काठमाडौँ। नेपालकी पलेशा गोवर्धनले ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा कास्य पदक जितेकी छन्।
मंगोलियाको उलानबटारमा भएको प्रतियोगिताको के-४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले सोमबार कास्य जितेकी हुन्। पहिलो चरणमा बाइ पाउँदै पलेशा सोझै सेमिफाइनलमा प्रवेश गरेकी थिइन्। सेमिफाइनलमा पलेशा इरानकी जहरा रहिमीसँग पराजित भएपछि काँस्यमा सीमित भएको टोली प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन्।
के-४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङ पहिलो चरणमै पराजित भए। दुवै इरानी खेलाडीसँग चुके।
अब अमिर र रेणु उलानबटारमै मंगलबारदेखि हुने आईची-नागोया एसियाली पारा तेक्वान्दोको छनोट प्रतियोगितामा सहभागी हुनेछन्। विजेता र उपविजेता एसियाली पारा तेक्वान्दोका लागि छनोट हुनेछन्।
पलेशा भने छनोट प्रतियोगतामा सहभागी हुने छैनन्। पलेशा विश्व र्याङकिङका आधारमा एसियाली पारा तेक्वान्दोका लागि छानेट भइसकेकी छन्।