बुद्ध जयन्ती
यतिऔँ, उतिऔँ नभनी ‘बुद्ध जयन्ती’ मात्रै भनेर मनाउँदा बुद्धसम्बन्धी तीनवटै महत्त्वपूर्ण घटनालाई समेट्छ र मितिसम्बन्धी अन्योल पनि सिर्जना हुँदैन।
नेपालमा वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्तीलाई यतिऔँ भनेर उल्लेख गर्ने परम्परा धेरै पुरानै हो। ७५ वर्षअघिदेखि सार्वजनिक रूपमा बुद्ध जयन्ती मनाउने गरिएको थियो। त्यसअघि बौद्ध उपासकहरू मिलेर एउटा घरमा भेला भएर बुद्ध जयन्ती मनाइने चलन थियो। धेरै कालअघि बुद्धको जन्म, बोधिलाभ र महापरिनिर्वाण अर्थात् तीन संयोगका सन्दर्भमा विशेष गतिविधि हुन्थ्यो भन्ने अनुमान छ। काठमाडौँका नेवार बौद्धहरूले यस दिनलाई स्वांया पुन्हि भन्ने गरिएको प्रसंगबाट यसको अनुमान गरिएको हो।
२०८२ सालको वैशाख पूर्णिमाको दिन भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा लुम्बिनी विकास कोषको आयोजनामा २५६९औँ बुद्ध जयन्ती मनाइयो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अर्को साल २६५०औँ बुद्ध जयन्ती मनाउने घोषणा गरेका थिए। उनले यसो भन्नुमा बुद्धको महापरिनिर्वाणको आधारमा बुद्ध जयन्ती मनाइँदै आएकामा अबदेखि जन्मवर्षका आधारमा मनाउने तर्क थियो। यसको केही दिनअघि मात्रै राष्ट्रिय सभामा एक सांसदले बुद्धको महापरिनिर्वाणको आधारमा तय भएको बुद्ध संवत्अनुसार बुद्ध जयन्ती मनाउनुपर्ने अभिव्यक्ति दिएका थिए। त्यसअघि केही व्यक्तिले यस्तै विचार व्यक्त गरेका थिए। यही तथ्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उल्लेख गरेकोबारे मन्त्री पाण्डेले बताएका थिए। ओली मन्त्रिपरिषद्ले भने यसबारे कुनै निर्णय गरेन।
तर, लुम्बिनीमा तत्कालीन मन्त्री पाण्डेले घोषणा गरेअनुसार यस वर्षको बुद्ध जयन्ती २६५०औँ भएन। कथंकदाचित् देशमा राजनीतिक परिवर्तन नभएर प्रधानमन्त्रीमा ओली रहिरहेका भए पाण्डेको घोषणा कार्यान्वयन हुन्थ्यो होला।

लुम्बिनीस्थित मायादेवी मन्दिर। तस्बिर : नेपाल फोटो लाइब्रेरी
तत्कालीन प्रधानमन्त्री ओली बुद्ध र बुद्धसम्बन्धी जतिसुकै बोले पनि बुद्धप्रति रुचि राख्ने व्यक्ति होइनन्। ओली लुम्बिनीप्रति खासै जानकारी राख्ने व्यक्ति पनि होइनन्। यसको दृष्टान्त के हो भने, ओलीले लुम्बिनीमा पाँच हजार व्यक्ति अटाउने अन्तर्राष्ट्रिय सभा भवन बनाउने घोषणा गरे, र बनाइछाडे। त्यसप्रति राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले असन्तुष्टि मात्र जनाएन, विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई खतराको सूचीमा राख्ने चेतावनीसमेत दियो।
नेपाल र भारतमा बुद्ध जयन्तीको नाममा महोत्सव नै मनाउने गरिएको छ। अन्यत्र ‘बुद्ध पूर्णिमा’ वा ‘वैशाख पूर्णिमा’ नामबाट पनि यो जयन्ती मनाउने गरिन्छ। अझै पनि गौतम बुद्धको जन्ममितिको निर्धारण गर्न सकिएको छैन। यो छलफलको बेग्लै विषय हो। श्रीलंकाको एउटा परम्परागत मान्यताले इसापूर्व ६२३ को वैशाख पूर्णिमाको दिन बुद्धको जन्म भएको मान्छ र सोहीअनुसार इसापूर्व ५४३ मा महापरिनिर्वाण भएको मान्यता राख्दछ। यही महापरिनिर्वाणबाट वर्ष गणना गरी बुद्ध संवत्को अवधारणा बनेको हो। यतिऔँ, उतिऔँ बुद्ध जयन्ती भन्नु वास्तवमा बुद्ध संवत्को उल्लेख मात्र हो।
बुद्धलाई वस्तूकरण मात्रै गर्ने सोचले लुम्बिनी, रामग्राम, कपिलवस्तुलगायत ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गरेर पैसा कमाउन मात्रै सिकायो, ती ठाउँप्रति अलिकति पनि श्रद्धाभाव व्यक्त गर्न सिकाएन।
बुद्ध र बौद्ध समाजमा बुद्धका प्रत्येक कुरालाई श्रद्धाका साथ ग्रहण गरिन्छ। लुम्बिनीमा जन्म, बोधगयामा बोधिलाभ र कुशीनगरमा महापरिनिर्वाण भएको हो बुद्धको। बुद्धको जीवनमा यी तीनवटै घटनाको विशेष महत्त्व छ। यी तीन घटनाका अतिरिक्त सारनाथमा भएको बुद्धको प्रथम धर्मचक्रप्रवर्तनलाई पनि उत्तिकै महत्त्व दिएको पाइन्छ। र, यी चारवटै घटनास्थललाई ‘चार संवेजनीय स्थल’ (संवेग जागृत हुने ठाउँ) वा ‘चारधाम’ भन्ने गरिन्छ। यी चारमध्ये पहिलो स्थान लुम्बिनीको छ भन्ने आग्रह वा बुझाइ केही नेपालीमा पाइन्छ। आफू नेपाली नै भएको हुँदा यस्तो बुझाइ रहन गएको र यही बुझाइलाई संस्थागत गर्न नेपालीहरू चाहन्छन्। अझ चार ठाउँको यात्रा गर्दा लुम्बिनीबाट सुरु गर्न बुद्धले नै भन्नुभएको छ भनेर जोड दिने गरेको पनि पाइन्छ। तर, वास्तवमा बुद्धले त्यस्तो कतै बताएको पाइँदैन। चार ठाउँ संवेजनीय हुने र ती ठाउँहरूको भ्रमण गर्दा धर्मलाभ हुने बुद्धको वचनलाई तोडमोड गर्नु ठिक होइन।

गत वर्ष लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोह।
बुद्धको जन्मको सालको आधारमा बुद्ध जयन्ती मनाउनुपर्ने आग्रहबाट बुझिने एउटै कुरा हो, बोधिलाभ र महापरिनिर्वाण दुई घटनालाई अनदेखा गर्नु। दुई घटनालाई अनदेखा गर्नुको कारण के हो? यो प्रश्नको एउटै उत्तर हुन्छ, जन्मस्थल लुम्बिनी नेपालमा पर्नु। उसो भए बोधिलाभस्थल बोधगया र महापरिनिर्वाणस्थल कुशीनगर भारतमा परेको आधारमा भारतले पनि तीन घटनामध्ये दुई घटनालाई मात्र महत्त्व दिई बुद्ध जयन्ती मनाउन थाल्यो भने नेपालको प्रतिक्रिया के हुन्छ? यी तीन वटै ठाउँ आफ्नो भूगोलमा नपर्ने देशहरूले अझ बढी भव्यताका बुद्ध जयन्ती मनाउने गरेका छन्। त्यसबाट नेपालले पाठ सिक्नुपर्छ। नेपाली पक्षले बुद्ध जन्मको घटनालाई मात्र देख्नु र सोहीअनुसार मान्नु गौतम बुद्ध र बौद्ध धर्मप्रति श्रद्धा भएर नभएर राजनीतिक पूर्वाग्रह हो। नीतिनिर्माण तथा निर्णायक ठाउँमा बौद्ध शिक्षाको अभाव तथा बौद्धविज्ञको पहुँच नहुनुको परिणाम हो, यो।
गौतम बुद्ध र बौद्ध धर्मदर्शनको कुनै पनि कुरामा उत्साहित नहुने, बरु उदासीन हुने अनि बुद्ध नेपालमा जन्मेका हुन् भन्ने वाक्य मात्रै जपेर बस्ने प्रवृत्तिले बुद्ध र बुद्धको शिक्षासँग दूरी बढाउँछ। बुद्धलाई वस्तूकरण मात्रै गर्ने सोचले लुम्बिनी, रामग्राम, कपिलवस्तुलगायत ठाउँलाई पर्यटकीय स्थलका रूपमा विकास गरेर पैसा कमाउन मात्रै सिकायो, ती ठाउँप्रति अलिकति पनि श्रद्धाभाव व्यक्त गर्न सिकाएन। यस्तो प्रवृत्तिले विश्व बौद्ध जगत्मा नेपालको नकारात्मक छवि प्रस्तुत हुन सक्छ।
बुद्ध र बौद्ध धर्मदर्शनको आयतन र प्रभाव विश्वव्यापी भएकाले नेपालले आफ्नो पोल्टामा पार्ने दृष्टिले हेर्नु संकुचित सोच हो।
बुद्ध भनेको बोधको उच्चतम अवस्था भएकाले उनी र बौद्ध धर्मदर्शनलाई कुनै पनि जाति, भाषा, समुदाय, समाज, राष्ट्र र राष्ट्रियतामा सीमित गर्न उचित हुँदैन। उनलाई कुनै समयविशेषमा पनि सीमित गर्न सकिन्न। बुद्ध र बौद्ध धर्मदर्शनको आयतन र प्रभाव विश्वव्यापी भएकाले नेपालले आफ्नो पोल्टामा पार्ने दृष्टिले हेर्नु संकुचित सोच हो।
अन्त्यमा, वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउन यतिऔँ वा उतिऔँ भनेर गन्ती गर्नुपर्ने आवश्यकता नै किन पर्यो र भन्ने प्रश्न हो। बुद्धको जन्म इसापूर्व ६२३ मा भएको भन्नु श्रीलंकाको एउटा परम्परामा आधारित छ, जसको ऐतिहासिकता सिद्ध हुँदैन। यस्तै, अन्यत्र अर्कै मान्यता पाइन्छन्। तर, इतिहास क्षेत्रको अध्ययन-अनुसन्धानमा लाग्नेहरू इसापूर्व ६२३ सहित कुनै पनि समयलाई नमानी इसापूर्व ५६३ लाई बुद्धको जन्म साल मान्छन्। यो भन्नु थप ६० वर्ष बढी हो र यो फरक मान्यताले धेरै कुरा उल्टोपाल्टो पारिदिन्छ। उदाहरणका लागि, बौद्ध ग्रन्थ त्रिपिटकअनुसार गौतम बुद्ध जैन धर्मका तीर्थंकर महावीर वर्धमानभन्दा कान्छा हुन् र उनको मृत्यु हुँदा बुद्ध जीवित नै थिए। ६० वर्षको फरकले महावीर वर्धमान बुद्धभन्दा कान्छो देखिन्छन् अर्थात् यो तथ्य उल्टो हुन जान्छ।
यसरी नै अर्को गम्भीर समस्या मौर्य सम्राट् अशोकको सन्दर्भमा हुन पुग्छ। बुद्धको जन्म इसापूर्व ६२३ मान्ने हो भने उनका बाजे चन्द्रगुप्तले मौर्य साम्राज्यको स्थापना गर्नुभन्दा आठ वर्षअघि नै नाति अशोकको राज्यारोहण भइसकेको देखिन पुग्छ, जुन हास्यास्पद कुरा हो। यस अवस्थामा यतिऔँ वा उतिऔँ नभनी ‘बुद्ध जयन्ती’ मात्रै भन्दा तीन वटै महत्त्वपूर्ण घटनालाई समेट्ने त छँदै छ, साथसाथै मितिसम्बन्धी अन्योल र भ्रम पनि सिर्जना हुँदैन।