व्यक्ति
समाजले विभेदको भाषा बोल्यो, विभेदकै व्यवहार गर्यो। त्यही विभेदलाई उनले नाटक बनाए।
उनका केही साथी दौडिएर मन्दिरभित्रै, भगवान्कै छेउमा पुग्थे। गोविन्द केही नसोची गेट बाहिरै अडिन्थे र प्रसाद माग्थे, ‘पूजारी बा, प्रसाद पाऊँ।’
कहिलेकाहीँ साँच्चिकै प्रसाद पाउँथे, कहिले चिम्टा लिएर कोही लखेट्न आएपछि भाग्नुपर्थ्यो। त्यतिबेला उनले आफू किन मन्दिरको गेटमा अड्किनुपर्यो? सँगै खेल्ने साथी कसरी भित्रै जान पाए भन्ने कुरा बुझ्दैनथे। तर, एकदिन घरमा आएर त्यो मन्दिरको मूर्ति आफ्नै बाजेले बनाएको भन्ने कथा सुनेपछि उनलाई अचम्म लाग्यो।
गोविन्द हुर्के, बढे। जिन्दगीले डोर्याउँदै कला क्षेत्रमा ल्यायो, काठमाडौँ ल्यायो। तर, बाजेले बनाएको मूर्ति भित्र, आफू मन्दिरको गेटबाहिर भएको दृश्यले उनलाई लामो समय पछ्याइरह्यो।

निर्देशक गोविन्द सुनार।
अन्ततः त्यही दृश्यले उनलाई अछेता नाटक लेख्न बाध्य बनायो। उनले लेखेको त्यही नाटक अहिले काठमाडौं बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको छ।
रंगमञ्चमा १२ वर्षदेखि सक्रिय गोविन्दले मेटासिड, गर्भछिटा, लाटीको छोरा, हिउँभन्दा चिसोलागयत नाटकमा अभिनय गरेका छन् भने अछेता उनको दोस्रो निर्देशन हो। यसअघि उनले पम्फाफूल निर्देशन गरेका थिए। प्रकाश, माेदीबेनी, लालीबजारजस्ता सिनेमामा समेत अभिनय गरेका छन्।
अछेता कर्णालीको व्यथा बोल्ने यथार्थपरक नाटक हो। यसमा समयमा उपचार गराउन नसक्दा दुई वटा बच्चा खेर गएको एक दम्पतीको दृष्टिबिन्दुबाट कथा भनिएको छ। त्यही कथाभित्र जातीय तथा वर्गीय विभेदका मुद्दा मिसिएर आउँछन्। नाटकले सरकारी स्वास्थ्य निकाय, स्थानीय नेता तथा सर्वसाधारणको मानसिकताको यथार्थ चित्रणसमेत गर्छ।
निर्देशन र कास्टिङ
कथामा कस्तो संसार बनाउने भन्ने कुरामा लेखक स्वतन्त्र हुन्छ। त्यही संसार बाहिर कसरी देखाउने भन्ने जिम्मा निर्देशकले लिन्छ। लेखक र निर्देशक दुवै आफैँ बन्दा चुनौती त थपिन्छ नै। अछेतामा गोविन्दले आफ्नो काँधमा यही चुनौती बोकेका छन्।
आफ्नै लेखन हुँदा भिजुअली धेरै कुरा सोच्ने तर निर्देशकका रूपमा त्यसलाई पर्दामा देखाउने चुनौती पनि स्वयंकै हुन्छ। आफूले देखेभोगेको कथा भएकाले सबै दृश्यको उत्ति नै माया लाग्ने उनको अनुभव छ।
यस नाटकको कथा उनले सुरुमा सर्ट फिल्मका लागि लेखेका थिए। त्यसलाई नाटकमा ढाल्दा थपिएको चुनौतीबारे भन्छन्, “माथि चन्द्रमा उदाइरहेको, तल गीत गाइरहेको दृश्य त लेखियो, अब त्यो कसरी देखाउने भन्ने च्यालेन्ज हुन्छ।”
अछेतामा कथा, भाषा मात्र होइन, कलाकार पनि सबै कर्णालीकै छन्। झकेन बीसी, सुस्मिता कुँवर, धनराज सुनार, शुभास खत्री, जुनमाया परियार,अप्सरा केसी, केशव रोकाया, दिपेश खत्री लगायत कलाकारको अभिनय रहेको अछेतामा आठ जनाले पहिलो पटक नाटक गरिरहेका छन्। “त्यही समुदायको, त्यही जिन्दगी बाँचिरहेको कलाकार खोजिरहेको थिएँ। जसले सबै कुरा फिल गर्न सकोस्, एक्टिङ गरे जस्तो नलागोस्। त्यसैले धेरै चाहिँ गाउँठाउँमै देखिरहेका साथीहरूलाई लिएर आएँ,” गोविन्द भन्छन्, “वडाध्यक्षको क्यारेक्टर गर्ने साथी जेन-जी आन्दोलनको कर्णाली प्रदेशको संयोजक हो। धामी बन्ने भाइ जुम्लाकै हो। धामी झाँक्री गरिरहेकै परिवारबाट हो।”

अछेता नाटकको एक दृश्य।
अनुभवी कलाकारहरूलाई समेत नाटकले आकार लिनुअघिसम्म निर्देशकले गर्न खोजेको के हो भन्ने अन्योल हुन सक्छ। नयाँहरूलाई थिएटर प्रोसेससँग परिचित हुन समय लाग्छ नै। एक महिनासम्म रिहर्सल मात्रै गरिरहँदा अछेताका कलाकारहरू पनि अलमलिएको, आत्तिएको गोविन्द बताउँछन्। उनी भन्छन्, “कति जनालाई त हामी टाइम वेस्ट मात्र गरिरहेछौँ कि भन्ने पनि लाग्यो।”
मनमुटाव नै हुने स्थिति आयो। कान्तिपुर थिएटरमा सो गरिसकेपछि बल्ल उनीहरू शान्त र खुसी पनि भए। पहिलो सोपछि गोविन्द भने दर्शकको प्रतिक्रिया कस्तो आउला भनेर डराइरहेका थिए।
“दर्शक भेट्न जाऊँ नि नजाऊँ जस्तो लागिरा’थ्यो। टिमका दाइहरूले राम्रो भयो भन्नुभयो, दर्शकहरूले पनि मन पराइदिनुभयो,” उनी सुनाउँछन्।
कला घर
झन्डै एक दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय गोविन्दलाई यो क्षेत्र कुनै नशाभन्दा कम लाग्दैन। त्यही नशामा डुबेर हेर्दा उनले रंगमञ्चलाई एकल नभई सामूहिक कर्म गर्ने थलोका रूपमा देखे। नाटकमै बाँच्न र काठमाडौँमा टिक्न उनले कला घर खोले।
कला घरमा स्टुडियो छ जहाँ रेकर्डिङ, मिक्सिङ, मास्टरिङ सबै हुन्छ। वर्कसप हल छ, फिल्मको नाटकको वर्कसप, रिहर्सल हुन्छ। गोविन्द त्यहीँ खाने, त्यहीँ बस्ने गर्छन्। यसरी सधैँ आफ्नो मन लाग्ने कलाका विभिन्न पाटामा जोडिन पाइने उनी बताउँछन्।
गोविन्दको दैनिकी कला घरबाटै सुरु हुन्छ। उनी भन्छन्, “बिहान उठ्ने, क्याफेको सरसफाइ गर्ने। नाटकका चार जना कलाकार कला घरमै खाने बस्ने गरिरहेका छौँ। चिया-खाना बनाउने/खानेदेखि नाटकको प्रमोसन कसरी गर्ने भन्ने सल्लाह पनि यहीँ हुन्छ।”

निर्देशक गोविन्द सुनार।
शंखमूलस्थित कलाघर उनको शब्दमा ‘आर्टिस्टिक हब’ हो। उनी भन्छन्, “कसैलाई आएर पढ्न-लेख्न, रंगमञ्च वा अन्य सिर्जनात्मक काम गर्ने ठाउँ होस् भनेर सुरु गरिएको हो। अहिले भाडा तिर्ने पैसा चिया बेचेर आइरहेको छ। अछेता नाटक पनि कला घरले गर्दा नै सम्भव भएको हो।”
संगीत नाट्य एकेडेमीले आयोजना गरेको त्रिदेशीय नाट्य महोत्सवमा अछेता मञ्चन हुने भयो। त्यतिबेलासम्म गोविन्द आर्थिक हिसाबले तयार थिएनन्। अलिकति एकेडेमीले दिएको र अलिकति साथीसँग सापटी लिँदा पनि कुल लागतको आधा पनि हुँदैन।
“घुमिफिरी जताबाट पनि पैसाकै कुरा आउँदो रहेछ। सेटको काम गर्दा पनि हामीसँग पैसा थिएन, कान्तिपुरमा मञ्चन गर्दा सेतो धर्ती नाटकको सेटलाई यताउता गरेर कर्णालीको सेटिङ बनाइयो,” गोविन्द सम्झिन्छन्, “शिल्पीमा हामीभन्दा अघि मञ्चन भएको सिकल सेल नाटककै सेटलाई प्रयोग गरियो। हल भाडामा पनि अलिकति सहुलियत पाइयो।”
काठमाडौँमा कला घर बनाउनुअघि गोविन्दले जुम्लामै अन्नी घर बनाएका थिए। जसको परिकल्पना कला घर जस्तै क्याफेसहितको कलाको संगम बनाउने थियो। तर, ठाउँको अभावका कारण जुम्लामा त्यो सम्भव हुन सकेन। उनी काठमाडौँ आए।
“जति जे गरे पनि जन्मभूमि भनेको जन्मभूमि नै हुँदो रहेछ,” उनी भन्छन्, “आफूलाई स्थापित गरेर, आफूलाई पत्याउने खालको वातावरण बनाएर बुढेसकालमै भए पनि उतै जाने हो।”
मुद्दा र प्रतिक्रिया
अछेता नाटक हेरिसकेपछि गोविन्दले केही मान्छे यस्ता पनि भेटे जसले नाटकमा देखाइए जस्तो जातीय, वर्गीय विभेद पहिले हुन्थ्यो, अहिले हुँदैन भने। ‘मानिसहरू कर्णालीबाटै बसाइँ सरेर अरू ठाउँ गए, काठमाडौँ आए। अनि विभेद छैन भन्दै छन्। उनीहरू यो कुरा देखाउन चाहँदैनन् भन्ने फिल भयो।’
तर, उनकै अनुभवले भन्छ– गाउँमा अहिले पनि अछेताभित्रका दल जस्ता पात्रहरू छन्। जो आँसी, हथौडा, मूर्ति बनाइरहेका छन्, जसलाई आज पनि मान्छे जस्तो व्यवहार गरिँदैन। गाउँमा अहिले पनि मान्छेहरू सुत्केरी व्यथा लाग्दा स्वास्थ्य चौकी पुग्न नपाएर मर्नुपर्ने अवस्था छ, सक्नेहरू टाउको दुखे पनि जहाज चढेर लखनउ गइरहेका छन्।

अछेता नाटकको एक दृश्य।
गाउँ मात्र किन? काठमाडौँमा जातकै कारण कोठा नदिने घटना हिजो जस्तै आज पनि दोहोरिएकै छन्। “यही क्याफे खोल्ने बेलामा मान्छेहरूले थर सुनेर मसँग अलग व्यवहार गरे,” उनी सुनाउँछन्।
गोविन्दले अछेता नाटक लेख्नु र मञ्चन गर्नुको मुख्य उद्देश्य पनि यही विभेदविरुद्धको आवाज बोल्नु हो।
उनको विश्वास छ, अछेता र अछेता जस्ता नाटकहरूले विभेदकारी समाजका विरुद्ध सानै भए पनि बहस छेड्छन्।
गोविन्दसँग समाजले विभेदको भाषा बोल्यो, विभेदकै व्यवहार गरिह्यो। उनी भन्छन्, “त्यही विभेदलाई मैले कथा र नाटक बनाएँ, कलाको रूप दिएँ। मेरा लागि कला भनेकै विद्रोहको भाषा हो।”