समाज
भोजपुरको मैयुङ क्षेत्रमा शेर्पाबाट अन्य जातिमा सर्दै गएको चौँरीपालनमा लागेका किसानलाई प्रोत्साहन र सहयोगको खाँचो छ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ पाङखाङका नामछोङ राई (३०)ले सात वर्षअघि आफ्नो जिन्दगी कठिन मोडमा रहेको महसुस गरे। सँगैका साथी कोही विदेश, कोही सहर पसिसकेका थिए। कोही त तीनचार वर्ष विदेशमा कमाएर फर्किसकेका थिए। कोही भने पैसा कमाउन वल्लोपल्लो गाउँतिर लकडी बोक्ने, सडक र अन्य पूर्वाधार निर्माणमा काम गर्न जानेआउने गरिरहन्थे।
नामछोङलाई ती कुनै कुरामा रुचि थिएन। आफूले के गर्ने भन्ने मेसो पनि पाइरहेका थिएनन्। घर, गोठ, खेतबारी गर्दागर्दै उनको मनमा फ्याट्टै आयो– चौँरी पालूँ कि क्या हो! उनका कुल, वंश, छिमेक, आफन्त कसैले पनि चौँरी पालेका थिएनन्।
उनले आफ्नो विचार घरमा सुनाए। घरमा सल्लाह भयो। स्वीकृति भयो। तर, पैसा थिएन। घरबाट अलिकता र अलि धेरै आफन्तहरूबाट ऋण काढेर मैयुङको मात्तिममा गोठ बनाए। सोलुखुम्बको गदेलु पुगेर १४ वटा चौँरी किनेर ल्याए।

चौँरी दुहुँदै प्रमिला राई।
चौँरीपालनको अनुभव थिएन। चौँरीलाई बोलाउने भाषादेखि तिनीहरूलाई गर्ने व्यवहारसम्म सबै सिक्दै, बुझ्दै गए। चौँरी खरिद, गोठ निर्माण र गोठमा आवश्यक सामग्रीको व्यवस्थापनमा १६ लाख रुपैयाँ जति लगानी गरे। अहिले लगानी उठाएर ऋणमुक्त भइसके। हाल उनीसँग हाल १९ वटा चौँरी छन्। उनीबाटै प्रेरित भएर छिमेकी अविलास राईले पनि चौँरीपालनमा हात हाले। गोठमा पनि छिमेकी भए।
भोजपुरकै षडानन्द नगरपालिका दिङ्ला केराबारीका गोविन्द विष्टले पनि चौँरी पालेको सात वर्ष भयो। मैयुङकै जोगीमारामा उनको गोठ छ। १०/१५ वर्षअघि उनका दाजु श्यामले उनको कुल-वंशमै पहिलो पटक चौँरी पालेका थिए। अहिले उनले बेचिसके। गोविन्दसँग भने २२ माउ चौँरी छन्।
मानव सभ्यताको विकाससँगै खास खास जाति वा समुदायको भनेर स्थापित कुनै पनि परम्परागत पेसा-व्यवसाय अन्य जाति वा समुदायमा सर्दै गएको छ। यही क्रममा चौँरीपालन पनि शेर्पाहरूबाट गैरशेर्पा समुदायतिर सर्दै गएको छ।
यी तीनै युवाका कुनै पनि पुर्खाले चौँरी पालेका थिएनन्। तिनका पुर्खाका पनि मैयुङ आसपासकै खर्कहरूमा गोठ थिए, तर चौँरी होइन गाईभैँसीका। त्यस भेगमा उहिल्यैदेखि चौँरी पालिन्थ्यो। तर, चौँरी भनेपछि शेर्पासँग जोडेर हेरिन्थ्यो। किनकि, जति पनि चौँरी थिए, सबै शेर्पाका हुन्थे। अरू समुदायका मान्छेहरू गाई, भैँसी र केही संख्यामा भेडाबाख्रा पाल्थे। भेडाको ठूलो बगाल पाल्ने गुरुङहरू हुन्थे।
मानव सभ्यताको विकाससँगै खास खास जाति वा समुदायको भनेर स्थापित कुनै पनि परम्परागत पेसा-व्यवसायहरू अन्य जाति वा समुदायमा सर्दै गएको छ। यही क्रममा चौँरीपालन पनि शेर्पाहरूबाट गैरशेर्पा समुदायतिर सर्दै गएको छ। मैयुङमा अहिले ११ वटा चौँरीगोठ छन्। जसमा चार गोठ मात्रै शेर्पाका छन्। ६ वटा गोठ राईका छन् भने एउटा क्षेत्रीको। यस्तै, साल्पा क्षेत्रका सात गोठमध्ये ६ वटा शेर्पाको र एउटा तामाङको छ।
डेढ दशकअघिसम्म भने यहाँका सबै चौँरीगोठ शेर्पाका थिए। अहिले चौँरी पाल्ने शेर्पाहरू घट्दै गएका छन् भने राई, क्षेत्री र तामाङहरू बढ्दै गएका छन्। मैयुङमा सबैभन्दा ठूलो चौँरीगोठ फोङ्लाका विमल राईको छ। उनको गोठमा ५० माउ चौँरी छन्।
चौँरीपालनबाट शेर्पाहरू किन हट्दै गए त? यस प्रश्नमा नयाँ चौँरीपालकहरू भन्छन्, ‘उनीहरूले कमाइहाले। काठमाडौँ, भोजपुर, खाँदबारीमा घर बनाएर उतै गइहाले। चौँरीबाट हुने कमाइबारे अरूले ढिलो बुझे।’
समस्या अनेक
चौँरीपालनभित्र विभिन्न समस्या र कठिनाइ छन्। चौँरीहरू फागुनदेखि जेठसम्ममा सबैजसो बियाइसक्छन्। बर्खामा सबै दुहुना हुन्छन् र हिउँदमा थाक्छन्। चौँरीहरू प्राय: एकहाते भइहाल्ने हुनाले दुहुने मान्छे बिरामी वा कुनै कारणवश दुहुन नसक्ने भयो भने खेर गइहाल्छ।
पोहोर साल नाम्छोङकी श्रीमती प्रमिला बिरामी भएर उपचारका लागि धरान जानुपरेपछि सात माउ चौँरी अरूले दुहुन नसकेर बिग्रिए। जाडो बढेपछि तलतिर सार्नुपर्छ गोठ। वर्षमा तीन ठाउँ अनिवार्य सार्नुपर्छ। तीन ठाउँ भनेको ओहोरदोहोर गर्दा पाँच पटक गोठ सार्नुपर्छ। आगो चलाउने चिम्टादेखि मान्छेभन्दा ठूला तोलोङ, ओढ्ने-ओछ्याउने, खानेकुरा सबै सामान थाप्लाकै भरमा सार्नुपर्ने हुन्छ।
दूधका लागि पालिने चौँरीहरू हिमाली याक र औलाली (स्थानीय) गाईका खच्चड हुन्। चौँरीहरू भने स्थानीय बहरबाट बाली लाग्छन्। चौँरी र स्थानीय बहरबाट जन्मिएकालाई पामु भनिन्छ। पामुहरू बाली लाग्न कठिन हुने, प्राय: थारा रहन्छन्। ब्याडे याक बढी आक्रामक हुने भएकाले पाल्न कठिन हुन्छ। त्यसैले चौँरी उत्पादन गर्न कठिन छ। विगतमा हिमालतिरैबाट याकहरू ल्याएर स्थानीय गाईसँग मिसाएर मैयुङमै चौँरी उत्पादन गर्ने प्रयासहरू पनि भएका थिए। तर, सफल नभएकाले अहिलेसम्मै नयाँ चौँरीहरू सोलखुम्बुबाट ल्याउने गरिएको छ।
चौँरीपालन जस्तो परम्परागत तथा कठिन पेसामा समुदायन्तरणले युवा पलायनको बाढीलाई केही हदसम्म रोक्न सक्छ। तर, संरक्षणका नाममा स्थापित समूह र संस्थाहरूले चौँरीपालक किसानलाई प्रोत्साहन नगर्दा यसको व्यावसायिकतामा अवरोध कायमै छ।
चौँरीहरू बिरामी भएमा उपचार र बिमा छैन। गोठालालाई बिरामी हुने छुट हुँदैन। चाडबाड, रमाइलो त्यही चौँरी, त्यही गोठ। एक दशकदेखि चरन क्षेत्रमा चितुवाको बिगबिगी ह्वात्तै बढेको छ। चौँरीसँगै घोडा पनि राखिएका हुन्छन्। अरू पशुलाई भन्दा घोडालाई चितुवाले बढी निसाना बनाउने गरेको छ। गत वर्ष मैयुङ क्षेत्रमा मात्रै चितुवाले ३० वटा घोडा खाएको चौँरी गोठालाहरूले बताए।
सामुदायिक वनहरूको व्यवहार चौँरीपालक किसानका लागि प्रोत्साहनमुखी छैन, बरु असुली गर्ने प्रवृत्ति छ। मैयुङदेखि साल्पासम्ममा भोजपुर, खोटाङ र सोलुखम्बुमा दर्ता भएका दुई दर्जनजति सामुदायिक वन रहेको बताइन्छ। एउटा वनक्षेत्रको चौँरी अर्को वनक्षेत्रमा पुगिहाल्छ। त्यसैले एउटा चौँरीगोठले पाँच वटासम्म सामुदायिक वनलाई पैसा बुझाउनुपर्ने भोजपुर दिङ्लाका गोविन्द विष्ट बताउँछन्। यसरी चौँरीको संख्याअनुसार एक गोठले एक सिजनमा १० हजारदेखि ३० हजार रुपैयाँसम्म कर तिर्नुपर्ने हुन्छ। गाईभैँसी वा चौँरीसँगै पालिने एकदुई भेडा वा बाख्राको कर विगतमा तिर्नुनपरेकामा अब यिनको पनि गोटागन्ती कर उठाउने कुरा चलिरहेको चौँरीगोठालाहरू बताउँछन्।
वर्षमा तीन ठाउँसम्म गोठ सार्दा ठाउँ ठाउँमा त्यस्तो कर तिरिरहनुपर्छ। हिउँदमा सबैतिर घाँस हुँदैन। दुहुना पनि हुँदैन। चौँरीहरू घाँस खोज्दै टाढा पुग्छन्। कर नतिरेको तथा अनुमति नलिएको वनतिर पुगेमा गोटागन्ती ५०० देखि हजार रुपैयाँसम्मको दरमा जरिवाना तिर्नुपर्छ। सामुदायिक वनहरूको काम अनेक शीर्षकमा गोठालाहरूबाट पैसा लिने मात्रै हो, गर्ने केही हैन।
गोठबासले अवसर
मैयुङदेखि साल्पासम्मको पहाडी खर्क शृंखला मुन्दुम पदमार्गको मुख्य क्षेत्रमा पर्छ। २०७५ सालमा सरकारले देशभरिका विभिन्न स्थानको पर्यटन प्रवर्द्धन गर्न सार्वजनिक गरेको १०० गन्तव्यको सूचीमा मुन्दुम पदमार्ग परेपछि मैयुङ क्षेत्रमा पर्यटकीय चहलपहल बढ्यो। लामो दूरीका पदयात्रीहरू आइरहेका हुन्छन्। गुराँस फुलेको बेला तथा नयाँ वर्षको आसपास खर्कभरि भिड लाग्छ। यसले त्यस भेगका गोठालालाई फाइदा भएको छ।
केही संघसंस्था र स्थानीय सरकारले कहिले गोठको छाना फेर्न केही जस्तापाता त कहिले छुर्पी थिच्ने सानो साँचो जस्ता सानातिना पटके सहयोगबाहेक चौँरीपालक किसानले सहयोग पाएका छैनन्।
प्राकृतिक हिसाबले सुन्दर भएकाले यस क्षेत्रमा धेरै मानिस घुम्न आउने भए। गाउँबाट धेरै टाढा अनकन्टार भएकाले घुम्न आउने र पदयात्रीहरूलाई खान-बस्नको समस्या हुने भयो। ‘पर्यटन गोठबास’ को अवधारणा र विकासले परम्परागत गोठहरूलाई पर्यटनमैत्री बनाउन थालियो। यसले पर्यटक र गोठाला दुवैलाई फाइदा भएको छ। पर्यटकले गाँस र बास पाएका छन्। अहिले यस भेगका हरेक गोठ पर्यटनमैत्री बनाउने प्रयास भएका छन्। जसमा कोठाहरू बनाएर न्यानो ओछ्यान, फराकिलो भान्साघर, शौचालय बनाइएका छन्। ढुंगाखर्केका चौँरीपालक तथा गोठबास सञ्चालक दुर्गाधन राई आफ्नो गोठमा ३०० जनासम्म बास बसाउन सक्ने बताउँछन्।
गोठमा पर्यटकको आगमन बढेपछि छुर्पी र घिउ ठेकेदारलाई सस्तोमा दिनुपरेको छैन। ठेकेदारहरू किलोको ६००/७०० रुपैयाँमा छुर्पी र घिउ लैजान खोज्छन्। अहिले घुम्न आउनेहरूलाई त्यसको झन्डै दोब्बर दाममा गोठबाटै बिक्री हुन्छ।
तर, चौँरीपालनलाई राज्यबाट सहयोग छैन। केही संघसंस्था र स्थानीय सरकारले कहिले गोठको छाना फेर्न केही जस्तापाता त कहिले छुर्पी थिच्ने सानो साँचो जस्ता सानातिना पटके सहयोगबाहेक चौँरीपालक किसानले सहयोग पाएका छैनन्।
चौँरीपालन जस्तो परम्परागत तथा कठिन पेसामा समुदायन्तरणले युवा पलायनको बाढीलाई केही हदसम्म रोक्न सक्छ। तर, संरक्षणका नाममा स्थापित समूह र संस्थाहरूले चौँरीपालक किसानलाई प्रोत्साहन नगर्दा यसको व्यावसायिकतामा अवरोध कायमै छ।