काठमाडौँ
००:००:००
११ असार २०८३, बिहीबार

जनस्वास्थ्य

नेपालका छिमेकी मुलुकहरू र एसियाली क्षेत्रमा हन्ता भाइरसको संक्रमण भेटिने गरेकाले सम्भावित जोखिमको सम्भावना नकार्न सकिँदैन।

२७ बैशाख २०८३
एमभी होन्डियस
अ+
अ-

कोभिड महामारी भर्खरै नियन्त्रण गरेको विश्वमा अहिले हन्ता भाइरसको सन्त्रास फैलिएको छ। यसै महिना एमभी होन्डियस नामको विशाल क्रुजमा हन्ता भाइरस फैलिएपछि विश्वभरका लागि चासो र त्रासको विषय बन्न पुग्यो।

अन्टार्कटिका महादेशको भ्रमण गराउन अर्जेन्टिनाबाट छुटेको डच पानीजहाजमा सवार तीन यात्रीको मृत्यु भइसकेको छ। ८७ जना यात्री र ६० जना चालक दलका सदस्य रहेको त्यस पानीजहाजमा २४ देशका नागरिक सवार थिए। पानीजहाजमा रहेका व्यक्ति हन्ता भाइरसको संक्रमणले बिरामी परेका थिए। यस भाइरसको मृत्युदर ३० देखि ४० प्रतिशत रहेको छ।

संक्रमित मुसाबाट सर्ने हन्ता भाइरस दुर्लभ प्राकृतिको मानिन्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार प्रत्येक वर्ष विश्वभरमा १० हजारदेखि एक लाख मानिस यसबाट संक्रमित हुने गरेका छन्। यसरी संक्रमित हुने अधिकांश एसिया र युरोपका हुने गरेका छन्।

यसपटक यो भाइरस मानिसबाट मानिसमा सर्‍यो। हन्ता भाइरसको ‘एन्डिज भाइरस’ नामक भेरिएन्टले गर्दा सरेको हो। यो भाइरस पत्ता लगाउन एन्टिबडी र आनुवंशिक परीक्षण गर्ने गरिएको छ। कोभिडकै जस्तो आरटी पीसीआर र जिनोम सिक्वेन्सिङ गरेर यो रोग पत्ता लगाइन्छ।

अहिलेसम्म यस भाइरसका लागि कुनै एन्टिभाइरल औषधि वा खोप उपलब्ध छैन। अस्पतालमा बिरामीको अवस्था हेरेर श्वासप्रश्वासमा सहयोग पुर्‍याउने जस्ता उपचार गरिन्छ।

नेपालमा अहिलेसम्म हन्ता भाइरसको संक्रमणबारे जानकारी छैन। यो भाइरस नेपालका छिमेकी मुलुक र एसियाली क्षेत्रमा भेटिने गरेकाले सम्भावित जोखिमको सम्भावनालाई नकार्न सकिँदैन। विश्व स्वास्थ्य संगठनले पनि पत्रकार सम्मेलनमार्फत यसले महामारीको रूप लिन सक्ने सम्भावना कम रहेको जनाएको छ।

भाइरसबाट संक्रमित भएको एकदेखि आठ हप्ताभित्र लक्षणहरू देखिन सक्छन्। सुरुमा ज्वरो आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, थकाइ र वाकवाकी लाग्ने जस्ता फ्लुसँग मिल्दाजुल्दा लक्षण देखिन्छन्। पछि, फोक्सोमा पानी भरिएर सास फेर्न गाह्रो हुने (एचपीएस) र मिर्गौला फेल हुने (एचएफआरएस) जस्ता गम्भीर अवस्था आउन सक्छ।

यसले मानिसका मिर्गौला र फोक्सोमा असर गर्छ। पानीजहाजको सानो र बन्द ठाउँमा धेरै मानिस बस्ने हुनाले यो भाइरस फैलिन अनुकूल वातावरण बनेको हुन सक्ने विज्ञहरूको अनुमान छ। यो भाइरस संक्रमित मुसाको दिसा, पिसाब वा र्‍यालसँगको प्रत्यक्ष सम्पर्कबाट सर्ने गर्दछ। मुसा भएको ठाउँमा सरसफाइ गरी सावधानी अपनाउने हो भने यसको रोकथाम गर्न सकिन्छ। मुसा भएको स्थानमा सफाइ गर्दा पन्जा र मास्क लगाउनुपर्छ। त्यसैगरी, सफाइ गर्दा कीटाणुनाशक वा ब्लिचको प्रयोग गर्न विज्ञहरूले सुझाव दिने गरेका छन्। त्यसैगरी, भाइरस श्वासप्रश्वासमार्फत शरीरभित्र नपसोस् भनेर धुलो हुने गरी नबढार्न उनीहरू सचेत गराउँछन्।

अहिलेसम्म यस भाइरसका लागि कुनै एन्टिभाइरल औषधि वा खोप उपलब्ध छैन। अस्पतालमा बिरामीको अवस्था हेरेर श्वासप्रश्वासमा सहयोग पुर्‍याउने जस्ता उपचार गरिन्छ।

हन्ता भाइरसको संक्रमणबाट बच्न मुसा नियन्त्रण सबैभन्दा महत्त्वपूर्ण र प्रभावकारी तरिका हो।

संक्रमण फैलिएको पानीजहाजका यात्री र चालक दलका सदस्यहरूलाई नियमित निगरानीमा राखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितहरूलाई ४५ दिनसम्म सेल्फ-आइसोलेसनमा बस्न र चिकित्साकर्मीलाई जानकारी गराउन भनिएको छ। श्वासप्रश्वाससम्बन्धी समस्या भएकालाई मास्क लगाउन भनिएको छ। त्यसैगरी, पानीजहाजका यात्रीलाई ४५ दिनसम्म थप लक्षण देखिन्छ कि देखिँदैन भनेर निगरानीमा राखिएको छ। पानीजहाजबाट संक्रमण नफैलियोस् भनेर त्यसलाई पनि अलग्याएर राखिएको छ। विशेष रूपले सरसफाइ गरिएको छ।

विज्ञहरूले अहिले अपनाएको आइसोलेसनको विधिले संक्रमण फैलिन सम्भावना कम रहेको जनाएका छन्। तर, जहाजसँग कुनै सम्बन्ध नभएका व्यक्तिहरूमा संक्रमण भेटिएमा, बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरू संक्रमित भएमा, भाइरसले आफ्नो स्वरूप परिवर्तन (म्युटेसन) गरी मानिसबाट मानिसमा सजिलै सर्न सक्ने क्षमता विकास गरेमा चिन्ताको विषय हुन सक्ने बताएका छन्। तर, अहिलेको अवस्थामा एन्डिज प्रजातिबाट मानिसमा सर्ने अवस्था पनि निकै कम भएको बताइन्छ। लामो समय सँगै बसेको र नजिकको सम्बन्ध भएको व्यक्तिमा सर्ने सम्भावना हुने बताइएको छ।

संक्रमण भएर हाल अस्पतालमा भर्ना गरिएका तीन जनालाई सास फेर्न कठिन भएको र ज्वरो आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

रोकथाम

हन्ता भाइरसको संक्रमणबाट बच्न मुसा नियन्त्रण सबैभन्दा महत्त्वपूर्ण र प्रभावकारी तरिका हो। खाना र फोहोरको व्यवस्थापन गर्नुपर्छ। त्यसका लागि खानेकुराको व्यवस्थापन, फोहोर व्यवस्थापन र मुसाको रोकथाम गर्नुपर्छ।

मानिसले खाने खाना र घरपालुवा जनावरको दानालाई मुसाले नभेट्ने गरी राम्ररी भण्डारण गर्ने, फोहोर र बाँकी रहेको खानालाई राम्ररी बिर्को लगाइएको बाल्टिनमा मात्र राख्ने र यस्ता बाल्टिनलाई दैनिक रूपमा सफा गर्ने, घरका प्वालहरू टाल्ने र मुसा घरभित्र पस्न सक्ने सम्भावित प्वाल वा छिद्रलाई राम्ररी टाल्ने, घर वरपर मुसाले गुँड बनाउन सक्ने ठाउँ नराख्ने, सिँढी, गोदाम, घरवरिपरिको बगैँचा आदिको सफा गर्ने गर्नुपर्छ। पुराना सामान थुपारेर राख्नु हुँदैन। त्यसैगरी, घरभित्र मुसा देखिएमा तिनलाई समात्न पासोको प्रयोग गर्नुपर्छ।