठाए। प्रश्नहरू उठ्दै गए, उठाउँदै गइयो– निरंकुश पञ्चायती व्यवस्थाबारे प्रजातान्त्रिक-वामपन्थी शक्तिहरूले र स्वेच्छाचारी शासन शैलीप्रति जेन-जीहरूले। प्रश्न उठाउनु समय र चेतनाको वेग हो, क्रमबद्धता हो। यस्तो क्रमबद्धता रोकिनु समयको पांग्रा गतिहीन हुनु जस्तै हो। जसले प्रश्न उठाउन सक्दैनन् वा उठाउन चाहँदैनन्, त्यो पुस्ता इतिहासको गर्तमा स्वतः भासिएका अनेक दृष्टान्त छन्। प्रश्नकर्ताहरूले यथास्थितिका पोषकहरूका वक्रदृष्टि र व्यवधानको सामना गर्नुपरे पनि अन्ततः प्रश्न उठाउनेहरू नै परिवर्तनका ध्वजा-पताका र लुङ्दर फहराउन सफल हुँदै आएका छन्।

मूलतः बुद्धले ब्राह्मणवादी दर्शनको चार मान्यता क्रमशः वेदको अपौरुषेयता, धार्मिक कर्मकाण्डद्वारा आत्माको अमरता, चातुर्वण्य समाज र कर्मको सिद्धान्तप्रति प्रश्न उठाएका थिए।

कुनै पनि महान् दार्शनिक, विचारक वा चिन्तकहरूले तात्कालिक सामाजिक तन्तुहरूलाई गतिशील तुल्याउन भूमिका निर्वाह नगर्ने प्रकृतिका विचार, मान्यता एवं प्रणालीप्रति प्रश्न उठाउन छाडेनन्। महान् विचारक-चिन्तक बुद्ध पनि एक अग्रणी प्रश्नकर्ता थिए र उनले वेदको परम्पराप्रति प्रश्न उठाए। मूलतः बुद्धले उपनिषद्को अवधिमा वेद परम्पराप्रति प्रश्न उठाएका थिए। वेदकालीन समयमा व्याप्त धार्मिक कर्मकाण्ड र पशुहत्याको विरोध गर्दै उनी एक सचेत प्रश्नकर्ताका रूपमा उभिन पुगेका थिए।

जब बुद्धले धार्मिक कर्मकाण्डप्रति तिखा प्रश्न उठाए, त्यसले तात्कालिक समाजभित्र निकै हलचल उत्पन्न गराउनुका साथै  समाज र व्यक्तिहरू लाभान्वितसमेत बन्न पुगे। कर्मकाण्डको नाममा आहुति दिँदा आगोमा डढाएर नष्ट हुने हजारौँ क्विन्टल अन्न जोगिन पुग्यो। त्यो मानव जातिका लागि वरदान साबित बन्यो। धार्मिक कर्मकाण्डका क्रममा अन्नहरू डढाइने क्रियामा न्यूनता आउन थालेपछि उत्पादन मात्र बढ्न पुगेन, अन्नको भण्डारणसमेत हुन थाल्यो। अर्कातिर, बुद्धले पशुहत्याप्रति प्रश्न उठाउँदा वैश्यहरूको व्यापार-व्यवसायमा वृद्धि हुनुका साथै पशुहरूका समूह वैश्यहरूका घर-गोठमा निर्भयतापूर्वक रहन थाले।

मूलतः बुद्धले ब्राह्मणवादी दर्शनको चार मान्यता क्रमशः वेदको अपौरुषेयता, धार्मिक कर्मकाण्डद्वारा आत्माको अमरता, चातुर्वण्य समाज र कर्मको सिद्धान्तप्रति प्रश्न उठाएका थिए। उपनिषद्कालीन ऋषि याज्ञवल्क्यले भनेका थिए, ‘क्षण क्षण परिवर्तनशील यो बाह्य जगत्‌को भित्र नित्य, कूट, अविचल, चिरन्तन यस्तो एउटा सूक्ष्म तत्त्व छ…।’ उनले अन्तर्जगत्‌को त्यस नित्य तत्त्वलाई ‘आत्मा’ नाम दिएका थिए। याज्ञवल्क्यको उपदेश थियो, ‘…त्यो निर्विकार आत्मा प्राप्त गर्नु नै जीवनको अन्तिम र सर्वश्रेष्ठ उद्देश्य हो।’ उपनिषद्कालीन ‘पण्डितहरू’ द्वारा प्रतिपादित ‘आत्मावाद’ र ‘ब्रह्मवाद’ प्रति बुद्धले प्रश्न मात्र उठाएनन्, त्यसलाई पूर्णतः नकारे पनि। ती दुई वादलाई नकार्दै उनले ‘अनित्यवाद’ प्रस्तुत गरे। बुद्धद्वारा प्रतिपादित ‘नयाँ वाद’ उनको प्रश्न गर्ने हिम्मत र साहसको उपज थियो।

बुद्ध जस्तै अर्का प्रखर प्रश्नकर्ता थिए, जिओर्डानो ब्रुनो। उनी १६औँ शताब्दीका प्रसिद्ध इटालियन दार्शनिक, खगोलशास्त्री, गणितज्ञ र कवि थिए। उनले धार्मिक उन्मादमा फसेको तत्कालीन युरोपेली समाजप्रति प्रश्न गरे। खगोलशास्त्री निकोलस कोपर्निकसका विचारहरूलाई समर्थन गर्दै उनी प्रश्नकर्ताको मञ्चमा उभिएका थिए। कोपर्निकसको मत थियो, ‘ब्रह्माण्डको केन्द्र पृथ्वी होइन, सूर्य हो।’

शारीरिक स्वास्थ्य संवर्द्धन हेतु ‘साबुनपानीले हात धुने बानी बसाले’ जस्तै वैचारिक, सैद्धान्तिक स्वास्थ्य हेतु अब प्रश्न गर्ने बानी बसालौँ।

कोपर्निकसको विचारलाई समर्थन गर्दै ब्रुनोले भने, ‘आकाशलाई हामीले देख्दैनौँ, यो अनन्त छ र यसमा अनगिन्ती संसारहरू छन्।’ पादरीहरूका तर्कप्रति प्रश्न गर्दै ब्रुनोले भने, ‘हरेक ताराको आफ्नै परिवार हुन्छ, हाम्रो सौर्य परिवार जस्तै। सूर्य जस्तै हरेक तारा आफ्नै परिवारको केन्द्र हो। यस ब्रह्माण्डमा अनगिन्ती ब्रह्माण्डहरू छन्। ब्रह्माण्ड अनन्त र अथाह छ।’ ब्रुनोको विश्वास थियो, ‘पृथ्वी मात्र होइन, सूर्य पनि आफ्नो अक्षमा घुम्छ।’

निर्भीक र निडर स्वभावका ब्रुनोका प्रश्नहरूलाई चर्चका पादरीहरूले खण्डन गरे र विरोध पनि जनाए। ब्रुनो डराएनन्। बरु उनले चर्चको कठोर यातना सहे। करिब आठ वर्षको कठोर जेल सजायपछि उनलाई १७ फेब्रुअरी १६०० मा तत्कालीन पोप र चर्चका पादरीहरूले रोमको भिडभाडयुक्त चोकमा खम्बामा बाँधेर मट्टितेल खन्याई जलाइदिए।

ब्रुनोको मृत्युदण्ड केवल धार्मिक असहमतिको परिणाम थिएन, त्यो पुनर्जागरण र प्रारम्भिक आधुनिकताबीचको संक्रमणकालीन व्यापक बौद्धिक परिवर्तनको सूचकसमेत थियो।

००

केही दशकपूर्व  विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरूबीच चेतना जागृत गर्ने हेतुले एउटा जागरणमुखी स्लोगन जारी गरिएको थियो, ‘साबुनपानीले हात धुने बानी बसालौँ।’ निश्चय नै यो नारा विद्यार्थीहरूको स्वास्थ्यलाई केन्द्रबिन्दुमा राखेर जारी गरिएको हुनुपर्छ। ज्ञात भएन, यो नाराको प्रभाव विद्यार्थीहरूबीच कति हदसम्म पर्‍यो!

राजनीतिक वृत्तमा हेर्ने हो भने, पूर्ववर्ती समयदेखि अचेलसम्मै हामीकहाँ त्यस्ता ‘विद्यार्थीहरू’ को लस्कर देख्न सकिन्छ, जसले ‘गुरु-शिष्य’ को परम्परालाई तोडेर ‘मालिक-दास’ को परम्परा ब्युँताउन सार्थक ठानिरहे। त्यस्ता विद्यार्थीहरू ‘मालिक’ (नेतृत्व) सामु नतमस्तक देखिइरहे र प्रश्न गर्ने कार्यमा उदासीन मात्र रहेनन्, मौन बस्नुमै आफ्नो कल्याण हुने ठाने। कथित ‘गुरु’ का आप्तवचन सुनेर मक्ख परे। तिनीहरूले आफ्ना ‘मालिक’ लाई श्रेष्ठ साबित तुल्याउन, उनीहरूलाई धेरैभन्दा धेरै शक्ति आर्जन गर्न उक्साउन र यशस्वी तुल्याउन भरमग्दुर प्रयत्न गरे। तर, आफ्नो नेतृत्वको गलत कदम र क्रियाकलापप्रति प्रश्न उठाउन चाहेनन्।

दक्षिण अमेरिकी मुलुक ब्राजिलका प्रख्यात शिक्षाशास्त्री पाउलो फ्रेरेको शिक्षा दर्शनमा शिक्षासम्बन्धी दुई अवधारणालाई अति नै महत्त्वपूर्ण मानिन्छ। एक, बैंकिङ अवधारणा र दोस्रो, संवादात्मक शिक्षण पद्धति। फ्रेरेले आफ्नो दोस्रो अवधारणा ‘संवादात्मक शिक्षण पद्धतिको माध्यमबाट दास, भक्तिभाव वा सूचना संकलन प्रणालीलाई तोड्ने कोसिस गरेका थिए। त्यस्तै, शिक्षाशास्त्रीहरूले एउटा निष्कर्ष निकालेका थिए, ‘कुनै पनि सीमान्तीकृत समाजमा शिक्षण पद्धतिको आधार मूलतः एकतर्फी संवाद हुन्छ, जसलाई नाटकको मञ्चीय भाषामा ‘सोलीलकी’ (स्वगतवाद) भनिन्छ।’ जुन पद्धतिमा शिक्षक कक्षाकोठामा आउँछन् र सुगारटाइ शैलीमा पढाएर जान्छन्। विद्यार्थीहरू शिक्षकको पढाइमा मूकदर्शक बन्छन्। कुनै अध्याय र सामग्रीबारे विचार-विमर्श हुँदैन।

अब हामीले पनि राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायत मञ्चहरूमा व्याप्त ‘सोलीलकी’ को तगारोलाई हटाउनु अनिवार्य देखिइसकेको छ। संवाद, प्रश्न‍-प्रतिप्रश्नको नयाँ एवं प्रभावकारी माध्यम स्थापित गर्नु अपरिहार्य भइसकेको छ। अतः शारीरिक स्वास्थ्य संवर्द्धन हेतु ‘साबुनपानीले हात धुने बानी बसाले’ जस्तै वैचारिक, सैद्धान्तिक स्वास्थ्य हेतु अब प्रश्न गर्ने बानी बसालौँ। स्वस्थ, सार्थक र सुविचारित संवादलाई पछ्याऔँ।