काठमाडौँ। लामो दूरीको धाविका ओलम्पियन सन्तोषी श्रेष्ठले मध्यम दूरीमा पनि राष्ट्रिय कीर्तिमान बनाउँदै इतिहास रचेकी छन्। १५ सय मिटरमा राष्ट्रिय कीर्तिमान बनाउँदै उनी एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउने कीर्तिमानी धाविका बनेकी छिन्।
गोल्डेन गर्लको उपमा पाएकी सन्तोषीले भारतको झारखण्डमा आयोजित नेसनल सिनियर एथलेटिक्स फेडेरेसन कम्पिटिसन २०२६ मा शनिबार नयाँ कीर्तिमान कायम गरेकी हुन्। सामान्यत: लामो दूरी र मध्यम दूरीमा एकै सिजनमा कीर्तिमान राख्नु एथलेटिक्समा दुर्लभ मानिन्छ।
उनले १५ सय मिटर दूरी ४:२७:३५ मिनेटमा पार गर्दै सरस्वती भट्टराईले रियो दी जनेरियो ब्राजिलमा २०१६ मा राखेको ४:३३:९४ मिनेटको कीर्तिमान ०६:५९ सेकेन्डले भंग गरेकी हुन्।
सन्तोषी एथलेटिक्स फेडेरेसन अफ इन्डियाको निमन्त्रणा र नेपाल एथलेटिक्स संघको सिफारिसमा प्रतियोगितामा सहभागी भएकी हुन्। खेलमा सन्तोषी छैटौँ भएकी थिइन्। १५०० मिटर महिला फाइनल प्रतियोगिता झारखण्डको राँचीस्थित बिर्स मुण्ड स्टडियममा शनिबार राति ८:०५ बजे भएको हो।
यसअघि उनले २०८२ चैतको अन्त्यमा ३००० मिटरमा पोखरा खुला एथलेटिक्स मिटमा ३५ वर्षअघिको राष्ट्रिय कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
त्यस्तै गत मंसिरमा स्पेनको भ्यालेन्सिया म्याराथनमा सन्तोषीले २ मिनेट २७ सेकेन्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। उनले २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन (४२.२ किमि पूरा गर्दै २०८२ कै वैशाखमा लन्डन म्याराथन (२:४२:५०) मा बनाएको राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी थिइन्।
त्यस्तै गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। साथै २०८० कै कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
सन् २०१९ मा १३औँ सागमा नेपालका लागि ऐतिहासिक रुपमा एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीका रूपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन्।