दृष्टिकोण
सहज ऋणका लागि अनौपचारिक र अवैध कारोबारमा जोडिँदा गाउँ गाउँमा मानिसहरू उठिबास लाग्नेदेखि जीवन-मरणको दोसाँधमा पुगिरहेका छन्।
‘ब्लाक इकोनमी’ भित्र पर्ने अवैध गतिविधिमध्ये अनौपचारिक क्षेत्र अर्थात् व्यक्तिगत तहबाट चर्को ब्याजदरमा ऋण लिने र दिने कार्यलाई मिटरब्याज भनिन्छ। यो आर्थिक अपराधलाई सरकारले ‘अनुचित लेनदेन’ भनी परिभाषित गरेको छ। यस्तो आर्थिक कारोबार मौखिक सहमति, चेक, तमसुक, घरजग्गा, सुनचाँदी र गाडी धितोमा राखेर व्यक्ति व्यक्तिबीच हुने गर्छ। ऋणीसँग धितो नभएको अवस्थामा चेक आदानप्रदानबाटै कारोबार हुन्छ।
यस्तो अवस्थामा प्रायजसो रकम लेखिएको चेक वा खाली चेकको लेनदेन हुन्छ। चेकमा रकम लेख्दा ब्याजसहित जोडेर लिइन्छ। कुनै साहुकारले एक लाख रुपैयाँ दिएको छ भने दुई लाखको चेक माग्छन् र ठूला ठूला कारोबार खाली चेकमै हुने गर्छन्।
ऋण दिने बेला मिटरब्याजी साहुहरूले भन्ने गर्छन्, ‘मैले तपाईंलाई विश्वास गरेर पैसा दिएँ, तपाईंले मलाई खाली चेक दिन केको आपत्ति! चेक दिनुस्, पैसा लैजानुस्।’ ऋण लिने व्यक्तिलाई पनि कुरा ठीकै हो जस्तो लाग्छ। औपचारिक वित्तीय प्रणालीमा पहुँच नहुने, ऋण नपत्याउने र अनेक प्रक्रियागत झन्झट हुने भएकाले उनीहरू स्थानीय साहु-महाजनको दैलोमा पुगेका हुन्छन्। कतिपयले आपत्विपत् टार्न तथा कतिपयले उद्यम-व्यापार सुरु वा विस्तार, सेयर बजार, सन्तानको शिक्षा, वैदेशिक रोजगारी आदिका लागि ऋण लिन साहुकारको शरणमा पुग्छन्।
पैसा फिर्ता गर्न सकिएन भने चेक दिइसकेपछिको परिणाम के हुन्छ, ऋणीलाई राम्ररी थाहा हुन्छ। यसकारण पनि ऋण लिएर बेइमानी गर्ने सम्भावना कमै हुन्छ। तर, ऋण लिएपछि सोचेअनुरूप भएन र ऋण तिर्ने आधार बनेन भने समस्या त्यही बिन्दुबाट सुरु हुन्छ। अधिक ब्याज थुप्रिँदै जान्छ र ऋणी मिटरब्याजीको दुश्चक्रमा फस्छ। समस्या सुरु भएपछि ऋणीहरूले चेक बाउन्स हुने डरले सकिनसकी ब्याज बुझाउँछन्। कतिपय एउटा साहुकारको ऋण तिर्न अर्कै महाजनसँग पहिलेभन्दा पनि चर्को ब्याजमा ऋण लिएर ब्याज चुक्ता गर्छन्। यस्तो दुश्चक्रका कारण ब्याज तिर्दा तिर्दा ऋणीको आर्थिक जग खस्किँदै जान्छ। ऋण तिर्न कि त घरजग्गा नै बेच्नुपर्ने हुन्छ, नभए जेलमा बस्नुपर्छ।
चेक र खाली चेकको सन्दर्भमा ब्याज सयकडा पाँचभन्दा पनि धेरै हुन्छ। साहुहरू केही समयसम्म चुप लागेर बसे पनि त्यसपछि दबाब दिन थाल्छन्। जेल पुर्याउने चेतावनीदेखि कतिपयले त मान्छे लगाएर कुटपिट गर्ने धम्कीसम्म दिन्छन्। त्यस्तो डर र अत्यासका कारण ऋणीहरू ब्याजको ब्याज वा बढी ब्याज तिर्न तयार हुन्छन्। ब्याज बढाएर पाँचबाट सयकडा ८/१० पुर्याइन्छ। यो ब्याज वार्षिक ९८ देखि १२० प्रतिशतसम्म हुन्छ। सुनचाँदी, घरजग्गा धितोमा भने मासिक सयकडा ३/४ प्रतिशत ब्याज हुँदो रहेछ। मोटरसाइकल र गाडी धितोमा ५/१० प्रतिशत हुँदो रहेछ।
अचम्मको कुरा त, प्रत्येकजसो मिटरब्याजीको प्रहरीसँग मिलेमतो हुने रहेछ। पैसा लगानी गर्ने व्यक्ति र उठाइदिने प्रहरी। यति भएपछि साहुकारले आफूले चाहेको रकम भरेर चेक बाउन्स गर्ने र तुरुन्तै समातेर थुन्न लगाउने। थुनिसकेपछि कुटपिट गरेर हुन्छ या चलअचल सम्पत्तिबाट आफ्नो पैसा असुल गर्ने रहेछन्।
मेरा एक जना निकट दाइले एक व्यक्तिसँग एक पटक आठ लाख, अर्को पटक चार लाख गरेर १२ लाख रुपैयाँ लिएका रहेछन्। पैसा लिनुको कारण बैंकको ऋण घटाएर ऋण थप्ने रहेछ। पैसा असुल गरेपछि बैंकले विभिन्न कारण देखाउँदै ऋण थप्न नमिल्ने बताएछ। दाइले साहुकारलाई सावाँ चार लाख रुपैयाँ चुक्ता गरेपछि आठ लाख रुपैयाँ बाँकी रहेछ। उसले आठ लाख बुझाएपछि दुवै चेक फिर्ता गर्छु भनेछ। तर, दाइले समयमा पैसा तिर्न सकेनन् र ऊ १२ लाख रुपैयाँकै चेक बाउन्स गरेर कानुनी प्रक्रियामा गयो।
पीडितको कुरा अदालतले सुनेन। १२ लाख रुपैयाँलाई नै सदर गरेर मिटरब्याजीको पक्षमा निर्णय गरिदियो। केही महिनासम्म आठ लाखको सयकडा ३६ प्रतिशतका दरले ब्याज बुझाएको प्रमाणको समेत अदालतले कुनै मतलब गरेन।
अर्को घटना, एक जना भाइले साहुकारकोमा २३४ लाल सुन धितो राखेर तीन लाख ५० हजार र खाली चेक दिएर थप एक लाख ५० हजार रुपैयाँ लिएका रहेछन्। डेढ लाख लिनुको उद्देश्य थियो, ग्राहकको सामान बनाएर दिने। तर, ग्राहकले एक महिनामा दिन्छु भनेको रकम दिएन। समस्या सुरु भइहाल्यो। भाइले हालसम्म ६ लाख नगद बुझाइसक्यो। ६ लाखभन्दा बढीको सुन मिटरब्याजीसँगै छ। पाँच लाख ऋण लिँदा सात लाख ब्याजसहित १२ लाखको हिसाब गरेर साहुकारले न चेक दिन मान्छ, न सुन। उल्टै हातखुट्टा भाँचिदिने र चेक बाउन्स गर्ने धम्की दिइरहेको छ। उसले अब ती भाइबाट कति पैसा असुल्ने हो, भगवान् जाने! साहुकारले प्रहरीको एसपी चिनेको भन्दै उसैको आडमा पैसा उठाउने गर्दै आएको छ।
यी त प्रतिनिधि घटना मात्र हुन्। देशैभर मिटरब्याजको पासोमा परेका धेरै पीडित छन्। साहुकारले सुरुमा फकाईफकाई पैसा दिन्छन्, खाली चेक लिन्छन् र पछि तर्साउँदै, धम्की दिँदै असुलिरहन्छन्। यसका लागि उनीहरूले सानातिना गुन्डा खटाउँछन्। कतिपयले त ऋणी खोज्ने मान्छे नै राख्ने रहेछन्। उनीहरूमार्फत मान्छे खोज्ने र लगानी गर्ने काम भइरहेको छ। गुन्डाहरूले साहुसँग सस्तो ब्याजमा ऋण लिएर महँगो ब्याजमा लगाउने समेत गर्दा रहेछन्।
मिटरब्याजकै कारण ऋण तिर्न नसकेर आत्महत्या गर्नेहरू पनि छन्। यस्तै, यही कारोबारका कारण धेरै जनाले घरबार गुमाएका छन्। कसैले जेलनेल भोगेका छन्। यति हुँदाहुँदै यस्ता गतिविधि रोक्न राज्यको पहलकदमी देखिएको छैन। न्यायालय पीडितको कुरा सुन्न तयार छैन। न्यायालयले केवल हेर्छ– चेक र चेकमा उल्लेख भएको रकम। वास्तविक कारोबार हो या होइन भन्ने कुरा हेर्दैन। न्यायालयले वास्तविक कुरा हेर्ने हो भने पीडितले पनि न्याय पाउने थिए कि?
मिटरब्याजको कारोबार धमाधम भइरहेको छ। यसको जालो गाउँ गाउँसम्म फैलिएको छ। यस्ता गतिविधिप्रति सरकार बेखबरझैँ बसेको छ। यस्ता गतिविधि रोक्न आवश्यक कानुन बनाउनेतर्फ सरकारले ध्यान देओस्।
– रसाली सामाजिक अभियन्ता र अध्येता हुन्।