नियात्रा
सर्जकलाई सम्पदाका रूपमा संरक्षण गर्ने गाउँ
१६ वैशाख २०८३। मौसम विज्ञान विभागले प्रतिकूल मौसमको सम्भावना औँल्याएर लामो यात्रामा ननिस्किन सजग गराइरहेको थियो। हामी त्यसलाई बेवास्ता गर्दै मुक्तिनाथको धार्मिक यात्रामा निस्कियौँ। मानसिक रूपमा पूर्वतयारी र छोरा सार्थकले अफिसबाट बिदा लिएको समय भएकाले यात्रा रद्द गरिएन।
घरबाट निस्किँदा काठमाडौँको घाम हेर्दै मनमनै भनेँ– मौसम विज्ञान विभागको अनुमान न हो, ठोकुवा त होइन।
तर, मौसम विज्ञान विभागको अनुमान फेल खाएन। हामी मुग्लिनस्थित नारायणी नदीको पुल तरेर पश्चिमतर्फ बढ्दै गर्दा मौसम धुम्मिन थाल्यो।
सुरुमा सिमसिम परे पनि पछि पानी दर्किन थाल्यो। हामी मोटरमा थियौँ त्यसैले पानी दर्किए पनि टेरेका थिएनौँ। जब सडकमा हामीभन्दा अघिपछि कुदिरहेका मोटरहरू छेउ लाग्न थाले; हामी पनि एउटा रेस्टुराँको पार्किङ एरियामा गाडी रोकेर ओत लाग्यौँ।
मुसलधारे पानी। बाहिर साँझ परे जस्तै अँध्यारो छ। भित्र अँध्यारो अझ घनीभूत छ। विद्युत् अवरुद्ध छ, बत्ती बल्दैन। दिउँसै रात पर्यो।
बत्ती गएपछि रेस्टुराँको खाजाका परिकारहरू ग्राहकका टेबलसम्म आइपुग्न ढिला भयो। हामीले झन्डै दुई घन्टा रेस्टुराँमा बितायौँ।
हामी म्याग्दी जिल्लाको बेनी बजारमा बास बस्ने सोचेर हिँडेका थियौँ; अब पर्वतको कुस्मामै बस्नुपर्ला भन्ने सोच्न थाल्यौँ।
कुस्मामा सुविधायुक्त लज खोज्न र बुकिङ गर्न हामीलाई श्रीकृष्णको सहयोग आवश्यक भयो; उनको घर यतै हो। उनैले सुझाएका हुन्– डेकोभेरा होटल एन्ड लज।
लज बुकिङ गरेपछि हाम्रो हतारो कम भयो।
मोटर पोखराबाट उँभो लागेको केही समयपछि सडकका दायाँबायाँ देखिन थाले– ऐँसेलु बेच्न उभिएका गृहिणी र केटाकेटी। ऐँसेलुको झ्याङ पनि देखियो; झ्याङमा पाकेर पहेँलै भएको ऐँसेलु पनि देखियो।
पानी परेपछि ऐँसेलुको बैँस आउनु स्वाभाविक थियो।
ऐँसेलु झ्याङमा आफैँ टिपेर खाने कि सडकपेटीमा उभिएका केटाकेटीसँग सालको पातको सोली, कागजको कफीकप र प्लास्टिकको गिलासमा किनेर खाने, विकल्पमाथि विचार-विमर्श गर्दै हामी मोटरमा दौडिइरह्यौँ।

कविता-पार्कमा जाने निर्माणाधीन बाटो।
अब ऐँसेलु होइन; ऐँसेलुलाई जितेर चिया खाने सन्दर्भ पो उठ्यो! ड्राइभरको भूमिकामा थियो- सार्थक। मुग्लिनपारिको सानदार सडकमा मोटरको गति केही तीव्र बन्नु अस्वाभाविक थिएन। यो क्रम सडकको अवस्थासँगै पोखरा कटेपछि पनि कायमै थियो। चियाको सन्दर्भ उठेपछि भने मोटरको गति केही धिमा भयो।
लगभग ५ बजे हामी लुम्ले पुग्यौँ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा ६ र ७ मा पर्ने सुन्दर लुम्ले गाउँ।
लुम्लेमा सडकको उत्तरतर्फ देखियो– ‘कविता-पार्क’ को साइनबोर्ड र अर्धकदको सालिकले मलाई आकर्षित गरिहाल्यो।
सडकछेउको एउटा चिया पसलअगाडि मोटर रोकिएपछि म कविता-पार्कतिर दौडिहालेँ।
शृंगारिक धारका चर्चित गजलकार प्रकट पगेंनी शिवको जीवनको एक लामो खण्ड लुम्लेमै बितेको थियो।
धेरै वर्षअघि उनीसँग मेरो भेट बसभित्र भएको थियो। म त्रिवि शिक्षण अस्पतालबाट बसमा घर फर्किंदै थिएँ; यसैमा रहेछन्– शिव पनि। उपचारका क्रममा अस्पताल आएको भन्थे। उनको बसोबास इमाडोलको खन्ना गार्मेन्टमा रहेछ।
लुम्लेको कविता-पार्क निर्माणाधीन अवस्थामै रहेछ। पार्कमा आवागमनका लागि सिँढी निर्माणको काम बाँकी नै थियो। सालिकलाई चारैतिरबाट पर्खालले घेरेर गेटमा ताल्चा लगाइएको थियो। सालिकमुनि प्रशस्तै अक्षर देखिन्थे। गेटमा ताल्चा लागेकाले सालिकको फोटो मात्र लिन पाइयो।
तैपनि पार्क र त्यहाँ बनाइएको सालिकसम्बन्धी जिज्ञासा बाँकी थिए।
पार्कमा ठड्याइएको अर्धकदको प्रतिमा कसको हो भन्ने जिज्ञासा होटल सञ्चालक भाइसँग सोधखोज गरेपछि मेटियो। त्यो कवि तथा गीतकार विनोद गौचनको सालिक रहेछ।
पोखराको शिवालय मार्गमा घर भएका विनोद गौचनले लुम्लेमा आफ्नो सिर्जना यात्राको लामो कालखण्ड बिताएका थिए। उनले २३ वर्षको उमेरमै रचेका रे– ‘जति माया लाए पनि…’ गीत। गौचनले १५ चैत २०६५ मा नै लुम्लेलाई ‘कविता गाउँ’ भनेका थिए रे। २०७० सालमा ५८ वर्षको उमेरमा गौचनको निधन भयो।
होटलवाला भाइले भने, “हामीले त विनोद गौचनको खासै संगत गर्न पाइएन। उहाँकै उत्प्रेरणामा गाउँपालिकासहित स्वदेश तथा विदेशमा रहेका साहित्यप्रेमीहरूको सहयोगमा ‘कविता-पार्क’ निर्माण भएको हो।”
परीक्षा हलमा उत्तर लेख्दालेख्दै केही लेख्नैपर्ने कुरा सम्झेर विद्यार्थीले उत्तरपुस्तिकामा योजक चिह्रन दिएर थपे जस्तै गरी चियाको कप टेबुलमा राख्दै होटलवालाले थपे, ‘कविता-पार्क रहेको क्षेत्र कास्कीको अन्नपूर्ण ६ मा पर्दछ। पार्कका लागि अन्नपूर्ण- ४ का चिनबहादुर खत्रीले जग्गादान गरेका हुन्।’
रेडियो नेपालमा गीत बजाउनुभन्दा पहिले गीतकार, संगीतकार र गायक कलाकारको नाम उच्चारण हुन्थ्यो। संगीतका पारखी श्रोताहरू गीत सुन्नेबित्तिकै रचनाकार, संगीतकार र गायकको नाम फ्याट्टै भनिहाल्थे।

लुम्लेमा सहयात्रीका साथमा यात्रा संस्मरणका लेखक।
विनोद गौचन मेरा लागि सुपरिचित गीतकार हुन्। ‘जति माया लाए पनि, जति कसम खाए पनि’ बोलको उनको रचना रेडियोमा अरुण थापाको सुमधुर स्वरमा एक समय खुब घन्किन्थ्यो। एक कालखण्डमा मैले गुनगुनाउने सीमित गीतहरूमा यो पनि थियो।
पछिल्लो समयमा यिनको ‘कस्तो ठाउँमा फुल्यौ तिमी टिप्नै गाह्रो भो’, ‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले’, ‘चोली फाटे पनि तिम्रो जोवन फाट्या छैन’ आदि गीत पनि चर्चित भए।
लुम्ले नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँका रूपमा चर्चित छँदै थियो; अब ‘कविताले जितेको गाउँ’ का रूपमा पनि देखा पर्यो।
ओशो भन्छन्– ‘तिमी कवि-कलाकारका कृति हेर। त्यसैमा रमाऊ। कवि-कलाकारलाई भेट्न नजाऊ। ती कलाका उपासक हुन्। तिनको व्यक्तिगत जीवन लठिभद्र हुन्छ। कवि-कलाकारलाई भेटेपछि तीप्रतिको तिम्रो सम्मान खण्डित हुन सक्छ। कलाको उपासना गर्दागर्दै तिनीहरूले जीवन सञ्चालनको स्वाभाविक गति बिर्सिसकेका हुन्छन्। स्वाभाविक गति भुलेपछि अझल्टिनु स्वाभाविक हुन्छ: ती घाइते अवस्थामा भेटिन सक्छन्; मैलोधैलो अवस्थामा साक्षात्कार हुन सक्छन्। तिमीलाई नमीठो लाग्न सक्छ।’
म भर्खरै एक राम्रा गीतकारको प्रतिमा हेरेर फर्केको छु। कवि-कलाकारलाई सम्पदाका रूपमा सोच्ने र तिनको स्मरणमा ‘कविता-पार्क’ निर्माण गर्ने स्थानीय निकायको यस्तो पहलकदमी देखेर खुसीले गद्गद भएको छु।
तर, कवि कलाकारको निधनपछि भन्दा जीवनकालमै तिनीहरूलाई समाजमा जीवित सांस्कृतिक सम्पदाका रूपमा स्वीकार गर्ने परिपाटी विकास भए अझ कति राम्रो हुँदो हो!